www.tandavnews.com
Fact ~ In search of truth

सांसदको सरकारलाई प्रश्नः‘कोरोनाको संक्रमण फैलन नदिन के छ तयारी’ ?

काठमाडौं ।

चीनबाट फैलिएको कोरोना भाइरसले नेपालमा पनि संक्रमणको रूप लिन सक्ने भएकाले सम्पूर्ण तयारी गरी सचेत हुन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समय लिएर सांसद दिलेन्द्रप्रसाद बडूले चीनबाट फैलिएको कोरोना भाइरसको उपचारमा के तयारी छ, चीनमा कति विद्यार्थी छन्, उपचारको के व्यवस्था छ भनी जवाफ माग गरे ।

Batas

सांसद दिव्यमणि राजभण्डारीले कोरोना भाइरस फैलिएको चीनबाट नेपाल आउने यात्रुको क्वारेन्टाइन गर्ने व्यवस्था गरिएको छ वा छैन भनी त्यसको व्यवस्था गर्न माग गरे । सांसद प्रकाश स्नेही रसाइलीले कोरोना भाइरसका कारण चीनसँगको हवाईलगायत आवागमन बन्द गर्नुपर्नेमा जोड दिए ।

सांसद देवेन्द्रराज कँडेलले नेपाल भ्रमण वर्षको उद्घाटन भव्यरूपमा गरिए पनि चीनबाट फैलिएको कोरोना भाइरसले प्रभाव पर्ने देखिएकाले बेलैमा सचेत हुन ध्यानाकर्षण गराए ।

सांसद प्रदीप यादवले चीनमा रहेका नेपाली विद्यार्थीलाई कहिले फिर्ता गराउने, ल्याइएको विद्यार्थी राख्ने ठाउँ कहाँ छ भन्ने जिज्ञासा राख्दैँ संसद् भवन नै खाली गरिदिई पालमा संसद् चलाउने कि ?भनी प्रश्न गरे । सांसद बालकृष्ण खाँणले चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसले भायनक रूप लिएकाले नेपालमा संक्रमण नफैलियोस् भनी सरकारले ध्यान दिनुपर्ने माग गरे ।

सांसद डिला सङ्ग्रौलाले मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गराउन पहल भयो कि भएन भन्ने जिज्ञासा राख्दै चिकित्सा आयोगको उपाध्यक्षका विषयमा उठेका प्रश्न के हुन् स्पष्ट पार्न सरकारसँग माग गरे ।

सांसद दलबहादुर रानाले आर्थिक वर्षको छ महिना बितिसक्दा पनि विकास निर्माणका आयोजनाका काम शुरु हुन नसकी प्रक्रियामै अल्झिएकाले अर्थ मन्त्रालयलगायत सरोकार भएका निकायको ध्यान जानुपर्ने बताए ।

सांसद दिलकुमारीले सर्लाहीमा बालुवा उत्खनन गर्दा बालकको निधन भएको घटना सेलाउन नपाउँदै धनुषामा बालुवा–गिट्टी नियम विपरीत उत्खनन गरेको आवाज उठाउँदा एक व्यक्ति मारिएकाले अतिक्रमण नरोकिने संकेत देखिएकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद दुर्गा पौडेलले उखु किसानले कम मूल्यमा बिक्री गरे पनि पाउन नसकेकाले पूरा मूल्य पाउने व्यवस्था गर्न माग गरे । सांसद देवप्रसाद तिमल्सिनाले किसानले उखु बेच्न नपाउने बेचे पनि मूल्य नपाउने गरे पनि सरकार कानमा तेल हालेर बसेको बताए । सांसद नागेन्द्रकुमारले उखु किसानसँगको सम्झौता कार्यान्वयन छिटो हुनुपर्नेमा जोड दिए ।

सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिनुभए पनि एनसेल लाभकर, हायात होटल, बालुवाटार जग्गा प्रकरण लगायतमा भइरहेको छानबिनलगायत प्रगतिका बारेमा जानकारी पाऊँ भने ।

सांसद नारायणप्रसाद खतिवडाले ठेक्का भइसकेका सडकको काम नहुँदा नेपाल भ्रमण वर्षमा प्रभाव पर्ने भएकाले बेलैमा सचेत हुन सरकारको ध्यानाकर्षण गराए । राजधानीबाट नुवाकोटको पर्यटकीयस्थल ककनीलगायत स्थानमा जाने सडक जीर्ण रहेको उनको भनाइ थियो ।

सांसदद्वय निरुदेवी पाल र पार्वतीकुमारी विसुङ्खेले सुदूरपश्चिम र मध्यपश्चिमका महिलाले छाउगोठमा जीवन बिताउनु परेकामा पछिल्लो समय शुरु भएको गोठ भत्काउने अभियानले सहयोग मिलेको बताए ।

सांसद पवित्रा निरौलाले निर्माण सामग्री जुटाउने नाममा झापाको चुरे दोहन भइरहेकाले रोक्न माग गरे । वातावरणीय प्रभावको समेत वास्ता नगरी नदीमा हुने अवैध उत्खनन रोक्नुपर्नेमा उनले जोड दिए ।

सांसद पुष्पा भुसालले अछाम जिल्लाको एक स्थानीय तहका वडाध्यक्ष पदमबहादुर धामीको निर्ममतापूर्वक हत्या गरिएको, स्थानीयवासीले शव उठाउन नदिएकाले सुरक्षाकर्मी पठाई त्यसको वास्तविकता छानबिन गर्न माग गरे ।

सांसद पूर्णाकुमारी सुवेदीले संसद् र संसदीय समितिको वार्षिक वा मासिक क्यालेन्डर बनाउन सुझाव दिए । सांसद प्रेमप्रसाद तुलाचनले चीनसँग सीमा जोडिएको कोरला नाका जाने सडक समयमा पूरा नभएको, २०० किमी सडक वर्षौंदेखि अलपत्र रहेकाले तीनवटा ठूला ठूला भिरको काम हुन नसकेको बताए ।

सांसदद्वय प्रेम सुवाल र नवराज सिलवालले पनि शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.