www.tandavnews.com
Fact ~ In search of truth

कास्कीःएउटै वडामा दूधबाट महिनामा एक करोड कमाई

कास्की ।

माछापुच्छ्रे गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमूना बन्दै गएको छ ।

व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन् । गाउँपालिकाको वडा नं ३ घाचोक र वडा नं ४ लाहाचोकमा सबैभन्दा बढी दूध उत्पादन हुने गर्दछ । लाहाचोकबाटमात्रै दैनिक पाँच हजार लिटर दूध बिक्रीका लागि बजारमा आउने गरेको छ ।

Batas

लाहाचोकका कृषकले दूध बिक्रीबाट दैनिक तीन लाख ५० हजार तथा मासिक एक करोड पाँच लाख आम्दानी गर्दै आएको गाउँपालिका पशु सेवा शाखाका प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए ।

दूध बिक्रीबाट आयआर्जन हुन थालेपछि कृषकहरु क्रमशः व्यावसायिक पशुपालनमा आकर्षित हुने क्रम बढेको छ । विगतमा एक-दुई वटा पशुपालन गरेर घरायसी उपभोग गर्दै आएका कृषकले समेत व्यावसायिक पशुपालन शुरु गरेका छन् ।

‘गाउँपालिका दूधको ‘हब’ बन्दै गएको छ । विशेषगरी यहाँको लाहाचोक र घाचोकमा पशुपालन व्यवसाय राम्रोसँग फस्टाएसँगै दूध बेचेर कृषकले राम्रो आयआर्जन गरेका छन् । अन्य वडामा समेत उत्पादन बढिरहेको छ’ शाखा प्रमुख पौडेलले भने ।

उत्पादित दूध वडामा रहेका दुग्ध सहकारीले संकलन गरेर बजार पुर्याउँछन् भने कही फार्म तथा कृषकले आफ्नै साधनबाट बजार लैजाने गरेका छन् । सडक सुविधा, पशु आहाराका लागि घाँस तथा चरनक्षेत्र, नजिकको बजारलगायतका कारणबाट पशुपालनका लागि सहज वातावरण बनेको हो । जति पनि उत्पादित दूध सहजै नजिकको पोखरा बजारमा खपत हुने भएकाले समेत कृषक पशुपालनमा आकर्षित बनेको देखिन्छ ।

शुरुमा लाहाचोकका युवा इमानबहादुर गुरुङले देशकै ठूलो भैँसीफार्म शुरु गरेपछि अन्य स्थानीयवासीसमेत उनको सिको गर्दै पशुपालनमा आकर्षित भएको वडा नं ४ का वडाध्यक्ष पूर्णबहादुर शाहीले बताए । गुरुङको फार्ममा अहिले ३०० भैँसी छन् । विसं २०७३ मा उहाँ राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट समेत पुरस्कृत भएका थिए।

वडा नं ३ को घाचोकबाट समेत दैनिक तीन हजार ५०० लिटर दूध बजारमा बिक्री हुने गरेको बताइन्छ । यहाँ वडामा रहेका दुई दुग्ध उत्पादक सहकारीका माध्यमबाट कृषकले आफ्नो उत्पादन बजारसम्म पुर्याउँदै आएका छन् ।

गाउँपालिकाभरबाट समग्रमा दैनिक १० हजार ५०० लिटर दूध बजारसम्म जाने गरेको पशु सेवा शाखाको तथ्यांक छ । नौ वडा रहेको गाउँपालिकाको वडा नं ६ धितालबाट दैनिक एक हजार लिटर बिक्री हुने गरेको छ ।

त्यसैगरी रिभान, माछापुच्छ्रे र सार्दीखोलबाट दैनिक ३०० लिटरका दरले दूध बिक्री हुने गरेको तथ्यांक छ । त्यस्तै धम्पुस र ल्वाङघलेलबाट गरी दैनिक ५०० लिटर दूध बिक्री हुने गरेको बताइन्छ । समग्रमा दूध बिक्री गरेर गाउँपालिकामा कृषकले दैनिक सात लाख ३५ हजार तथा मासिक दुई करोड २० लाख हाराहारीमा आम्दानी गर्ने गरेको तथ्यांक छ ।

गाईको दूध प्रतिलिटर ५५ तथा भैँसीको ८५ मा बिक्री भए पनि औसतमा प्रतिलिटर ७० मूल्य पर्ने गरेको छ । दुग्ध उत्पादक कृषक गोपाल पोखरेलले पशु आहारामा बर्सेनि मूल्यवृद्धि हुँदासमेत दूधको मूल्य लामो समयदेखि नबढ्दा कृषक मर्कामा परेको बताए ।

‘दाना, घाँस तथा परालको बर्सेनि मूल्यवृद्धि हुँदासमेत कृषकले उत्पादन गरेको दूधको मूल्य लामो समयदेखि बढ्न सकेको छैन । यसबाट हामी पीडित छौँ’, उनले भने ।

‘पर्यटन, कृषि, ऊर्जा र पूर्वाधार : समृद्ध माछापुच्छ्रे मूल आधार’ को लक्ष्यसहित गाउँपालिकाले कृषि विकासलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष कर्ण गुरुङ बताउछन् । चालू आर्थिक वर्षमा कृषकको मनोबल उच्च राख्दै कृषिको व्यावसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि ६२ लाख ५० हजार बजेट विनियोजन गरी काम भइरहेको उनले जानकारी दिए ।

गाउँपालिकामा स्थानीय गाई, भैँसी, उन्नत भैँसी, गाई, बाख्रा, भेडा, चौँरी तथा घोडा गरी २५ हजार ३६७ सङ्ख्यामा पशु रहेको बताइन्छ ।रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.