www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङमा पुनः हिमपात : कृषक खुशी

मुस्ताङ ।

मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।

जोमसोम, मुक्तिनाथ, लेतेलगायत मुस्ताङका तल्लो क्षेत्रमा हिउँ परेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए । सडकमा हिउँ कम भएका कारण बेनी–जोमसोम, जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सुचारु रहेको उनले बताए ।

जोमसोमा आधा फिटसम्म र जोमसोममाथिको गाउँहरुमा एक फिटसम्म बाक्लो हिउँ जमेको छ । लोमानथाङ गाउँपालिका, लोघेकर दामोदरकुण्ड गाउँपालिका बिहीबार बेलुका केही मात्रामा मात्र हिउँ परेको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नं १ का अध्यक्ष टसीढिन्डु ठकुरीले जानकारी दिए ।

बिहीबाररातभर हिँउ परेपनि आज बिहान मौसम खुला भएको जोमसोमका बासिन्दा देउबहादुर विकले बताउनुभयो । गाई, भेडा, चौँरी, च्याङ्ग्रालगायत घरपालुवा जनावरलाई सुक्खा घाँसपात खुवाएर राखिएको छ । चरनका लागि हिउँ पग्लिएपछि छाडिने उहाँले जानकारी दिए ।
सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून छ ।

सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ । उपल्लो मुस्ताङका बासिन्दा कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेँसीका न्यानो स्थानमा झरेका थिए । वर्षा र हिमपातले कृषकमा खुशीयाली छाएको छ ।

यो वर्ष मुस्ताङमा चौथोपटक हिउँ परेको हो । वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने घरपझोङ्ग गाउँपालिका–५ ठिनीका कृषक पलडिसी थकालीले बताए ।

हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोटबिरुवा फस्टाउने, उत्पादन बढ्ने जनाइएको छ । स्याउको फूल फुल्नका लागि चिसोपनाको आवश्यकता पर्ने, चिलिङ्ग रिक्वायरमेन्टका लागि शून्य तापक्रमको आवश्यकता पर्ने हुँदा हिउँ पर्दा राम्रो हुने स्याउ जोनका कार्यालय प्रमुख माधव लम्सालले जानकारी दिए । हिउँ परेपछि स्याउ, जौँ, गहुँ, उवा, फापर बाली सप्रने जनाइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.