www.tandavnews.com
Fact ~ In search of truth

‘कोरोना भाइरस छैन, भ्रमण गर्नुहोस्’

चितवन ।

छिमेकी देश चीनमा नोबेल कोरोना भाइरस देखिएपछि चितवनको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आगमनमा निकै कमी आएको छ । विदेशी पर्यटकमध्ये आधाभन्दा बढी चीनका पर्यटक यहाँ आउने गर्दछन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले सौराहा पूर्णरुपमा सुरक्षित भएको सन्देश स्वदेश र विदेशमा पुर्याउन जरुरत देखिएको बताए । नेपाल नै कोरोना भाइरसबाट सुरक्षित भएको भन्दै उनले चीनको रोग देखिएका शहरबाट पर्यटक यहाँ नआएकाले यस क्षेत्र पूर्णरूपमा सुरक्षित रहेको जानकारी दिए । उनले भने, ‘चीनबाट पर्यटक नआउने र अन्यत्रबाट पनि पर्यटक आएनन् भने यहाँको व्यवसाय धरासायी हुन्छ ।’

Batas

चीनको भाइरस देखिएका क्षेत्रबाट पर्यटक नेपाल आएका छैनन् । सौराहा क्षेत्रमा पहिले आएका र नेपाल बसोबास गर्दै आएका चिनियाँबाहेकका पर्यटक छैनन् । गत वर्षमा यतिबेला दैनिक ७०० हाराहारी चिनियाँ पर्यटक आउने गर्दथे । यतिबेला चितवनमा फाट्टफुट्ट मात्र चिनियाँ पर्यटक रहेका छन् ।

स्वदेशी, भारतीय र युरोपियन गरी दैनिक २५० देखि ४०० पर्यटकले अहिले सौराहा धानेको उनको भनाइ छ । संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले समयमै हामी सुरक्षित छौँ भन्ने सन्देश स्वदेश र विदेशमा प्रवाह गर्न सकेमा चिनियाँ पर्यटक कम भए पनि अन्य पर्यटकले धान्न सक्ने बताए।

सौराहा आउने पर्यटकका लागि यो मौसम निकै राम्रो मानिन्छ । वनभित्र बाघ, गैँडाजस्ता जनावरसँगै चराचुरुंगी अवलोकनका लागि उपयुक्त समय भएको भन्दै घिमिरेले मौसमका हिसाबले पनि चितवन यतिबेला राम्रो रहेको बताउनुभयो । यहाँ गर्मी पनि छैन र जाडो पनि हट्दै गएको छ ।

चिनियाँ पर्यटकको बुकिङ रद्द भएका छन् । कोरोना भाइरसको त्रासले अन्य मुलुकका पर्यटकले पनि यहाँको अवस्थाका बारेमा बुझेर मात्र आउने गरेका छन् । कतिपयले भ्रमण रद्दसमेत गर्ने गरेका छन् ।

नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न सकेमा विदेशी पर्यटकको भ्रमण तालिका रद्द नहुने र सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । सौराहा आउने विदेशी पर्यटक अन्तर्राष्ट्रिय विमानस्थल र भरतपुर विमानस्थलको स्वास्थ्य कक्षमा परीक्षण गरेर मात्र पुग्ने भएकाले सुरक्षित भएकाहरु मात्र पुग्ने गरेका छन् ।

यससँगै सबै होटलमा उच्च सतर्कता अपनाइएको र कुनै कोरोना भाइरसको लक्ष्यण देखापरेमा तत्काल यहाँको सरकारी भरतपुर अस्पतालसँग समन्वय गरेर उपचार गर्ने व्यवस्थासमेत गरिएको छ । सौराहा क्षेत्रमा ६ हजार पर्यटक धान्न सक्ने ११५ होटल रहेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.