www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेसको अवरोधका कारण तेस्रो पटक संसद्मा स्थगित

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि स्थगन भएको छ । झण्डै पौने घण्टा ढिला गरी शुरु भएको बैठकको कारवाही प्रारम्भ हुनेबित्तिकै काँग्रेसका सांसदले उठेर विरोध जनाएपछि संसद्को कामकारवाही अगाडि बढ्न सकेन ।

ललिता निवास जग्गा प्रकरणमा काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोलगायत विषयमा काँग्रेसले आज तेस्रो पटक बैठक अवरुद्ध गरेको हो ।

Batas

यसअघि सोही विषयलाई लिएर यही माघ २३ र २४ गते सदन अवरुद्ध भएको थियो । सभामुख अग्निप्रसाद सापकाटाले सदनको कामकारवाहीलाई जीवन्त, चलायमान र प्रभावकारी बनाउन पटक पटक आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदले उभिएर विरोध जनाएका थिए ।

सभामुखले संवैधानिक व्यवस्थाबारे अवगत गराउँदै सो विषय अदालतमा गइसकेकाले संसद्बाट निरुपण नहुने स्पष्ट पारेका थिए । उनले सदनको ओझ, गरिमा र सर्वोच्चतालाई कायम राख्न प्रमुख प्रतिपक्षी दलको पुनःध्यानाकर्षण गराएका थिए।

काँग्रेस सांसदले उभिएर विरोध जनाइरहँदा काँगेस सांसद दिलेन्द्रप्रसाद बडूले ललिता निवास प्रकरणमा कसलाई भन्दा पनि कसरी मुद्दा अगाडि बढाइएको हो भन्दै आपत्ति जनाएका थिए ।

प्रतिपक्षी दलका सांसदले अवरोध कायम राख्दै गर्दा सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचेतक शान्ता चौधरीले भने नियमापत्ति गर्दै सदनको कारवाहीलाई अगाडि बढाउन माग गराएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही माघ २८ गते अपराह्न १ बजे बस्नेछ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.