www.tandavnews.com
Fact ~ In search of truth

पेट्रोल अन्वेषण : सर्वेको काम ८० प्रतिशत सम्पन्न

नरबहादुर रिजाल
दैलेख, रासस ।

पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । अहिले ‘कति परिमाणमा पेट्रोलियम पदार्थ छ र कुन स्थानमा बढी भण्डारणको सम्भावना छ’ भनेर जमिनभित्रको अवस्था पत्ता लगाउने महत्वपूर्ण भौगर्भिक (सेस्मिक) सर्भेको काम जारी रहेको छ । सर्भेको ८० प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ ।

तत्कालीन उद्योगमन्त्री मातृका यादवले दैलेखको नाभीस्थानबाट अन्वेषण कार्यको औपचारिक शुभारम्भ गर्नुभएको थियो । यहाँको पूर्वपश्चिम र उत्तरदक्षिणका विभिन्न भू–भागमा करीब २०० किलोमिटर क्षेत्र समेटेर १० स्थानमा शुरु गरिएको सर्भेका सात स्थानको काम सम्पन्न भइसकेको छ । करीब ४५ फिट मुनिसम्म खनिएको होलमा विस्फोटक पदार्थ राखेर कृत्रिम भूकम्पीय तरङ्ग उत्पन्न गरिएको र सोबाट प्राप्त भएको सबै सूचना सङ्कलन गर्ने कार्य सेस्मिक मिटरमा भइसकेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले जानकारी दिए ।

Batas

सर्भे सकिएपछि यसको अध्ययनका लागि तीन महिनाको समय लाग्ने छ । सो अवधिपछि धेरै सम्भावना भएको मुख्य भण्डारणको क्षेत्रमा पुनः करीब चार किलोमिटर जमिनमुनिको भू–भागमा मुख्य ड्रिलिङ गरिने र त्यसपछि कति परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने कुरा पत्ता लाग्ने उनले जानकारी दिए ।

एउटा लाइनमा ४०० वर्गकिमी भूभाग समेटेर सर्भेको काम भइरहेको छ । दैलेखको पश्चिम भूभागमा गरिएको सेस्मिक सर्भेका लागि दुल्लु नगरपालिकामा क्याप निर्माण गरेर विज्ञहरुको समूह बसेका छन् । यस कार्यलाई यहाँका जनता र जनप्रतिनिधिले स्वागत गरेको छन् । सांसद रवीन्द्रराज शर्माले अन्वषेण कार्यले समृद्ध नेपाल बनाउने प्रधानमन्त्रीको लक्ष्यलाई सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

अन्वेषणको प्रक्रिया शुरु हुँदै गर्दा चिनियाँ प्राविधिक टोलीले सङ्कलन गरेका स्रोत र चट्टानको नमूना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएकाले दैलेखको भूभागमा ग्याँस र पेट्रोलियम पदार्थ दुवै हुनसक्ने सम्भावना बढ्दै गएको छ । अन्वेषणकार्य सफल भए वर्तमान सरकारले शुरु गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को परिकल्पना पूरा हुने आशा गरिएको छ ।

विदेशका अन्य भूभागमा गरिएका सर्भेलाई आधार मान्ने हो भने छिद्र देखिएका स्थान र ग्याँस निस्किएका स्थानकै आसपासमा भण्डारण भेटिएकाले दैलेखको भूभागमा पनि भण्डारणको सम्भावना भएको अन्वेषण अधिकृत डा त्रिपाठीले बताए । दैलेखका धेरै स्थानमा जमिनमुनिबाट छिद्रका रुपमा हजारौँ स्थानमा पानीभित्र फोकाहरु भुलभुल गरेर आएको देखिन्छ । कतिपय स्थानमा ग्याँस नै बलेको अवस्थामा देखिएको छ । यसको विश्लेषण गर्ने हो भने पनि दैलेखको कुनै भूभागमा भण्डारण हुनसक्ने विज्ञहरुको भनाइ छ ।
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.