www.tandavnews.com
Fact ~ In search of truth

आइसीसीःघरेलु मैदानमा सुखद अन्त्यको खोजीमा नेपाल

काठमाडौं ।

आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज आज सकिँदैछ ।

सिरिजको अन्तिम खेलमा नेपाल र अमेरिका भिड्दैछन् । नेपाल घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा छ । जुनसकै खेलमा पनि दर्शकको स्थान महत्वपूर्ण हुन्छ । नेपालका क्रिकेट प्रशंसक विश्वमै परिचित छन् । अन्य देशका क्रिकेट खेलाडी यहाँका दर्शकबाट निकै प्रभावित हुँदै आएका छन् ।

Batas

उनीहरुले यहाँका दर्शकलाई जितमा मुख्य बाधकका रूपमा लिने गर्छन् । घरेलु मैदानमा लिग दुईको प्रारम्भ गरेको नेपाली क्रिकेट टोलीले आफ्ना दर्शकलाई निराश पारेको छ । अमेरिकासितको खेलमा नेपाली क्रिकेट खेलाडीको ध्यान उक्त कुरामा केन्द्रित हुनेछ । त्यसैले अमेरिकासितको आजको खेलमा विजयी हुँदै नेपाली क्रिकेट टोली घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा छ ।

त्रिकोणात्मक सिरिजमा नेपाल ओमानसित निरीह बने पनि अमेरिकासितको खेलमा भने आफूलाई अब्बल सावित गर्न लालायित छ । नेपाल अमेरिकामाथि हावी छ । यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।

नेपालको ओपनिङ खासै जम्न सकेको छैन । ओमानसितको पहिलो खेलमा कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले ओपनिङ गरेका थिए । दुवै जनाबीच मात्र चार रनको साझेदारी भयो । यसले नेपालको ओपनिङको व्यापक आलोचना भएको थियो ।

ओमानसितको खेलमा शरद भेषवाकर घाइते बनेपछि सुवास खकुरेलले ओपनिङ गर्दै आएका छन् । उनलाई कप्तान ज्ञानेन्द्रले साथ दिइरहेका छन् । सुवासले पनि आशा गरेअनुरुपको ओपनिङ गर्न सकेका छैनन् । उनले अमेरिकासितको पहिलो खेलमा तीन रन बनाएका थिए ।

ओमानसितको दोस्रो खेलमा भने ब्याटिङमा सुधार गर्दै उनले २२ रन बनाए । सुवासको तुलनामा ज्ञानेन्द्रको ब्याटिङबाट नेपालले आस गर्ने ठाउँ छ । उनले अमेरिकासितको पहिलो खेलमा २१ रन बनाएका थिए भने ओमानसितको दोस्रो खेलमा ५६ रनको अर्धशतकीय पारी खेले ।

अमेरिकासितको अन्तिम खेलमा नेपालको ध्यान सुदृढ ओपनिङमा हुनेछ । ब्याटिङमा नेपाल अघिल्ला खेलहरुमा जस्तै ज्ञानेन्द्र, पारस खड्का दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विनोद भण्डारी र आरिफ शेखमाथि निर्भर रहनेछ ।

नेपालका तर्फबाट शरद, ज्ञानेन्द्र, कुशल गौतम र विनोदले अर्धशतकीय पारी खेलेका छन् । यीमध्ये शरद चोटका कारण अहिले विश्राम गरिरहेका छन् । त्यसैले आजको खेलमा बाँकी तीनै जनामाथि नेपाल निर्भर रहनेछ । यसबाहेक ब्याटिङमा नेपालको ध्यान पारस, आरिफ र उपकप्तान दीपेन्द्रमाथि हुनेछ ।

दीपेन्द्र ओमानसितको पहिलो खेलमा मात्र चल्न सके । बाँकी दुई खेलमा उनी बिनारन पभेलियन फर्केका थिए । पारसले अमेरिकासितको पहिलो खेलमा १९ तथा ओमानसितको दोस्रो खेलमा ३८ रन बनाए । आरिफले ओमानसितको दोस्रो खेलमा मात्र २८ रन बनाउन सकेका थिए ।

अन्य खेलमा उनको ब्याटिङ राम्रो रहेन । नेपाली टोलीको ब्याटिङभन्दा पनि बलिङ नै राम्रो देखिन्छ । ओमानसितको दोस्रो खेलमा बलरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपाल उक्त खेलमा आठ विकेटले पराजित हुन पुग्यो ।

नेपालका लागि सन्दीप लामिछाने, करन केसी र सुशन भारी नै जितका मुख्य आधार हुन् । करनले हालसम्म तीन खेलमा आठ विकेट लिएका छन् । यस्तै सुशन भारीले सात विकेट तथा सन्दीपले दुई विकेट मात्र लिएका छन् । कुशल मल्ल पनि किफायती बलरका रूपमा देखिएका छन् । उनको ब्याटिङसँगै बलिङ पनि राम्रो छ ।

जारी सिरजिमा तीनवटै खेल हारिसकेको अमेरिका ब्याटिङका लागि इयान होल्याण्ड, अक्षय होमराज, मोनांक पटेल, जेभियर मार्शल र आरोन जोन्समाथि निर्भर रहनेछ । अमेरिकाको ओपनिङ अहिलेसम्म खासै जम्न सकेको छैन । ओमानसितको पहिलो खेलमा प्रारम्भिक ब्याटस्म्यान मार्शल र आरोनले २५ रनको साझेदारी निभाएका थिए ।

सो खेलमा मार्शलले १३ रन तथा आरोनले १२ रन बनाए । नेपालसितको पहिलो खेलमा पनि उनीहरु सफल हुन सकेका थिएनन् । उक्त खेलमा मार्शलले मात्र दुई रन बनाएका थिए । आरोनले पाँच रन हानेका थिए । मार्शलले ओमानसितको दोस्रो खेलमा २३ रन बनाए भने आरोनले अविजित ४७ रनको योगदान दिए ।

अमेरिकाका लागि सबैभन्दा भरपर्दा ब्याटस्म्यान अहिलेसम्म इयान होल्याण्ड देखिएका छन् । उनले ओमानसितको पहिलो खेलमा ६५ रन, नेपालसितको पहिलो खेलमा ७५ रन तथा ओमानसितको दोस्रो खेलमा २८ रन बनाएका थिए ।

यस्तै निसर्ग पटेलले ओमानसितको दोस्रो खेलमा ५२ रन बनाए । यसबाहेक अक्षय होमराजले ओमानसितको पहिलो खेलमा ४४ रन बनाउनुबाहेक अन्य ब्याटस्म्यानले उल्लेख्य रन बनाउन सकेका छैनन् ।

यस्तै बलिङतर्फ अमेरिका कप्तान सौरभ नेत्रावाल्कर, केमरुन स्टभेन्सन, स्टेभन टेलर, रुस्टी थेरेन, इयान होल्याण्ड र एलमोर हुचिन्सनमाथि भर पर्नेछ । हालसम्म खेलेका तीन खेलमा सौरभले छ विकेट लिएका छन् । थेरनले चार तथा केमरुनले तीन विकेट लिएका छन् ।

अन्यले एक–एक विकेट मात्र लिएका छन् । केमरुनले नेपालसितको खेलमा तीन विकेट लिएका थिए भने सौरभले दुई विकेट लिएका थिए । सौरभ र थेरनले ओमानसितको दोस्रो खेलमा तीन–तीन विकेट लिएका छन् ।

समग्रमा नेपाल र अमेरिकाले अन्तिम खेलमा जित हासिल गर्नका लागि ब्याटिङ, बलिङ र फिल्डिङमा नै ध्यान दिनुपर्नेछ । अमेरिकाले ओमानसितको दुवै खेल हारेपछि लिग दुईको शीर्षस्थान गुमाइसकेको छ ।

अमेरिका हालसम्म खेलेका ११ खेलमध्ये छ मा जित तथा पाँचमा हारसहित १२ अंकका साथ लिगको दोस्रो स्थानमा छ । नेपालले हालसम्म खेलेको तीन खेलमध्ये दुईमा हार तथा एकमा जित निकालेको छ । नेपालले दुई अंक बटुलेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.