www.tandavnews.com
Fact ~ In search of truth

खहरेखोला मोटरेवल पुलको निर्माणमा ढिलाई

लता जोशी /विद्यार्थी पत्रकार,

ताण्डव न्यूज/पोखरा ।

पोखरा महानगरपालिका वडा नं २३ र २४ जोड्ने गरी खहरे खोलामा निर्माणाधिन मोटरेवल पुलको निर्माण कार्य सुस्ताएको छ ।

आगामी (२०७७) जेठमा सम्पन्न गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने जिम्मा पाएको निलगिरी नेशनल जेभीले कामलाई तिव्रता दिन नसक्दा निर्माण कार्य सुस्ताएको हो ।

गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले स्थलगत अनुगनम गर्ने क्रममा बोल्दै उक्त पुल निर्माणका लागि प्रदेश सरकारले ६ करोड ५० लाख विनियोजन गरेको बताए । उनले १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएपनि सोही अनुरुप काम गर्न नसक्दा ढिलाई भएको बताए । ‘केही महिना काम रोकिएको थियो, उनले भने, ‘म र डिई सर काठमाण्डौ गएर खोजेर ल्याएका हौं ।’

उनले पोखरा महानगरपालिका वडा २३ र २४ को बासिन्दालाई वर्षाको समयमा समस्या हुने भन्दै निर्धारित समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई जोड दिए ।

पहारीले गत २०७६ बैशाख २३ गते सोमबारका दिन प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त पुलको शिलान्यास गरेको स्मरण गर्दै निर्माण कम्पनीले निर्धारित समयमा सक्नुपर्ने बताए । ‘आगामी जेठमा सबै काम सक्नैपर्छ ।’ उनले भने ।

त्यस्तै गण्डकी प्रदेशका डिभिजन ईन्जिनियर शोभियत खड्काले सम्झौताको मिति नजिकिदा ३० प्रतिशत निर्माण कार्य मात्रै सम्पन्न भएको भन्दै असन्टुष्ट रहेको बताए । ‘अहिलेसम्म धेरै काम सक्नुपथ्र्याे तर यो स्पिडले जेठसम्म सक्ने स्थिती देखेको छैन ।’ उनले भने, ‘मैले जेठसम्म सकिएन भने कारवाही पनि गर्छु भनेको छु ।’

ई. खड्काले पछिल्लो समय ठेकेदारले रकम माग्दा लिखित रुपमा तोकिएकै मितिमा सक्ने प्रतिबद्धा गरेपश्चात मात्र रकम निकासा गरेको बताए । ‘निर्माण पक्षले वर्षा अगाडी गाडी गुड्छ भनेको छ, भएन भने उ फस्छ, उनले भने, ‘हामी यतिकै छोड्नेवाला छैनौ ।’

यता निर्माणकोे जिम्मा पाएको निलगिरी नेशनल जेभीका बसन्त लामाले पछिल्लो समय काम धमाधम भैरहेको बताए । ‘वर्षाको बेलामा काम भएन । अनि म्याटरियलले पनि अलि प्रोबलम पार्याे अलि अस्ति बिचमा, उनले भने, ‘क्रसरबाट गिट्टि बालुवा नै पाईएन ।’

उनले सबैभन्दा बढि समय लाग्ने तल (जग) को काम सकिएको बताउँदै माथिको काम छिट्टै सकिने बताए । उक्त पुल करिब ९० मिटर लम्बाई र ७ मिटर २० सेन्टिमिटर चौडाईको निर्माण हुने निर्माण पक्षले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.