www.tandavnews.com
Fact ~ In search of truth

राप्ती र नारायणीमा तीन गोही मृत भेटिए , सात जालमा

चितवन ।

राप्ती र नारायणी नदीमा गतवर्ष छाडिएका तीन गोही मरेको अवस्थामा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार नारायणीको गोलाघाट क्षेत्रमा दुईवटा र राप्तीको बाराही होटल नजिकै एउटा गोही मृत अवस्थामा भेटिएको हो । ती गोही मर्नुका कारण पत्ता लगाउन पोष्टमार्टम गर्न अंग पठाइएको छ । उनले भने ‘मर्नुको कारण यहाँ पत्ता नलागे विदेशी विज्ञहरुसँगसमेत परामर्श गर्ने तयारीमा छौँ ।’ ती तीनै वटा गोही गत साल नदीमा छाडिएका हुन् ।

Batas

यसअघि यसै वर्ष दुईवटा गोही मरेको अवस्थामा भेटिएको थियो । संरक्षण अधिकृत खड्काका अनुसार भदौमा राप्तीको ढुङ्ग्रे खोलामा पुछर र सेटेलाइट मात्रै फेला परेको थियो । त्यस्तै असोजमा निलडामसहित अमलटारी क्षेत्रमा नारायणी नदीमा एउटा गोही फेला परेको थियो । यी दुवै गोही सेटेलाइट जडान गरी छाडिएका हुन् । मानिसले गोही मारेर खाएको आशंका समेत गरिएको जनाइएको छ ।

राप्तीमा चारवटा र नारायणीमा तीन गोही जालमा बेरिएको अवस्थामा भेटिएका छन् । ती गोहीलाई नियन्त्रणमा लिएर जाल हटाउने काम आजबाट थालिने निकुञ्जले जनाएको छ । मुखमा बेरिएको अवस्थामा गोही फेला परेका हुन् । अनुगमनका क्रममा नारायणीमा चार वटा र राप्तीमा एउटा भाले गोही फेला परेका छन् ।

ती दुई नदीमा भाले गोही नभए पछि बबहीबाट एउटा भाले गोही ल्याइएको थियो । अनुगमनका क्रममा बबहीबाट ल्याइएको समेत तीन ठूला र दुई साना भाले गोही देखिएको उनले जानकारी दिए । यससँगै नदीमा भाले गोहीको अभाव हटेको छ ।

निकुञ्जले दुई नदी र भंगलालाई १३ भागमा विभाजन गरेर बाह्र वटा टोलीले डुङ्गामार्फत र एउटाले पैदल अनुगमन गरेको थियो । तीन दिनसम्म गरिएको अनुगमन शनिबार साँझ सकिएको हो ।

अनुगमनमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञसहित ६५ जना सहभागी थिए । निकुञ्ज बाहिरको नारायणी नदीको देवघाटदेखि सिख्रौलीघाटसम्म केही दिनमा नै अनुगमन गरिने निकुञ्जले जनाएको छ । नारायणीको भेलौजीमा एउटा डल्फीनसमेत भेटिएको थियो ।

विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन् केन्द्रमा हुर्काएर विभिन्न नदीमा हालसम्म एक हजार ४६५ वटा गोही छाडिसकिएको छ । ती मध्ये राप्तीमा मात्र ७८५ गोही छाडिएको छ ।

निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ । पछिल्ला वर्षहरुमा राप्ती र नारायणीमा मात्रै गोही छाडिने गरिएको छ ।

यस वर्ष यसै महिनाबाट प्रजनन् केन्द्रमा हुर्काएका गोही नदीमा छाड्ने तयारी गरिएको छ । नदीहरुमा गोही छोड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् ।

सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । नदी प्रदूषण बन्दै जाँदा सकंटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष यी दुई नदी किनारबाट गोहीको अण्डा संकलन गरी प्रजनन् केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.