www.tandavnews.com
Fact ~ In search of truth

सवारी दुर्घटना : कास्कीमा तीन महिनामा १३ को मृत्यु (घटना र कारणसहित)

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।

पोखराका मुख्य चोकहरुमा निलो ड्रेसमा ठाँटिएका ट्राफिक प्रहरीहरुलाई भ्याईनभ्याई हुन्छ । सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि । विशेषतः सवारी दुर्घटना न्यूनीकरणका लागि उनीहरुको उपस्थिति देख्न पाईन्छ हरेक दिन हरेक मुख्य चोकमा ।

ड्यूटीमा खटिएका सानो सँख्याको ट्राफिक प्रहरीले यात्रामा निस्केका हजारौ सँख्याका जनतालाई व्यवस्थित तरिकाले गन्तव्य पुर्याउने वातावरण दिन खटिरहेका छन् । कास्की ट्राफिक प्रहरी चेकजाँजमा समेत कडाईका साथ खटिरहेको छ । मंसिर १ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा नयाँ कमाण्ड सम्हाल्न प्रहरी निरिक्षक (ईन्सपेक्टर) सन्तोष रोका आईपुगेपछि ट्राफिक नियमको दुरुस्तता बढाउनेमा कटिबद्ध छन् ।

Batas

प्रहरी निरिक्षक रोकाले ताण्डव न्यूजसँग बोल्दै सवारी दुर्घटना न्यूनीकरणका लागि केही महिनाको कडा अभ्यास पश्चात मात्र रिजल्ट आउने बताए । उनले पछिल्लो दुई महिनाको कार्यले गर्दा तुलनात्मक रुपमा माघमा दुर्घनामा केही न्यूनीकरण हुन आएको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तथ्याङ्क अनुसार मंसिरमा सवारी दुर्घटना परी मृत्यु हुनेको सँख्या ४ रहेको छ । त्यस्तै पुषमा ८ जना र माघमा १ जनाको ज्यान गएको छ ।

मंसिर, पुष र माघमा कहाँ– कहाँ भए दुर्घटना ?  (कारण सहित)

मंसिर

दुर्घटना नं.१

मंसिर २ गते करिब बिहान ९ बजे पोखरा महानगरपालिका वडा नं ३२ गढिघाटमा ग १ त २८२८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा पोखरा महानगरपालिका ३२ छप्ल्याङका ५ बर्षिय आकाश नेपालीको मुत्युभएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार उक्त दुर्घटना चालकको लापरबाहीको कारण भएको थियो ।

दुर्घटना नं.२

मंसिर ४ गते करिब अपह्रान्ह ४ बजे माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकमा ग १ त ३४७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा पर्सा घर भई सोही स्थानमा बस्ने ४७ बर्षिय चालक नरेन्द्र सिँह बस्नेतको मुत्यु भएको थियो । उक्त दुर्घटना यान्त्रिक गढबढीका कारण हुन पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटना नं.३

मंसिर ७ गते करिब बेलुकी सवा ६ बजे पोखरा महानगरपालिका वडा नं २९ आदर्शचोकमा ग १३ प ९०९५ नम्बरको मोटरसाईकलले ठक्कर दिदा पैदल यात्री भण्डारढिक बस्ने ७३ बर्षिय तिल कुमालको ज्यान गएको थियो । मोटरसाईकलले तिब्र गतिका कारण ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटना नं.४

मंसिर २२ गते करिब बिहान सवा १० बजे पोखरा महानगरपालिका वडा नं १० नागढुंगामा (बसपार्क पछाडी) ग १ ख ८३२८ नम्बरको यात्रुबहाक बसले ठक्कर दिदा आँधीखोला गाउँपालिका स्याङ्जाका पैदल यात्री ५५ बर्षिय राजु सार्कीको ज्यान गएको थियो । उक्त बसले तिब्र गतिका कारण सार्कीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तथ्याङ्कमा उल्लेख छ ।

पुष

दुर्घटना नं.५

पुष ५ गते बिहान ४ः २० बजे पोखरा महानगरपालिका वडा नं ६ आम्बोट जरेवरमा ग १ च ९६९९ नम्बरको निजी कार अनियन्त्रित भई पोलमा ठोक्दिा पोखरा ११ फुलबारीका कारमा सवार २२ बर्षिय रेक्स आलेको मृत्यु थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार चालकले मापसे गरी कार हाकेका कारण उक्त दुर्घटना भएको थियो ।

दुर्घटना नं.६

पुष ७ गते पौने २ बजे पोखरा महानगरपालिका वडा नं ३० शिशुवामा ना ४५ प ९६९४ नम्बरको मोटरसाईकलले ठक्कर दिदा सोही स्थानकै पैदलयात्री ८१ बर्षिय भानुभक्त तिवारीकोे मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार उक्त दुर्घटना चालकको लापरबाहीका कारण भएको थियो ।

दुर्घटना नं.७

पुष ८ गते बिहान १० बजे पोखरा महानगरपालिका वडा नं १७ विरौटामा ग १ क २४९९ नम्बरको स्कुल बसले ठक्कर दिदा कुश्मा नगरपालिका १३ का पैदलयात्री २६ बर्षिया सरिता पौडेलको ज्यान गएको थियो । मृतक पौडेलकै लापरबाहीका कारण सो दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तथ्याङ्कमा उल्लेख छ ।

दुर्घटना नं.८

पुष १६ गते पौने २ बजे पोखरा महानगरपालिका वडा नं १४ चाउँथेमा ग २ च २७२६ नम्बरको जीप, ग १६ प ९५३७ नम्बरको मोटरसाईकल र ग १ ख ९४०५ नम्बरको यात्रुवहाक बस एक आपसमा ठक्कर खादा २६ बर्षिय जीप चालक सरोज लामा र तनहुँका मोटरसाईकल चालक १९ बर्षिय रोशन गुरुङको ज्यान गएको थियो । सवारी तिब्र गतिका कारण उक्त दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटना नं.९

पुष २५ गते साढे २ बजे पोखरा महानगरपालिका वडा नं २६ पट्नेरीमा ग २ च २७१८ नम्बरको बलेरो जीपले पैदलयात्रीलाई ठक्कर दिदा पोखरा ६ का ३ बर्षिय पैदलयात्री प्रिन्स बिकको मृत्यु भएको थियो । जीप चालकको लापरबाहीका कारण उक्त दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटना नं.१०

पुष २६ गते मध्यान्ह १२ बजे पोखरा महानगरपालिका वडा नं १३ अर्वा थापाको चौतारामा ग २ च ९८५ नम्बरको जीप अनियन्त्रित भैई दुर्घटना हुदा जीप सवार स्याङ्जा शिरुबारीका १७ बर्षिय मन बहादुर बिकको ज्यान गएको थियो । सवारी तिब्र गतिको कारण उक्त दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तथ्याङ्कमा उल्लेख छ ।

दुर्घटना नं.११

पुष २६ गते सवा ३ बजे पोखरा महानगरपालिका वडा नं १० रामघाटमा ग १ ख ३३८४ नम्बरको ट्रक अनियन्त्रित भैई दुर्घटना हुदा ट्रकमा सवार सोही स्थानकै १७ बर्षिय गणेश लोको मृत्यु भएको थियो । चालकको लापरबाहीको कारण उक्त दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

माघ

दुर्घटना नं.१२

माघ १७ गत साढे ८ बजे पोखरा महानगरपालिका वडा नं ३० नौबिसेमा ग ६ प ८०६३ नम्बरको मोटरसाईकलले साईकललाई ठक्कर दिदा साईकल चालिका पोखरा ३० फेदी बस्ने ३५ बर्षिया सृजना थापाको ज्यान गएको थियो । सवारी तिब्र गतिको कारण उक्त दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक सन्तोष रोकाले जानकारी दिए ।

मापसे र तिब्र गतिका कारण मानवीय क्षति

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक (ईन्सपेक्टर) सन्तोष रोकाले मापसे र तिब्र गतिले मानवीय क्षती निम्त्याएको बताए । उनले आफु कास्कीमा हाजिर भैसकेपछि १३ जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाएको जानकारी दिदै भने, ‘प्रायजसो दृर्घटनाहरु चालकको लापरवाही, तिब्र गति र मापसेकै कारण छ । त्यसैले हाईवेमा पनि बढि चेकजाँज बढाएका छौ ।’

उनले तुलनात्मक सडक दुर्घटनमामा न्यूनिकरण भएको बताउदै माघमा १ जनाले मात्रै ज्यान गुमाएको बताए । ‘रिजल्ट आउन केही समय त लाग्छ, उनले भने, ‘दुई महिनाको काम पश्चात यो महिनामा घटेको छ ।’ प्रहरी निरिक्षक रोकाले मापसे गरी सवारी हाक्न नहुने बताउदै सचेतनाको लागि कारवाहीसँगै अनिवार्य कक्षाको आवश्यकता रहेको बताए । उनले हरेक हप्ताको सोमबार र बिहिबार कक्षा सञ्चालन हुने बताउदै पछिल्लो अनिवार्य कक्षा लिनैपर्ने बताए । ‘मापसे गर्नेलाई कारवाही मात्रै होईन, उनले भने, ‘अनिवार्य रुपमा कक्षा लिनैपर्छ, नत्र कागजपत्र नै दिदैनौं ।’

मापसे चालकलाई मुद्धा

मादक पदार्थ सेवन (मापसे) गरी सवारी हाक्ने चालकलाई जरीवाना मात्रै होईन कास्की प्रहरीले सामाजिक हित विपरितको कसुर अन्तर्गत (सार्वजनिक) मुद्धा नै दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालमा पछिल्लो समय १० सवारी चालकलाई मुद्धा दर्ता गरि कारवाहीको प्रक्रिाया थालिएको कास्की प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक राजकुमार केसीले ताण्डव न्यूजलाई बताए ।

उनले नियन्त्रणमा लिईएको चालक मध्ये १० जनालाई मुद्धा चलाईएको जानकारी दिए । ‘सार्वजनिक सवारी चलाउने, र हिट एण्ड रन जस्ता अव्यवहारिक काम गर्ने यी सबैलाई सार्वजनिक मुद्धा चल्छ ।’ डिएसपी राजकुमार केसीले भने । उनले सार्वजनिक सवारी हाक्ने चालकसँग दर्जनौको जिउधनको जिम्मेवारी रहने भएकाले निजी भन्दा बढि निगरानी सर्वाजनिक सवारी चालकलाई बढाईएको बताए । ‘निजीमा एक्लो ज्यानको कुरा हुन्छ, उनले भने ‘तर सार्वजनिक सवारीमा त आम सर्वसाधारणको कुरा नै आउँछ त्यसैले अलि बढि सार्वजनिक सवारी चालकलाई निगरानीमा राखेका हौ त्यसो त अरुलाई चेकिङ नै हुदैन भन्ने होईन ।’

डिएसपी केसीले मापसे गरी सवारी हाक्नै नहुने भन्दै जनचेतनाको कमी रहेको बताए । उनले लापरबाही र मापसे गरी सवारी हाक्ने प्रवृतीलाई रोक्न समुदाय प्रहरी साझेदारीका कार्यक्रम मार्फत सचेतना जगाउने कार्य गर्दै आएको समेत बताएका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.