www.tandavnews.com
Fact ~ In search of truth

लमजुङ दरबारमा प्रहरी पोष्ट

लमजुङ ।

बेँसीसहर नगरपालिका र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा बेँसीशहर नगरपालिका–३ गाउँशहरस्थित लमजुङ दरबार परिसरमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।

बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले आइतबार पोष्टको शुभारम्भ गर्दै सुरक्षा निकायले इमान्दार, कर्तव्यनिष्ठ र जिम्मेवारीपूर्वक काम गर्दै नागरिक तथा स्थानीयको मन जित्नुपर्ने बताए ।

Batas

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले भने, ‘गाउँशहर ऐतिहासिक लमजुङ दरबार रहेको, धार्मिक महत्व बोकेको ठाउँ र यहाँ काउलेपानी घरवाससमेत सञ्चालन भएकाले विभिन्न घटना हुनसक्ने भएकाले सुरक्षा आवश्यक रहेकाले अस्थायी पोष्ट स्थापना गरिएको छ ।’

वडाध्यक्ष सूर्यकुमार श्रेष्ठले भने, ‘यहाँका स्थानीय असुरक्षित तरिकाले बसेका थियौँ, तर अब अस्थायी प्रहरी पोष्ट भएसँगै केही सुरक्षाको अनुभूति भएको छ ।’ अस्थायी प्रहरीचौकी स्थापनासँगै यहाँका स्थानीय हर्षित भएका छन् । जिल्लामा यस अस्थायी प्रहरी चौकीसहित तीन वटा अस्थायी प्रहरी चौकी रहेको छ ।

यस गाउँशहरमा सोह्रौँ शताब्दीमा निर्माण गरिएको लमजुङ दरबार नेपालकै पुरानो दरबार रहेको छ । यो दरबार समुद्री सतहदेखि एक हजार ४४५ मिटर उचाइमा रहेको छ । शाह वंशीय राज्यकालको उद्गमथले लमजुङ र त्यसैको विरासत लमजुङ दरबार रहेको छ । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई लमजुङका खजेदुरालगायतले यहाँ ल्याएर राजा बनाएको इतिहास रहेको छ ।

त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घलेराजाका सेनाले कालु शाहको हत्या गरिदिएको ऐतिहासिक कथन छ । सो घटनापछि उनीहरुले नै कुलमण्डलका कान्छा छोरा जशमु शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढायो । राजालाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगादी गराएको ऐतिहासिक शिलालेखमा उल्लेख छ ।

त्यसपछि विभिन्न नामका राजाले यो दरबारबाटै लमजुङको बागडोर सम्हालेको थियो । धेरैपछि यशोबह्मा शाह राजा भयो । उनको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह राजा भए । उनीपछि विभिन्न शाह राजा भई लमजुङको अन्तिम राजा वीर शाह रहेको थियो ।

विसं १८३८ सम्म शाह वंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेको स्थानीय बताउँछन् । त्यस्तै यस दरबार नजिकै काउलेपानी घरवास सञ्चालनमा रहेको छ । पर्यटकका लागि समेत सुरक्षामा टेवा पुग्ने देखिन्छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.