www.tandavnews.com
Fact ~ In search of truth

जाने होईन त एबीसी क्याम्प ? खुल्यो अबरुद्ध पदमार्ग

सरिता जिसी /विद्यार्थी पत्रकार,

ताण्डव न्यूज/पोखरा ।

अन्नपूर्ण आधार शिविर जान निस्केका पदयात्रीहरु निर्धक्क जान सक्ने पर्यटन व्यवसायीहरुले बताएका छन् । गत महिना हिमपातका कारण अवरुद्ध रहेको एबीसी पदमार्ग यही हप्ता खुलेको ताण्डव न्यूजसँग कुरा गर्दै व्यवसायीहरुले बताएका हुन् ।

देउराली माथि रहेको बाक्लो हिउँ कमि भएको भन्दै निर्धक्क एबीसी पुग्न सक्ने अन्नपूर्ण सेन्चुरी लजका सञ्चालक जेबी गुरुङले बताए । ‘अहिले त्यस्तो कुनै खतरा छैन, उनले भने गएको २७ गते पहिला हामीले लज खोलेका हौं । अहिले अरुले पनि खोलिसके ।’

त्यस्तै पर्यटन व्यवस्थापन समिति छोम्राङका अध्यक्ष बुद्धि गुरुङले फागुन लागेपछि आन्तरिक तथा बाह्य पर्यटकहरु बेस क्याम्प पुगेको बताए । उनले सुरुमा होटल खोल्न कूकको टोली क्याम्प पुगेको बताउँदै बिस्तारै पर्यटकको संख्यामा बृद्धि भएको जानकारी दिए ।

अन्नपूर्ण डेस्टिनेशन अपर सेती दोभानका सञ्चालक सुक गुरुङले तुलनात्मक रुपमा देउराली भन्दा माथि रहेको अप्ठेरो बाटोमा हिउँ कम भैसकेकोले भय रहित यात्रामा निस्किन आग्रह गरे । उनले एबीसी ट्रेकमा निस्कदा स्थानीय होटल व्यवसायी तथा पर्यटन व्यवसायीहरुसँग सहकार्य गरेर जादा सुरक्षित हुने बताए । ‘माथी जादा त्यहाँका होटल चलाउनेहरुसँग बुझेर जादा राम्रो हुन्छ, उनले भने, ‘अहिले तत्कालै हिउँ पर्ने स्थिति छैन ।’

समाजसेवी तथा होटल व्यवसायी अमृत लामा गुरुङले बेस क्याम्पको मार्ग खुलेपछि फेरी पहिलाकै अनुपातमा पर्यटकीय गतिविधी मौलाउने बताए । ‘हामी पर्यटन प्रवद्र्धनका लागि जुटिरहेका छौ, उनले भने, ‘त्यहाँको स्थितिको बारेमा सबैलाई जानकारी गराईरहेका छौ मज्जाले बेसक्याम्प जान सकिन्छ ।’ उनले भिजिट नेपालको लक्ष्य प्राप्तिमा एबीसी बेस क्याम्प पुग्ने पर्यटकले थप सघाउने बताउँदै नेपाल पर्यटन बोर्डले सो क्षेत्रमा पर्यटक भित्राउने पहल गर्नुपर्ने धारणा राखे ।

गत महिना हिंकु केभ र देउराली विचको भागमा गएको हिमपहिरोमा पर्दा ४ कोरियाली र ३ जना नेपाली वेपत्ता भएका थिए । उनीहरुलाई हिउँले बगाएर लैजान सक्ने बताउदै गुरुङले कोरीयाली राजदुतावासको सहयोगमा तारजाली राखेको बताए । ‘उनीहरुलाई तत्कालै झिक्न सक्ने स्थिति छैन, उनले भने, ‘बैशाखको अन्तिम तिर निकाल्न सकिन्छ होला अझै पनि हिउँ बाक्लो नै छ ।’

सेन्चुरी युवा क्लब छोम्रोङका अध्यक्ष मिकास गुरुङले पुरानो तथा लोकप्रिय पदमार्गको रुपमा लिन सकिने उक्त पदमार्गमा हिमपात भएको समयमा स्थानीयको पहलमा बाटो खुला गर्ने काम गर्दै आएको बताए । उनले सो क्षेत्रका व्यवसायीहरु पर्यटकमैत्री रहेको बताउदै पर्यटकलाई ढुक्कका साथ यात्रामा आउन आग्रह गरे । ‘हल्ला भएजस्तो र सोचेजस्तो रुट खतरा छैन, उनले भने ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.