www.tandavnews.com
Fact ~ In search of truth

पिडा लुकाएर सुरक्षा दिदै ‘वाईसिएल क्याम्प’का प्रहरी

सुशान्त गाहा मगर
ताण्डव न्यूज,पोखरा ।

जस्ता पाताका स–साना प्वालहरुबाट सुर्य उदाउँछ । सुर्यास्तपछि त्यहि प्वालहरुबाट जुनले जिस्काइरहन्छन् , वर्षायाममा पानीका छिटाहरु छट्पटाइ रहन्छन् । जस्ता अडाएर ब्लकहरु ठडिइरहेका छन् जिर्ण अवस्थामा ।

ओतको लागि छानो भएपनि, त्यसले काम नगर्दा पानी परेको वेला सास्ती हुन्छ । यही पीडा प्रहरीले वर्षौंअघिदेखि रातदिन खेप्दै आएका छन् ।

Batas

पोखरा महानगरपालिका–९ स्थित जिल्ला यातायात कार्यालय कास्कीको निर्माणाधिन परिसर (तत्कालिन माओवादीको भातृ युवा संगठन (वाईसिएल क्याम्प) को छेवैमा देखिन्छ दुईवटा अस्थायी टहरा । जो आम्नेसाम्ने छ । यि अस्थायी टहराको दर्दनाक दृश्यकै कारण यातायातमा आएका सेवाग्राहीहरु समेत शौचालय हो भनेर झुक्कीएर पस्छन् ।

छताछुल्ल फोहोर पानी र आसपासमा भन्कीरहने झिंगाले मात्रै पनि यहाँको दुरावस्था झल्काउँछ । यहि दुरावस्थाकै कारण गतवर्ष एक कुक बाहेक यहाँ रहिआएका सबै प्रहरी डेंगुको संक्रमणमा परे ।

एक जनाको मात्रै होईन सबै कर्मचारी बस्ने कोठाको हालत उस्तै दयनीय छ । मेट्रो ५÷४, मेट्रो ५÷३, सभागृह बिट र बसपार्क बिटका ४ युनिटका प्रहरी कर्मचारी त्यँहीबाट खटिन्छन् ।  २ प्रहरी नायब निरिक्षक, ९ हवल्दार र १६ प्रहरी जवान गरी कुल २७ जना वाईसिएल क्याम्पमा रहेका छन् ।

संविधान प्रद्धत्त आधारभु्त आवश्यकता गास र बास एउटै छानोले धानिरहेको छ । कपडा धुन विदाको लगन छोपेर खोलातिर हानिनु बाहेकको विकल्प छैन । पिउनको लागि दिनहुँ जार किन्छन् अनि अन्य प्रयोजनका लागि पानी ट्याङकरलाई गुहार्छन् । पानी जोहो गर्न प्लास्टिकको सिमित पानी ट्याङ्की मात्रै छ, जुन त्यहाँको लागि यथेस्ट होईन ।

ट्याङ्की तिर आंैला सोझाउँदै एक प्रहरी अधिकारी भन्छन् ‘यो पनि उ त्यहाँ (निर्माणाधिन यातायात भवनको) काम गर्नेहरुसँग मागेको हो ।’ उनले ताण्डव न्यूजसँग कुरा गर्दै नुहाईधुवाईका लागि बाथरुम नभएकाले लगन छोपेर खुलेआम नुहाउन विवश रहेको पिडा दर्शाए । ‘मोटरसाईकल र स्कुटरको प्रयोगात्मक परिक्षा (ट्रायल) यही हुन्छ, उनले भने, ‘त्यै ट्रायल नभएको मौका छोपेर नुहाउने गर्छाै । साधन हुनेहरु चाँही खोला जान्छन ।’

उनले अबको महिनाबाटै लामखुट्टेको टोकाईबाट लाग्ने विभिन्न रोगको शिकार हुनपर्ने भन्दै चिन्ता व्यक्त गरे । ‘गएको सिजनमा सबैलाई डेंगु लागेको थियो, उनले भने, ‘कूकलाई बाहेक सबैलाई डेंगु लाग्यो एक जनाले त सामुदायिक अस्पतालमा २० हजारको दबाई नै गर्याे ।’

उनले गर्मी मौसममा डेंगुको र वर्षायाममा झरीको डर रहेको बताए । ‘हुन त प्रहरीको कहाँको पो राम्रो होला र तर यो चाँही अलि नै खत्तम छ’ उनले भने ।

उनले जिल्ला यातायात कार्यालय कास्कीको निर्माणाधिन भवन सम्पन्न भएपछि अन्यन्त्र स्थानमा लैजानेमा आशावादी छन् । ‘यहाँ आउने जाने त चलिनैरहन्छ तर पछि आउने टोलीलाई केही सहज हुन्छ भन्ने हो ’ उनले भने ।

‘पत्थरमै हिरा मिल्छ’ : एसपी कार्की

कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्कीले दरिलो संघर्षबाटै सफलता मिल्ने बताए । उनले नेपाल प्रहरीको ब्यारेकको सवालमा सबैको दयनीय अवस्था रहेको तर्क दिए । एसपी कार्कीले संघर्षबाटै मेहनती हुने भन्दै पत्थरमै हिरा मिल्ने धारणा व्यक्त गरे । उनले प्रहरीको समस्याबारे बौदै कास्की प्रहरी कार्यालयको ब्यारेकमै समस्या रहेको बताए । एसपी कार्कीले कास्कीमा रहेको ७२ युनिट मध्ये ३२ युनिट मात्रै स्वीकृत रहेको बताए ।

‘अप्रेशनमा रहेको ७२ मध्येका ४० युनिट ३२ युनिटमै बस्न पर्ने हो ।’ उनले भने । कार्कीले अझ १५ बढि युनिटको माग रहेको बताउदै कास्कीको हकमा दिन नसक्ने अवस्थामा रहेको बताए । उनले वाईसिएल क्याम्पमा रहेको ४ युनिटको सवालमा बोल्दै उक्त क्षेत्रमा युनिटको अतिआवश्यकता रहेको बताए । ‘पुलिस चाहियो सबैले भन्छन् भवन चाँही कसैले दिदैनन् । अब कहाँ राख्ने ?’ उनले भने ।

कास्की प्रहरीलाई यातायातले पत्र लेखेको बताउदै उनले नयाँ भवन निर्माण पश्चात त्यहाँबाट युनिट सारिने बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माणाधिन रहेको जानकारी दिदै एसपी कार्कीले ट्राफिक गोलघरमा सारिने बताए । ‘ गोलघरका ७० प्रतिशत ट्राफिक नयाँ भवनमा गएपछि त्यहाँको मेट्रोलाई गोलघरमा सार्छाै ।’ एसपी कार्कीले भने ।

उनले कास्कीमा कुल ९ सय ५१ प्रहरी कर्मचारी कार्यरत रहेको बताउदै ट्राफिकमा ९४ जना रहेको जानकारी दिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.