www.tandavnews.com
Fact ~ In search of truth

धूम्रपानरहित बन्दै भरतपुर महानगरपालिका

चितवन ।

भरतपुर महानगरपालिकालाई धूमपानरहित शहर बनाइने भएको छ । आगामी डिसेम्बरमा विशेष समारोहबीच औपचारिक घोषणाका लागि महानगरपालिकाले तयारी थालेको छ ।

महानगर प्रमुख रेनु दाहालका अनुसार महानगरलाई धूमपानरहित शहर घोषणा गर्न समिति निर्माण गरी हरेक महिनाको एक दिन बैठक बसेर गृहकार्य शुरु गरिएको छ । गत साता इण्डोनेशियाको बोगर नगरमा भएको कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरलाई ‘स्मोक फ्री सिटी’ बनाउने प्रतिबद्धता गरेका थिए।

Batas

सो कार्यक्रममा १२ देशका ४० नगरका प्रमुखको सहभागिता रहेको थियो । नेपालबाट भरतपुर महानगर प्रमुख दाहालको उपस्थिति थियो । बोगरमा भएको प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याइने महानगर प्रमुख दाहालले बताए । उनले सूचना प्रकाशित गरी भरतपुर महानगरमा सुर्तिजन्य पदार्थको प्रयोग तथा बिक्री वितरणमा निषेध गरिएको बताए ।

भरतपुर महानगरपालिकाले विभिन्न सञ्चारमाध्यममा सूचना प्रकाशन गरी महानगरभित्र सुर्तीजन्य पदार्थको प्रयोग तथा बिक्री वितरणमा निषेध गरिएको जनाएको छ ।

प्रमुख दाहालका अनुसार सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनको दफा ४ अनुसार भरतपुर महानगरपालिका सार्वजनिक स्थल, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, बालगृह, सार्वजनिक शौचालय, उद्योग कलकारखाना, मनोरञ्जन स्थल, होटल रेष्टुरेन्ट, खेलकूदस्थल, व्यवसायस्थल, धार्मिकस्थल, सार्वजनिक सवारीसाधन, प्रतीक्षालय, तथा धूम्रपान र सुर्तीजन्य पदार्थ सेवन गर्न पूर्णत निषेध गरिएको छ । होटल रेष्टुरेन्टमा तोकिएको स्थानमा मात्र धूमपान गर्न पाइनेछ ।

तोकिएको स्थानमा पनि अठार वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन नपाइने व्यवस्था महानगरले गरेको छ । महानगरले लगाएको नियमविरुद्ध जाने जो कसैलाई पनि कानूनबमोजिम सजाय हुने महानगर प्रमुख दाहालको भनाइ छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.