www.tandavnews.com
Fact ~ In search of truth

गाँजा सेवन गर्न नपाउने भएपछि हराए भोलेबाबा

बाँके ।

बागेश्वरी मन्दिरको पूर्वतर्फ शिव महादेवको मूर्ति छ । शिवरात्रिमा भोलेबाबाले खचाखच भरिने बागेश्वरी मन्दिर परिसरमा यस वर्ष शिवभक्त देखिएनन् । उसो त अन्य समयमा पनि जुँगे महादेवको पूजा अर्चना गर्न बागेश्वरीमा उस्तै भीड हुन्छ । अन्य समयभन्दा शिवरात्रिका दिन भीड बढ्ने गर्छ ।

जुँगे महादेवको मूर्तिमा प्रसाद चढाउन र पूजाअर्चना गर्न भक्तजन लामो समय लाममा बस्नुपर्यो । नेपाल प्रहरीले लामलाई व्यवस्थित गरिरहेको थियो ।

Batas

“बिहान ४ बजेदेखि लाइनमा बसिरहेकी छु”, नेपालगञ्ज–१८, की पवित्रा बस्नेतले भनिन् , “लाइन घटिरहेको छ, अब पालो आउला जस्तो छ ।” मन्दिरमा विशेष गरी युवाको भीड देखिन्थ्यो ।

“पोहोर साल त धेरै देखेको थिएँ यसपालि भोलेबाबाहरु देखिएनन् । केही चिसो मौसम भएर होला रु” नेपालगञ्ज–१ की दीपिका रेग्मीले अड्कलबाजी गरेर भनिन् , “विगतका वर्षहरुमा बागेश्वरी मन्दिर परिसरमा धुवाँ उडाइरहेका भोलेबाबा यसपालि हराएछन् ।” रेग्मीले भनेजस्तै यस वर्ष शिवरात्रिमा बागेश्वरीमा भोलेबाबा देखिएनन् ।

यस वर्ष शिवरात्रिमा भाङ, धतुरो र गाँजा खान र बेच्न स्थानीय प्रशासनले कडाइ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए ।  उनले भने , “भोलेबाबाको उपस्थिति नहुनुमा यसैको प्रभाव पनि हुनसक्छ ।”

संसारभर पाइने महादेवको मूर्तिमध्ये जुँगा भएको मूर्ति यहीँ मात्र छ । बागेश्वरी मन्दिर यस क्षेत्रकै ठूलो र प्रसिद्ध मन्दिर हो । यस स्थानमा सतीदेवीको जिब्रो पतन भएको भन्ने जनविश्वास छ ।

एउटा ठूलो तलाउको किनारामा रहेको बागेश्वरी मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको इतिहास छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.