www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीका उच्च पहाडी बस्तीमा हिमपात, विकास योजना प्रभावित

म्याग्दी ।

म्याग्दीको उच्च पहाडी बस्तीहरुमा हिजो(मङ्गलबार)सातौँ पटक हिमपात भएको छ । सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवनका साथै विकास निर्माणका योजनाहरु प्रभावित भएका छन् ।

धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मङ्गलाको टोड्के, झाँक्रीपानी, रघुगङ्गा गाउँपालिकाको रुइसे, भगवती, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, चित्रे, टिकोट, राम्चे लगायतका बस्तीमा हिउँ परेको छ ।

Batas

गुर्जामा एक फिट हिउँ जमेको स्थानीय जनकल्याण माविका शिक्षक अशोक छन्त्यालले जानकारी दिए । यसअघि यही फागुन ९ गते हिमपात भएको थियो । सो हिउँ पग्लिनसक्दै थपिएको हिउँले चिसो बढेको छ ।

विगतका भन्दा यो वर्ष धेरै पटक लगातार जसो हिउँ परेको छ । हिमपातका कारण विकास निर्माणका योजना कार्यान्वयन प्रभावित भएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

गुर्जामा यो वर्ष गाउँपालिकाको नौ वटा, संघीय सरकारको एउटा र प्रदेशको एउटा योजना छन् । योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन भएको, सर्वेक्षण र डिजाइन गरिएको तर लगातारको हिउँले काम शुरु गर्न नसकिएको उपभोक्ता समितिका पदाधिकारीले बताएका छन् ।

शुरु गरिएका योजनामा पनि निरन्तर काम हुन नसकेको वडाध्यक्ष छन्त्यालले बताए । करिब साढे दुई सय घरधुरीको बसोबास रहेको गुर्जा गाउँ जाने बाटोमा हिउँ जमेपछि आवतजावत र ढुवानी ठप्प भएको छ ।

रघुगङ्गा गाउँपालिकाको बेग–चिमखोला सडकमा हिउँ जमेर यातायातका साधन रोकिएका छन् । अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा निर्माणाधीन नीलगिरि र नीलगिरि क्यासकेड जलविद्युत आयोजना प्रभावित भएका छन् ।

मङ्सिर अन्तिम सातादेखि अहिलेसम्म म्याग्दीमा सात पटक हिमपात भएको छ । नियमित वर्षा र हिमपातले हिउँदे बालीलाई भने राम्रो गरेको कृषकले बताएका छन् । हिउँ र वर्षाले जमीन चिसो बनाएर सिँचाइ हुने र खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने कृषि प्राविधिकको भनाइ छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.