www.tandavnews.com
Fact ~ In search of truth

देशभरका क्याम्पस स्ववियुविहीन

शरद शर्मा
काठमाडौँ , रासस ।

देशभरिका क्याम्पस आजदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीविहीन भएका छन् । आज हुने भनिएको स्ववियु निर्वाचन नभएपछि २०७३ सालमा निर्वाचन भएका क्याम्पसका स्ववियु पदाधिकारीको कार्यकाल सकिएको हो ।

विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को यही फागुन ५ गते बसेको बैठकले आजका लागि तोकिएको स्ववियु निर्वाचन स्थगन गरेको थियो । त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालले २०७३ सालमा भएका क्याम्पसका स्ववियु पदाधिकारीको पदावधि आजदेखि सकिएको जानकारी दिए ।

Batas

“प्रत्येक दुई÷दुई वर्षमा हुने निर्वाचन गत वर्ष पनि हुन नसकेर हामीले छ÷छ महिना गरी दुई पटक पदावधि बढाएका थियाँै”, उनले भने , “तर आज हुने भनिएको निर्वाचन विद्यार्थी सङ्गठनका कारणले हुन नसकेपछि ती निर्वाचित पदाधिकारीको पदावधि सकिएको छ ।” विसं २०७३ मा २२ आङ्गिक र २८० सम्बन्धन प्राप्त क्याम्पसमा मात्र निर्वाचन भएको थियो । त्यसो त त्रिविका ६२ आङ्गिक क्याम्पस र एक हजार ३२ सम्बन्धन प्राप्त क्याम्पसमा २०६५ सालदेखि स्ववियु निर्वाचन हुन सकेको छैन जसका कारण ती क्याम्पसमा पहिल्यैदेखि नै स्ववियु पदाधिकारीविहीन भएका छन् ।

प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन निर्धारित समयमा हुन नसक्दा विद्यार्थी आन्दोलन नै शिथिल भएको छ । विद्यार्थी सङ्गठनबीच निर्वाचन प्रणाली र उमेर हदबन्दीका कारणले स्ववियु निर्वाचन दश वर्षदेखि हुन नसकेको हो । त्रिविका कावा रेक्टर भुसालले अदालतले नै एक वर्षभन्दा बढी कार्यकाल थप्न नपाउने भनेपछि २०७३ सालमा निर्वाचित पदाधिकारीको कार्यकाल यस वर्ष थप्न नसकिने बताए । प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका निवर्तमान स्ववियु सभापति टपेन्द्र शाहीले क्याम्पसलाई स्ववियुविहीन बनाउन नहुने भन्दै चाँडै विद्यार्थी सङ्गठनको सहमतिमा मिति तोकिनुपर्ने बताए । उनले स्ववियुले आजदेखि आर्थिक कारोवार मात्र गर्न नपाउने भन्दै शैक्षिक कार्यक्रम भने गरिने बताए ।

त्रिविका रेक्टर भुसालले विद्यार्थी सङ्गठनबीच सहमति गरेर पुनःनयाँ मिति घोषणा गरिने बताए । “हामीले विद्यार्थी सङ्गठनका कारणले आज हुने भनिएको निर्वाचन गर्न सकेनाँै”, उनले भने , “अब चाँडै विद्यार्थी सङ्गठनको सहमतिमा चैत अन्तिम साता हुने गरी निर्वाचन घोषणा गर्दछौँ ।” उनका अनुसार आगामी चैत अन्तिम साता निर्वाचन गर्नेगरी विद्यार्थी सङ्गठनसँग सहमति गरिनेछ । त्यसअगावै स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेस्टरको परीक्षा सम्पन्न गर्ने त्रिविको तयारी छ ।
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.