www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रियसभामा उपाध्यक्ष गौतमको मनोनीत पक्काःअध्यक्ष दाहाल

चितवन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताएका छन । प्रेस संगठन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्ने बताए।

पत्रकारको प्रश्नमा उनले भने,‘प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा म कल्पनासम्म पनि गर्दिन, उहाँले गर्नुहुन्छ । मैले त्यति बुझेको हो ।’ प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्नुभएन भने के हुन्छ भन्ने अर्को प्रश्नमा उनको जवाफ थियो, ‘म अहिले त्यतातिर जानै चाहन्न । मलाई विश्वास छ, उहाँले पार्टीको सचिवालय बैठकले सर्वसम्मत गरेको निर्णयलाई अवज्ञा गर्नुहुने छैन ।’

Batas

आफू र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मतरुपमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको दाहालको भनाइ थियो । अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने नभएको बताउँदै उनले छ महिनासम्म सांसद नभएको व्यक्ति पनि मन्त्री हुनसक्ने उल्लेख गरे ।

संविधान संशोधन गरेर प्रधानमन्त्री हुने भए मात्र राष्ट्रियसभामा जाने उपाध्यक्ष गौतमको शर्त भने गएको सचिवालय बैठकबाट हटेको दाहालको भनाइ थियो । उनले संविधान संशोधन एउटा प्रक्रियामा अघि बढ्ने जानकारी पनि दिए।

उपाध्यक्ष गौतम सिफारिसका लागि व्यवसायीसँग बैठक बसेको भन्ने भनाइ कपोलकल्पित मात्र भएको उनले बताए । दाहालले भने, ‘त्यो नियोजित, भ्रामक र कपोकलल्पित छ । त्यस्तो कहीँ बैठक वा डिनर भएको कसैले प्रमाणित गरिदियो भने म त्यसलाई बधाई भन्छु ।’

प्रत्यक्ष निर्वाचनमा पराजित व्यक्ति मनोनीत भएको प्रशस्त उदाहरण भएको बताउँदै उनले भने,‘मैले ल्याएर केके गरे भन्ने तपाईँहरुलाई थाहा नै छ नि’ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति र नेतासँग भएको भेट सामान्य राजनीतिक प्रक्रिया मात्र भएको उनले टिप्पणी गरे । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.