www.tandavnews.com
Fact ~ In search of truth

परासीमा जनता आवास कार्यक्रम कार्यान्वयन तीव्र

परासी ।

अति विपन्न समुदायलाई आवास सुविधा उपलब्ध गराउने उद्देश्यका साथ प्रदेश नं ५ सरकारले ‘जनता आवास कार्यक्रम’को प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

कार्यक्रमअन्तर्गत अहिले पश्चिम नवलपरासीका विभिन्न स्थानमा प्रदेश सरकारको अनुदानमा धमाधम आवास निर्माण भइरहेका छन् । सरकारले आफ्नो लागि घर बनाइदिन थालेपछि विपन्न समुदायमा पनि खुशियाली छाएको रामग्राम नगरपालिका–१५ डिगोलकी नुर्जाहा खातुनले बताए ।

Batas

प्रदेशसभा सदस्य बैजनाथ कलवारबाट आज बिहान जनता आवास कार्यक्रमअन्तर्गत नुर्जाहाकै घरको शिलान्यास भएपछि उनले भने,‘सरकारले हाम्रो समस्या बुझेछ, हामीलाई खुशी लागेको छ, अब पक्कि घरमा बस्न पाउनेछौँ ।’

खातुन अहिले झुपडीको घरमा बस्दै आएका छन् । उक्त कार्यक्रमअन्तर्गत डिगोलका पाँच जनासहित रामग्राम–१५ मा कूल १० घरपरिवारलाई आवास निर्माण गर्न लागिएको प्रदेशसभा सदस्य कलवारले जानकारी दिए ।

उनले भने, ‘प्रदेश सरकारले सडक, पुलपुलेसा निर्माणमा मात्र होईन्, जनताको आधारभूत आवश्यकता पूरा गर्न पनि प्रतिवद्ध छ, सुरक्षित घरमा बस्न पाउनु नागरिकको मौलिक अधिकार हो ।’

यो कार्यक्रमअन्तर्गत पश्चिम नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ (ख) का अतिविपन्न ३९ परिवारले निःशुल्क आवास पाउने छन् । जसअन्तर्गत रामग्राम–१५ र ९ मा दश-दश तथा पाल्हीनन्दन गाउँपालिकाका–४ र ५ मा १९ जना आर्थिकरूपले अतिविपन्न समुदायलाई जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश नं ५ सरकारले अनुदानमा घर बनाइदिने प्रदेशसभा सदस्य कलवारले बताए ।

कूल तीन लाख ७६ हजारको लागतमा जस्तापाताको छानोसहित बन्ने घर निर्माणका लागि प्रदेश सरकारले प्रतिघरलाई तीन लाख ३६ हजार अनुदान दिनेछ भने अन्य लागत स्वयंले व्यहोर्नुपर्ने शहरी विकास तथा भवन कार्यालय भैरहवाले जनाएको छ ।

दश प्रतिशत सम्बन्धित व्यक्तिको लागत सहभागिता रहने गरी उपभोक्ता समितिमार्फत निर्माण हुने घर भूकम्परहित र शौचालयसहितको मापदण्डमा निर्माण गरिने रामग्राम–१५ का वडाध्यक्ष धनपद यादवले जानकारी दिए ।

आर्थिकरुपले अतिविपन्न, लोपोन्मुख तथा सीमान्तकृत समुदायको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने संवैधानिक व्यवस्था भएकाले ती वर्ग एंव समुदायलाई सरकारले वर्सेनि बजेट वक्तत्वमार्फत सम्बोधन गर्दै आएको उनले बताए । सोही हकअन्तर्गत सरकारले लोपोन्मुख अति सीमान्तकृत जाति तथा समुदायका विपन्न वर्गलाई आवासको व्यवस्था गर्दै आएको प्रदेशसभा सदस्य कलवारले बताए ।

घरविहीन तथा भूमिहीन नागरिकलाई प्राथमिकतामा राखेर नगरपालिकाले पनि जनताको चाहनाअनुसारको विकास गर्दै अघि बढेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले बताए । आगामी दिनमा अन्य दलित तथा विपन्न समुदायलाई पनि आवास निर्माणका लागि पहल गर्दै जाने उपप्रमुख रम्भा कुँवरले बताए ।

जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं २९१० मा पनि ३८ परिवारका लागि आवास निर्माणको काम भइरहेको बताइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.