www.tandavnews.com
Fact ~ In search of truth

पर्यटकको पर्खाइमा ‘तनहुँको हर्षपुर’

सुशान्त गाहा मगर

ताण्डव न्यूज/पोखरा ।

उत्तरी भेगको हिमालदेखी खेल्दै आएको सिरोटोले भञ्ज्याङमा पुग्ने पाहुनाहरुलाई स्पर्श गर्दै स्वागत गर्छ । अनि पङ्तिबद्ध मगर पोशाकमा सजिएका आमा टोलीले क्रमश टिका र माला लगाउँदै सत्कार गर्छन् । भञ्ज्याङ्बाट केही उकाली डोर्याउदै पाहुनाहरुलाई समाज भवन पुर्याउछन् र आर्गानिक खाजाको स्वाद दिलाउँछन् ।

Batas

वारी र पारी रहेका मगर बस्तीको दृश्य र कास्की देखी धादिङ सम्म लस्करै देखिने हिमश्रृङ्खलाले पाहुनालाई मोहित तुल्याउँछ । तनहुँको म्याग्दे गाउँपालिका ७ डाडाँगाउँ हर्षपुरमा होमस्टे सञ्चालन भएको १ वर्ष भएको छ । सडक, खानेपानी, जस्ता आधारभुत पूर्वाधारको कमी छैन । प्राकृतिक शौन्दर्यता, यहाँको मगर समुदायको मौलिक संस्कृति मात्रै होईन व्यवस्थापकिय पक्ष समेत मजबुत छ ।

तर आवश्यक प्रचारप्रसारको कमीले गर्दा केही आन्तरिक पर्यटक बाहेक बाह्य पर्यटकले हर्षपुर टेक्न नपुगेको स्थानीयहरुको बुझाई छ ।होमस्टे सञ्चालन गरिरहेका स्थानियहरु यतिबेला पर्यटकको बाटो हेरिरहेका छन् । पाहुनाको स्वागत गर्न आतुर छन् । यदा कदा पुग्ने पाहुनालाई फेरी अर्काे पटक फर्किने वातावरण बनाउने गरेको सञ्चालकहरु बताउँछन् ।

थर्पु देखि करिब ६ किलोमिटरको दुरीमा रहेको यस गाउँमा गत बर्ष देखी मात्रै होमस्टे सञ्चालनमा रहेको सञ्चालक समितिका सचिव सनिसरा थापा मगरले बताईन् । अनुसार गत वर्षदेखी सञ्चालनमा रहेकोे सो गाउँको होमस्टेमा ५०० बढि आन्तरिक पर्यटक भित्रिएका छन् । ‘अहिलेसम्म विदेशी पाहुना आएका छैनन्, उनले भनिन्, ‘अब पालिकाले सहयोग गरे आउलाननी ।’

तुलनात्मक रुपमा पाहुनाहरुको अवागमन बढेपछि गाउँको मुहार नै फेरिएको भान भएको रानाले सुनाईन् । उनले सो गाउँमा मठमन्दिर, गुफासँगै मगर समुदायको मौलिक संस्कृतिमा रम्न सक्ने बताउदँै प्याकेजको व्यवस्था नरहेको बताईन् । ‘कोहीले खानै नखाई पनि बिहानै फर्किनुहुन्छ, उनले भनिन्, ‘त्यसैले हामीले सादा खानाको र आवासको ३ सय लिन्छौ खाजाको छुट्टै लिने गरेका छौ । प्याकेजमा त्यस्तै ५-६ सय पर्न जान्छ ।’

थापाले होमस्टे सञ्चालन पछि आर्थिक पाटोबाट समेत मजबुद बन्न सघाउ पुगेको बताउदँै कुल १८ घरमा मात्र होमस्टे सञ्चालन गरिएको थापामगरले बताईन् ।

त्यस्तै हर्षपुर होमस्टेको विकासका लागि म्याग्दे गाउँपालिकाले २ लाख बढि बजेटमा तालिम प्रदान गरेको गाउँपालिकाकी प्रमुख मायादेवी राना मगरले बताईन् । उनले व्यवस्थापकीय पक्ष मजबुत बनाउने उद्देश्य सहित एक हप्ताको तालिम पश्चात अन्य होमस्टे गाउँहरुमा समेत अवलोकन भ्रमणमा पठाएको सुनाईन् ।

रानामगरले गाउँपालिकाले गर्नुपर्ने सहयोग गर्दै आएको बताउदै सोही अनुरुपको प्रतिफल पाएको बताईन् । ‘हामीले गर्नुपर्ने सहयोग गरेका छौ, उनले भनिन्, ‘अवलोकनमा गएपछि धेरै प्रगती पाईयो, सफा सुग्घर देखी व्यवस्थापकीय पक्ष पनि राम्रो पाए ।’

उनले होमस्टेसँगै पदमार्गको समेत योजना अघि सारेको बताईन् । ‘विदेशी पाहुना होमस्टेमा भित्राउन भनेपछि उनीहरु हिड्नै खोज्छन् । त्यो गोरेटोहरुलाई कसरी गर्ने भनेर छलफलमा ल्याएका छौं ।’ उनले सडकको समेत विस्तारै स्तरोन्नती हुने बताउदै होमस्टेको विकास वडा १ मानुङमा समेत गरिने उनले बताईन् ।

पोखरा देखि हर्षपुर पुगेको मुस्कान तामाङले होमस्टेको वातावरण देखेर नतमस्तक भएको बताइन् । उनले अन्य ठाउँका होमस्टेको अनुभव लिईसकेका आन्तरिक पर्यटकलाई एक पटक रानागाउँ पुग्न सुझाब दिदै होमस्टेको वास्तबिक अर्थ बुझ्न सकिने बताए । ‘पारिवारिकमैत्री वातावरण, प्राकृतिक सौन्दर्यता, यहाँहरुले गरेको आतिथ्यताले मनै लोभ्याएकोछ, उनले भने, ‘मगर समुदायको मौलिक कौडा नृत्य र यहाँको अर्गानिक खानाप्रति खुशी छु ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.