www.tandavnews.com
Fact ~ In search of truth

सिक्लेसमा सूचना केन्द्र स्थापना

पोखरा ।

जिल्लाको मादी गाउँपालिका–१ को पर्यटकीय गाउँ सिक्लेसमा पर्यटकलाई सूचना तथा जानकारी उपलब्ध गराउन सूचना केन्द्र स्थापना गरिएको छ ।

नेपालको १०० पर्यटकीय गन्तव्यमा समेत परेको सिक्लेस गाउँमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आवश्यक सूचना तथा पर्यटकीय स्थलका बारेमा अवगत गराउने उद्देश्यले सूचना केन्द्र सञ्चालनमा ल्याइएको हो ।

Batas

देशमा चलेको तत्कालीन १० वर्षे सशस्त्र संघर्षको शान्तिपूर्ण अवतरणका लागि सिक्लेसबाट शुरु भएको शान्तिवार्ता सफल भएकाले यो ठाउँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित छ ।

तत्कालीन विद्रोही पक्षको नेतृत्व गरेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकारी वार्ता टोलीबीच पहिलोपटक सिक्लेसमा नै वार्ता भएको थियो ।

गण्डकी प्रदेश सरकारले घरवास प्रवद्र्धन कार्यक्रमअन्तर्गत होमस्टेमा पूर्वाधार निर्माणका लागि उपलब्ध गराएको १० लाख रुपैयाँ अनुदान तथा गाउँपालिकाको एक लाख गरी ११ लाख बजेटबाट सूचना केन्द्रको स्थापना भएको हो ।

दुई हजार २०० मिटर पदयात्रामार्ग र प्रतीक्षालय निर्माण गरिएको सिक्लेस घरवास पर्यटनका सचिव पदम गुरुङले बताए । गत वर्ष यहाँका २० घरमा घरवास शुरुआत गरिएको थियो ।

सिक्लेसस्थित बसपार्कमा एक कोठाको भवनमा सूचना केन्द्र स्थापना गरी गाउँका घरवास पर्यटन, होटल, पर्यटकीय गन्तव्य तथा गाउँका विशेषताका बारेमा जानकारी उपलब्ध गराइने उनको भनाइ छ । केन्द्रमा एक जना कर्मचारीसमेत नियुक्त गरिएको छ ।

त्यसैगरी घरवास पर्यटन पूर्वाधारका लागि विनियोजित बजेटबाट चायकोबाट रिसिङ डाँडासम्म दुई हजार ३०० मिटर लामो पदयात्रा मार्ग निर्माण गरिएको समितिका अध्यक्ष ताइमाया गुरुङले बताए । पदमार्गमा पर्यटकलाई सहजताका लागि प्रतीक्षालयसमेत निर्माण गरिएको छ ।

यहाँको क्वफुचे हिमताल, हिमपहिरो हेर्न सकिने रिसिङडाँडा, तारा हिलटप, गुराँसको जङ्गल तथा ‘सिक्लेस इको म्युजियम’ले पर्यटकलाई आकर्षित गरेको छ । सिक्लेसबाट चार घण्टाको पैदलयात्राबाट विश्वकै सबैभन्दा होचो स्थानमा रहेको दाबी गरिएको हिमताल पुग्न सकिन्छ ।

त्यसैगरी गत वर्ष मात्र निर्माण गरिएको शान्ति स्मारकले समेत पर्यटक तान्ने गरेको छ । नेपालको शान्ति प्रक्रियाको अध्ययनका लागि समेत स्वदेशी तथा विदेशीसमेत यहाँ आउने गरेको बताइन्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) सिक्लेसमा कार्यरत मधु बरालले वार्षिक सातदेखि आठ हजार आन्तिरक तथा बाह्य पर्यटकले यहाँको भ्रमण गरेको जानकारी दिए। रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.