www.tandavnews.com
Fact ~ In search of truth

कास्की कारागारः ४२० को क्षमतामा ८४७ कैदीबन्दी

पोखरा ।

पाँच दशकअघि स्थापना गरी सञ्चालनमा आएको कास्की कारागारमा यतिखेर क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेका छन् । पोखरामा रहेको कास्की कारागारमा ४२० जनाको क्षमता भए पनि हाल विभिन्न प्रकृतिका मुद्दाका ८४७ जना कैदीबन्दी रहँदा उनीहरुलाई असहज भएको छ ।

जिल्ला कारागार कास्कीका प्रमुख गणेश गौतमका अनुसार कारागारमा विभिन्न २६ प्रकृतिका मुद्दामा एक आश्रित नाबालकसहित ६० महिला र ७८६ पुरुष रहेका छन् । तीमध्ये थुनुवा महिला २२, कैदी महिला ३८ तथा थुनुवा पुरुष २३६ र कैदी पुरुष ५५० रहेका छन् ।

Batas

कारागारले विभिन्न तीनवटा ब्लक छुट्याएकामा ‘क’ र ‘ख’ ब्लकमा क्रमशः ३१७ र ४११ जना रहेका छन् भने महिला ब्लकमा ६० जना कैदीबन्दीको संख्या रहेको उनले जानकारी दिए । ‘क’ ब्लकमा १८ र ‘ख’ ब्लकमा १९ वटा कोठासहित १० तथा १२ वटा शौचालय, पुस्तकालय, क्यान्टिन आदि रहेका छन् । कारागारभित्रै फलफूल तथा चनाचट्पटे पसल, सैलुन, मुढा बुन्ने स्थान, मासु पसल, कपडा सिलाउने ठाउँ, पोत तथा पर्स बुन्ने ठाउँ छन् ।

कारागारका ‘क’ र ‘ख’ ब्लकमा पुस्तकालय रहेकामा ‘क’ मा एक हजार ५३० पुस्तक छन् भने ‘ख’ मा एक हजार ५०० पुस्तक रहेको प्रशासनले जनाएको छ । गौतमका अनुसार कैदीलाई दैनिक ६० सिधा तथा नेपाल खाद्य संस्थाले प्रतिकेजी ५०.५२ मा ७०० ग्राम सोना मनसुली चाम उपलब्ध गराउनाका साथै सरकारले प्रत्येक वर्ष बन्दीको स्वास्थ्य उपचारका लागि १२ लाख रुपैयाँ विनियोजन गर्दै आएको छ ।

कैदीबन्दीका अनुसारको पूर्वाधारको व्यवस्था नभएको बताउँदै उनले पूर्वाधार विकासमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । पूर्वाधारकै अभावमा कैदीबन्दीको श्रम सीपलाई उचित उपयोग गर्न नसकिएको बताउँदै उनले उनीहरुले उत्पादन गर्ने मुढा, झोला तथा भाङ्ग्राले श्रमअनुसारको मूल्य पाउन नसकेको बताए ।

कैदीबन्दीको संख्यामा प्रत्येक वर्ष वृद्धि हुँदै गएको बताउँदै उनीहरुको व्यवस्थापनका लागि तीनदेखि पाँच सय रोपनी जग्गा आवश्यक रहेको उनको भनाइ छ । कारागारमा हाल एक दर्जन ज्येष्ठ नागरिकसमेत रहेका छन् । यस बीचमा महिला ब्लकमा विद्युत् वायरिङ, भान्छा कोठा निर्माण, तत्काल ध्यान प्रशासनिक भवन नहुँदा जस्ताको छानामुनि सामान्य ट्रस्ट निर्माण गरिएको छ ।

कारागारभित्रै कतिपयले उद्यमशीलताका माध्यमबाट आयआर्जनमा समेत जोडिएको जानकारी दिँदै उनले मुढा बुन्ने, कपडा सिलाउने, फलफूल तथा चनाचट्पट बेच्ने आदि गरेर आम्दानी गरिरहेको बताए ।

सुरक्षाकर्मी बस्नका लागि आवास तथा अन्य पूर्वाधार (शौचालय, धारा) आदिको समस्या रहँदै आएको उनको भनाइ छ । कारागार प्रशासनले कैदीबन्दीको स्वास्थ्यमा पनि ध्यान दिएको बताउँदै उनले यही वर्ष भदौ २३ गते हिमालय आँखा अस्पतालको सहकार्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको बताए।
प्रशासनले प्रारम्भिक बालविकास केन्द्रको सहकार्यमा गत भदौ १ गतेदेखि प्रौढ शिक्षा सञ्चालन गर्दै आएको छ । कारागारमा सबैभन्दा बढी जबर्जस्तीकरणी मुद्दामा ११ विदेशीसहित २२८ रहेका छन् ।

त्यस्तै लागुऔषधतर्फ आठ विदेशीसहित २२५ रहेका छन् । कारागारमा १६६ कर्तव्यज्यान, चोरी ८०, ज्यान मार्ने उद्योगमा १७, अपहरणमा १५, मानव बेचबिखन १९, सवारी ज्यान १९, बहुविवाहका १२, सार्वजनिक अपराध नौ, डाँका चोरी नौ, विदेशी विनिमय एक र वन जडीबुटी ओसारपसारका मुद्दामा पाँचजना रहेका छन् ।

त्यसैगरी राज्य विरुद्धको कसुर विस्फोटन पदार्थ तीन, सैनिक दुई, सम्पत्तिसम्बन्धी कसुर एक, मुद्रासम्बन्धी कसुरमा दुई, लिखितसम्बन्धी एक ठगी १३, बालयौन दुराचार चार, बैंकिङ कसुर नौ, वन्यजन्तु दुई, लेनदेन दुई, आगलागी तीन कैदीबन्दी रहेको प्रशासनले जनाएको छ ।

आर्थिक वर्ष २०७६-७७ कूल बजेट चार करोड एक लाख ३४ हजार बजेटमध्ये चालूतर्फ तीन करोड ८६ लाख ३८ हजार र पूँजीगततर्पm १४ लाख ९६ हजार छ । पोखरा महानगरपालिका–७ पार्दीमा २०२२ सालमा स्थापना भएको कारागार कूल १९ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

यसमा भित्री पर्खालको १० रोपनीमा कैदीबन्दी आवास तथा बाहिरी पर्खालभित्र नौ रोपनी जग्गा खुला रहेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.