www.tandavnews.com
Fact ~ In search of truth

सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गराउँछु :नवनियुक्त अध्यक्ष अर्याल

काठमाडौं ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष राजेन्द्र अर्यालले सरकारले तोकेको श्रमजीवी पत्रकारको पारिश्रमिक कार्यान्वयन गराउन पहल गरिने बताएका छन् । उनले आज सञ्चारग्राम, तिलगंगास्थित कार्यालयमा पदभार ग्रहण गर्दै सरकार, नेपाल पत्रकार महासंघ, सञ्चारमाध्यम र पत्रकारसँगको समन्वयमा सरकारले तोकेको पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराइने बताए ।

उनले अहिलेको महँगीले पनि पत्रकारको नयाँ तलबमान पुनरवलोकन आवश्यक रहेको धारणा राखे । समिति गठन भएको करिब १५ वर्ष पुग्दा पनि पत्रकारको पेशागत र भौतिक अवस्था सुनिश्चित नभएको उल्लेख गर्दै उनले सञ्चारमाध्यमले पनि न्यूनतम पारिश्रमिक लागू गरेर मर्यादित पत्रकारिता बनाउन सहयोग गर्नुपर्ने बताए।

Batas

कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक लेखनाथ शर्माले पत्रकारको पेशागत सुरक्षा गर्न सरकार सधैँ तयार रहेको बताए । उनले अन्य देशमा रहेको पत्रकारको तलब जति नै नेपालमा गराउनुपर्ने धारणा पनि राखे ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको पेशागत र भौतिक सुरक्षाका लागि महासंघ लागिपरेको छ भन्दै सरकारले नयाँ तोकेको तलबमान लागु गराउनुपर्ने बताए । उनले श्रमजीवी पत्रकार ऐन संशोधन गरेर समितिलाई अनुगमन र कारवाहीको अधिकार प्रत्याभूत गराउनुपर्नेमा जोड दिए ।

नवनियुक्त अध्यक्ष अर्याललाई समितिका सदस्य केपी गौतमले स्वागत गर्दै सरकारले तोकेको पारिश्रमिक लागू गराउनुपर्ने बताए । सो अवसरमा नेपाल टेलिभिजनका सञ्चालक समिति सदस्य टंक पन्त, पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टले पनि उनलाई बधाई दिएका थिए।

विगत २० वर्षदेखि पत्रकारितामा क्रियाशील अर्याल तत्कालीन प्रेस चौतारी नेपालका अध्यक्ष थिए। यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई समितिका अध्यक्षमा नियुक्त गरेको हो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.