www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाले उड्डयन क्षेत्रमा असरःकरिब चार अर्ब क्षति हुने अनुमान

काठमाडौं ।

वायुसेवा प्रदायक कम्पनीको छाता संगठन वायु सेवा सञ्चालक संघले कोरोना भाइरसको कारण आन्तरिक उडानमा असर परेको जनाएको छ ।

संघले आज एक विज्ञप्ति जारी गर्दै कोरोनाको सम्भावित जोखिमको हल्लाले विदेशी पर्यटक आगमन घटेको तथा आन्तरिक यात्रुको चहलपहल पनि कम भएकाले हवाई सेवा प्रभावित भएको जनाएको हो ।

Batas

छिमेकी मुलुक चीनमा देखा परेको कोरोनाको संक्रमणले विश्वव्यापी रुप लिएसँगै संसारको अर्थतन्त्रलाई असर पार्ने र अर्थतन्त्रको मुख्य पाटो पर्यटन क्षेत्रमा नराम्रो असर पर्ने खतरा औँल्याउँदै संघले आन्तरिक वायुसेवा कम्पनीको समेत व्यापार घटेको जनाएको छ ।

विदेशी पर्यटक नआउँदा अहिले उपलब्ध जहाजलाई मागअनुसार यात्रु नपुग्ने भन्दै संघले सोहीकारण अब अनुपात मिलाएर सबै कम्पनीका जहाज ग्राउन्डेड गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘संघको यही २२ गते भएको बैठकले सम्पूर्ण खर्चमा मितव्ययिता अपनाउने, अहिले भएको वायुयानको संख्याअनुसार माग नहुने अवस्थामा सबै कम्पनीले आफ्नो जहाज ग्राउण्डेड गर्ने, कर्मचारीलाई बिना तलब छुट्टिमा जान प्रोत्साहित गर्ने र सेवा सुविधा कटौती गर्नेसमेतका कार्य गरिने निर्णय गरेको छ,’विज्ञप्तिमा भनिएको छ ।

विगतमा संकटको बेला सबैले साथ दिएको इतिहास रहेकाले अहिले परिस्थितिको सामना गर्न पनि साथ र सहयोग प्राप्त हुने संघले विश्वास लिएको छ ।नेपालको आन्तरिक उडानमा कोरोनाको प्रभावका कारण करिब चार अर्ब क्षति हुने संघले अनुमान गरेको छ । अहिले प्रतिमहिना आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको जनाइएको छ ।

वायु सेवा सञ्चालकले सरकारसँग सहुलियत, बैंकमा तिर्नुपर्ने ब्याजमा पुर्नकर्जाको सुविधा दिएर भुक्तानीको व्यवस्था मिलाउन माग गरेका छन् । वायुसेवा प्रदायकले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अमेरिकी डलर र नेपाली रुपैयाँमा लिएको ऋणको साँवालाई पुनर्तालिकीकरण र पुनःसंरचनाको व्यवस्था गर्न माग गरेको छ ।

हवाई इन्धनमा सरकारले लगाएको मुल्य अभिवृद्धि कर हटाउन र हवाई इन्धनको मूल्य कम्तीमा ३० प्रतिशत घटाउन समेत व्यवसायीले अनुरोध गरेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.