www.tandavnews.com
Fact ~ In search of truth

आमाको चौरासीमा छोरीले बनाइन् पदमार्ग

बागलुङ ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ टेउवामा निर्माणाधीन खुला मूर्तिकला सङ्ग्रहालय परिसरमा व्यक्तिगत लगानीमा पदमार्ग निर्माण गरिएको छ ।

गलकोट नगरपालिका–५ हरिचौर हिस्लाङ निवासी चित्राकुमारी श्रीषको ८४ वर्षगाँठका अवसरमा उनकी छोरी शान्तिले हरिचौरको टेउवामा पदमार्ग निर्माण गरेका हुन् ।

Batas

तीन लाख ११ हजार १०० को लागतमा झण्डै ५० मिटरको स्लेट ढुङ्गाले बिछ्याइएको रेलिङसहितको आकर्षक पक्की पदमार्ग बनाइदिएको शान्ति श्रीषले जानकारी दिए । ‘आमाको चौरासी वसन्त पूरा भएको अवसरमा स्मरणयोग्य काम गर्न खोजेका थिए’, श्रीषले भने, ‘आफ्नै गाउँमा बन्न थालेको संग्रहालयमा पदमार्ग आवश्यक देखेर निर्माण गरिदिएको हुँ ।’

गलकोटको टेउवामा निर्माणाधीन खुला मूर्तिकला सङ्ग्रहालय परिसरमा पुग्ने पर्यटकलाई लक्षित गरी व्यक्तिगतरुपमा प्राप्त सहयोगले पर्यटकीय पदमार्ग निर्माण गरिएको गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए ।

टेउवामा निर्माणाधीन खुला सङ्ग्रहालय निर्माण गर्नका लागि यहाँका स्थानीयले विभिन्न सहयोग प्रदान गर्ने क्रममा शान्ति श्रीषले आकर्षक पदमार्ग निर्माण गरिदिएको थापाको भनाइ रहेको छ ।

बागलुङ जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल घुम्टेको काखमा रहेको टेउवामा खुला सङ्ग्रहालयका लागि विभिन्न संरचना निर्माण भएपछि अहिले स्थानीय तथा बाह्य पर्यटकको सङ्ख्यासमेत वृद्धि हुन थालेको छ ।

यही फागुन ५ गतेदेखि २१ गतेसम्म टेउवामा १० विदेशी र पाँच नेपाली गरी १५ मूर्तिकारले प्रकृति, भावना, संस्कार र संस्कृति समेटिएका १५ मूर्ति निर्माणसमेत गरिसकेका छन् । निर्माण भएका मूर्ति खुला सङ्ग्रहालयमा स्थापना गरिसकेपछि पर्यटकको आगमनमा वृद्धि हुने खुला सङ्ग्रहालय निर्माण गरिरहेको गलकोट कला प्रतिष्ठानले जनाएको छ ।

यस स्थानमा पुग्नका लागि सहजरुपमा सडक, पैदलमार्र्ग, होटल तथा रेष्टुरेन्टको सुविधा भएमा पर्यटकलाई आकर्षित गर्न सकिने सरोकारवाला बताउँछन् । स्थानीयले निःशुल्करुपमा प्रदान गरेको २३ रोपनी क्षेत्रफलमा फैलिएको निर्माणाधीन खुला संग्रहालयमा अहिले पूर्वाधार निर्माण भइरहेका छन् । यस क्षेत्रमा शौचालय, स्नान घर, पदमार्ग, खानेपानी र तारबारलगायतका संरचना निर्माण भएका छन् । आगामी असारसम्म मूर्तिकला कार्याशालाबाट निर्माण गरिएका मूर्तिलाई खुला सङ्ग्रहालयमा स्थापना गरिने प्रतिष्ठानले जनाएको छ ।

विसं २०७३ मा स्थापना भएको प्रतिष्ठानले हालसम्म संघ, प्रदेश तथा गलकोट नगरपालिकाको सहयोगमा एक करोड ५० लाख बराबरको संरचना निर्माण गरिसकेको छ । खुला संग्रहालयलाई पूर्ण रुप दिनका लागि १२ करोड खर्च लाग्ने विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मा उल्लेख छ ।

डिपिआरको योजनाअनुसार टेउवामा खुला संग्रहालयसँगै अनुसन्धान केन्द्र, अन्तर्राष्ट्रिय सेमिनार हल, शीतल बाटिकालगायतका संरचना निर्माण हुनेछन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.