www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाको संक्रमण हुनै नदिन प्रभावकारी कदम चाल्न आवश्यक

काठमाडौं

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरसको संक्रमण हुनै नदिने प्रभावकारी कदमका लागि पूर्व तयारी गर्न राष्ट्रिय युवा संघ नेपालले ध्यानाकर्षण पत्र बुझाएको छ ।

आज मन्त्री ढकाललाई भेटी संघका संयोजक रामप्रसाद सापकोटाले सरकारलाई भाइरसको संक्रमण हुन नदिन पूर्वसचेतनाका लागि आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। पत्र बुझ्दै मन्त्री ढकालले सङ्क्रमण फैलिन नदिन सरकारले पर्याप्त तयारी गरेको बताए । उनले कोरोनाको संक्रमण रोक्न पहल गरिएको जानकारी दिए ।

Batas

ध्यानाकर्षण पत्रमा सामाजिक सञ्जाल तथा आमसञ्चार माध्यममा यथार्थ भन्दा अड्कलबाजीका सूचना सम्प्रेषण भइरहेका सन्दर्भमा सरकारले तत्काल सबै सञ्चार माध्यममा आधिकारिक सूचना जारी गर्ने र यसको संक्रमणबाट जोगिने, सङ्क्रमित भइहालेमा आवश्यक उपचार गर्ने तथा अन्यमा फैलन नदिने विधिबारे प्रचारप्रसार गर्न व्यवस्थित कदम चाल्नुपर्ने, भाइरसबाट संक्रमण भइहालेमा मृत्युदर एकदमै कम रहेको र उपचार हुने कुरामा नागरिकलाई विश्वस्त बनाउनुपर्ने, विमानस्थल, भारतीय सीमा नाकामा स्वास्थ्य चेकचाँजको प्रभावकारी व्यवस्था गर्नुका साथै भाइरस सङ्क्रमित मुलुकबाट नेपाल आउने जोकोहीलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थाले मात्रै सङ्क्रमण नफैलने सुनिश्चितता गर्नुपर्ने माग राखिएको छ ।

यस्तै भाइरस सङ्क्रमित बिरामीलाई उपचार गर्ने सामग्रीको प्रर्याप्त व्यवस्था गर्नुपर्ने, राजधानी शहर काठमाडौंँलगायत उपत्यकामा कम्तीमा तीन र देशका मुख्य शहरमा रहने गरी प्रदेशस्तरमा एक÷एकवटा रुघाखोकी, ज्वरो परीक्षण र आइसोलेशन वार्डसहितको अस्थायी कोरोना फोकल अस्पताल, सम्भव भएसम्म आइसोलेशन ल्याब र नमूना सङ्कलन केन्द्र तोक्ने व्यवस्था गर्नुपर्ने माग संघको छ ।

संक्रमणको अवस्था आइहाले नागरिकको स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्नुका साथै निजी अस्पताललाई पनि संक्रमणसम्बन्धी एकीकृत योजनाभित्र राखी परिचालन गर्नुपर्नेसमेत माग राखेका छन् ।

युवा संघले विदेशमा रहेका नेपालीमा सङ्क्रमण भएका समाचार आइरहेका भन्दै उनीहरुको उपचारमा नेपाली दूतावासको परिचालन तथा बाँकी नेपालीका बारेमा सम्बन्धित देशमा रहेका दूतावासमार्फत नेपाली नागरिकलाई संक्रमणबाट जोगिने उपाय, भइहाले उपचारको प्रबन्ध र स्वदेश फर्कन चाहनेलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था गरी देश फर्कने अवस्था सिर्जना गर्नुपर्ने माग राखेको छ ।

नजिकैका छिमेकी दुवै मुलुक कोरोनासँग लडिरहेको यस परिवेशमा स्वास्थ्य क्षेत्रका औजार, औषधि र खाद्यान्न जस्ता सामग्रीको आवश्यक आपूर्ति नहुन सक्ने र औषधि, सेनेटाइजर तथा मास्क, खाद्यान्न र इन्धन जस्ता सामग्रीको कृत्रिम अभाव सिर्जना हुन थालिसकेकाले गृह तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार व्यवस्थापन, खाद्य तथा जनस्वास्थ्य सामग्रीको आपूर्ति र कालोबजारी रोक्ने काममा प्रभावकारी कदम चाल्नुपर्ने समेत युवा संघले माग गरेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.