www.tandavnews.com
Fact ~ In search of truth

कैलाली :नदी तर्दा शुल्क तिर्नुपर्ने बाध्यता

कैलाली ।

कैलाली–कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीको पुलमा ओहोरदोहोर गर्दा शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ । कैलाली र कञ्चनपुरको कृष्णपुर नगरपालिका राजघाट जोड्ने मोहना नदीमा निर्माणाधीन पुल नबन्दा स्थानीयवासीले पुलमा ओहोरदोहोर गर्दा शुल्क तिर्नुपर्ने बाध्यता बनेको हो ।

धनगढी उपमहानगरपालिका–३ चटकपुर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट बस्तीका नागरिकले मोहना नदी वारपार गर्दा वर्षौंदेखि पैसा तिर्दै आएको गुनासो गरेका छन् ।

Batas

दुई जिल्लाको सीमा भएर बग्ने नदीमा बनाएको काठको अस्थायी पुल तरेबापत स्थानीयवासीले वर्षौंदेखि पैसा तिर्दै आएको स्थानीयवासी कमल चौधरीले बताए । कैलालीको चटकपुर र कञ्चनपुरको राजघाट बस्तीबीच भएर बग्ने मोहना नदीमा स्थानीयवासीले ‘लन्डन ब्रिज’ नामको अस्थायी पुल बनाएका छन् ।

पुलमा ओहोरदोहोर गरेबापत प्रतिमोटरसाइकल २०, साइकल १०, प्रतिव्यक्ति १० र अटोरिक्साको ५० शुल्क कायम गरिएको छ । ‘नदीमा पुल नभएको भए स्थानीयवासीलाई ओहोरदोहोरमै समस्या पथ्र्यो’, पुलका चौकीदार सुन्दर चौधरीले भने, ‘त्यसैले पुल तर्दा गाउँलेले सधैँ रकम तिर्नुपर्ने बाध्यता छ ।’

अस्थायी काठेपुलबाट दैनिक रु छ सयदेखि नौ सयसम्म रकम संकलन हुँदै आएको छ । राजघाटका किसानले उत्पादन गरेको तरकारी बिक्री–वितरणका लागि धनगढीलगायत बजारमा जान पुलका कारण सहज भएको छ । पुल तर्नका लागि दैनिक ५० छुट्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ ।

वर्षैपिच्छे नयाँ अस्थायी पुल निर्माण गर्नुपर्ने स्थानीयवासीको भनाइ रहेको छ । यसरी हरेक वर्ष नयाँ अस्थायी पुल बनाउने र बर्सातमा नदीले बगाएर लैजाने गर्दछ ।धनगढी र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको राजघाट जोड्ने मोहनाको नदीमा निर्माणाधीन पुलको दुईपटक म्याद थप्दासमेत निर्माण कम्पनीले काममा बेवास्ता गरेपछि काम सम्पन्न हुन सकेको छैन । पुल निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनी एलाइड एडभेन्चरले निर्धारित समयमा पुलको काम नसकेपछि कम्पनी कारवाहीमा परेको छ ।

मोहना–राजघाट पुल निर्माणका लागि दोस्रोपटक थपिएको समय २०७६ साल असारमा सकिएको थियो । त्यति हुँदासमेत पुल निर्माणको काम ५५ प्रतिशतमात्र सम्पन्न भएको सडक डिभिजन साइट कार्यालयले जनाएको छ । तीन वर्षमा काम सक्ने गरी २०७१ सालमा एलाइड एडभेन्चरले आठ करोडमा पुल निर्माणको ठेक्का पाएको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.