www.tandavnews.com
Fact ~ In search of truth

लमजुङमा कर्मचारी अभाव, सेवाप्रवाहमा समस्या

लमजुङ । 

गण्डकी प्रदेशअन्तर्गतको बेँसीशहर नगरपालिका–७ मा रहेको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा विभिन्न समस्या हुँदै आएको छ ।

संघीयता कार्यान्वयनमा आएसँगै पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ हेर्ने गरी स्थापना गरी सञ्चालनमा आएको सो अस्पतालमा कर्मचारी अभावका कारण दैनिक सेवा प्रवाहमा समस्या भइरहेको हो ।

तत्कालीन (साबिक) जिल्ला पशु सेवा कार्यालयका रुपमा रहेको उक्त कार्यालय संघीयता कार्यान्वयनमा आएसँगै प्रदेश सरकारको मातहतमा रहेको छ । यस अस्पतालमा कर्मचारी अभावका कारण सेवाग्राहीले सहजरुपमा सेवा पाउन सकेका छैनन् ।

त्यस्तै विज्ञ केन्द्रका प्रमुखलगायत कर्मचारीलाई नै काम गर्न कठिन भइरहेको विज्ञ केन्द्रका प्रमुख डा रुपेश श्रेष्ठले बताए । उनका अनुसार १२ जनाको दरबन्दी रहे पनि हाल दुईजना मात्रै कर्मचारी छन् ।

दरबन्दीमा अस्पतालका लागि एक पशु विकास अधिकृत, एक पशु चिकित्सक अधिकृत, एक पशु सेवा स्वास्थ्य प्राविधिक, एक पशु सेवा प्राविधिक, एक नायब पशु स्वास्थ्य प्राविधिक र एक लेखापाल खाली रहेको विज्ञ केन्द्रका प्रमुख डा .श्रेष्ठले बताए ।

विशेषगरी कर्मचारी नहुँदा प्रत्यक्ष र अप्रत्यक्ष दुवैमा सेवाग्राहीलाई समेत समस्या भइरहेको उनको भनाइ छ । सेवाग्राहीको घरदैलोमा जानलाई फिल्ड समस्यादेखि कार्यालयमा काम गर्नसमेत कठिन अवस्थामा गुज्रिरहेको उक्त विज्ञ केन्द्रले जनाएको छ ।

कर्मचारी अभावका कारण सेवाग्राहीले प्रभावकारी सेवा नपाएको गुनासो गरेका छन् । कर्मचारी अभावका कारण समस्या र कर्मचारी आवश्यक भएको भन्दै बेलाबेला सम्बन्धित मन्त्रालय र निकायमा जानकारी गराए पनि सुनुवाइ हुन नसकेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस आर्थिक वर्षको शुरुआतबाटै कर्मचारी अभाव हुँदै आएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.