www.tandavnews.com
Fact ~ In search of truth

कोभिड–१९ःविदेशी ‘सेल्फ क्वारेन्टाइन’ र नेपाली ‘होम क्वारेन्टाइन’मा

काठमाडौं ।

कोरोना भाइरस डिजिज (कोभिड–१९) भित्रिन नदिन विदेशबाट आएका विदेशीले ‘सेल्फ क्वारेन्टाइन’ र नेपालीले ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओले)ले कोभिड–१९ लाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरेपछि सरकारले उच्च सतर्कता अपनाउँदै आफैँ सुरक्षित स्थानमा बस्नुपर्ने निर्णय गरेको हो ।

Batas

बिहीबार मात्रै डब्लुएचओले ‘प्याण्डेमिक’ घोषणा गरेको थियो । यसरी आएका विदेशी र नेपाली १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । शनिबारदेखि उक्त व्यवस्था लागू हुने उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सचिवालयले जनाएको छ ।

सचिवालयका सदस्य सचिव नारायणप्रसाद बिंडारीद्वारा सार्वजनिक समितिको निर्णयअनुसार गैह्रआवासीय नेपालीसहित, कूटनीतिक र ‘अफिसियल भिसा’ प्राप्त गरेका विदेशी तथा पहिलो पटक प्रवेशाज्ञा प्राप्त गर्दा वा बाहिर गएर नेपाल फर्किएका नेपालीमा पनि उक्त व्यवस्था लागू हुनेछ । व्यावसायिक अध्ययन र कामदारको प्रवेशाज्ञा प्राप्त गरेका विदेशीलाई समेत यो व्यवस्था लागू हुने जनाइएको छ ।

सरकारले विदेशमा बस्ने नेपालीलाई उच्च सावधानी अपनाउन भनेको छ । नेपालीलाई अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध गरिएको छ । सरकारले अत्यावश्यक कारणले नेपाल आउनुपर्ने भएमा आइपुग्नुपर्ने मितिको सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र संलग्न गरी सम्बन्धित मुलुक वा नजीकै रहेको नेपाली नियोगबाट प्रवेशाज्ञा लिनुपर्ने व्यवस्था पनि लागू गरेको छ । विदेशीले पनि सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्रसहित प्रवेशाज्ञा आवेदन गर्नुपर्ने छ ।

प्रवेशाज्ञा लिइसकेका विदेशीले नेपालको आगमन विन्दुमा आइपुग्ने मितिभन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र आगमन विन्दुको अध्यागमन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था लागू गर्ने निर्णय पनि सरकारले गरेको छ ।

नेपालको आगमन विन्दुमा विदेशीलाई दिइँदै आएको ‘अनअराइभल भिसा’को व्यवस्था शनिबार राति १२ बजेदेखि लागू हुनेगरी आगामी वैशाख १८ सम्मका लागि स्थगन गरिएको छ ।

कोभिड–१९ रोकथाम समन्वय समितिको बिहीबारको बैठकले ‘सेल्फ क्वारेन्टाइन’ बस्नेदेखि विभिन्न विषय समेटेर १९ निर्णय गरेको छ । समितिको सचिवालयले दिएको जानकारीअनुसार तेस्रो मुलुकका नागरिकलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न दिइँदै आएको सुविधा शनिबार राति १२ बजेदेखि लागू हुनेगरी स्थगन गरेको छ ।

नेपाल भारतबीचको यात्रु आवागमनलाई व्यवस्थित गर्न परराष्ट्र, अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र गृह मन्त्रालयसँगको सहकार्यमा भारतपक्षसँग समन्वय गरी निश्चित विन्दुबाट मात्रै आवागमनको व्यवस्था गरिने जनाइएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृतिसमेत स्थगन गरिएको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई वैशाख १८ भित्र विदेशयात्राको ‘नन अब्जेक्टिक सर्टिफिकेट’ जारी नगर्ने निर्णयसमेत गरिएको छ ।

यस्तै संक्रमणको रोकथाम, नियन्त्रणका लागि अति आवश्यक पर्ने औषधि, औजार उपकरणलगायत सामग्री सार्वजनिक खरीद ऐनको विशेष परिस्थितिको प्रावधानअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खरीद गर्ने निर्णय पनि सरकारले गरेको छ ।

सातै प्रदेशमा आइसीयु र आइसोलेसन कक्ष

सरकारले राजधानी उपत्यकासहित सातै प्रदेशमा आइसियु र आइसोलेसन कक्ष स्थापना गर्ने भएको छ । कोरोना भाइरस रोकथामका लागि उपत्यकामा आवश्यक संख्या र हरेक प्रदेशमा कम्तीमा एकएक आइसियु र आइसोलेसन कक्ष स्थापना गर्ने तयारी थालेको हो । उक्त कामका लागि समितिको अर्को बैठकमा प्रस्ताव पेश हुनेछ । त्यसको स्रोतको व्यवस्थापन भने अर्थ मन्त्रालयले गर्ने छ ।

स्वास्थ्य मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा समायोजन भएका चिकित्सक तथ स्वास्थ्यकर्मीसमेतलाई संक्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यक तयारीमा राख्ने एवं आवश्यकतानुसार स्वास्थ्यकर्मी र स्वयंसेवकको सूची तयार गरी आवश्यक व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वयमा गर्नेछ ।

यस्तै नेपालमा पर्वतारोहण गर्ने गरी सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएको वा जारी गरिने अनुमतिपत्र हाललाई सरकारले स्थगन गरेको छ । सरकारले अन्तर्राष्ट्रिय सभासम्मेलन आगामी जेठ १८ सम्मका लागि स्थगन गरेको छ ।

यस्तै संक्रमण आउन नदिन चलचित्रघर नचलाउन, समारोह तथा सामाजिक कार्य एवं मेला महोत्सव नगर्न र सहभागी नहुन जनसमुदायलाई आह्वानसमेत गरेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.