सुशान्त गाहा मगर,
पोखरा ताण्डव न्यूज।
विवादास्पद सम्पन्न भएको गण्डकी प्रदेश स्तरिय पहिलो संस्करणको ‘मुख्यमन्त्री कप लिग फुटबल’ का विजेता र उपविजेताले अझै घोषित पुरस्कार नपाएको गुनासो गरेका छन् ।
गत माघ ७ गते उद्घाटन समारोहमै आयोजक कमिटीका कोषाध्यक्ष तथा अखिल नेपाल फुटबल सँघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले व्यवस्थापकिय पक्षलाई लिएर हातपात गरेपछि विवादमा तानिएको थियो । फेरी पछिल्लो समय उक्त प्रतियोगिता सकिएको ४८ दिन बितिसक्दा समेत बिजेता र उपबिजेता टिमले नगद पुरस्कार नपाएपछि आयोजक टोली चोखो हुन पाएन ।
अखिल नेपाल फुटबल सँघ (एन्फा) गण्डकी प्रदेश कमिटीको आयोजनामा उक्त प्रतियोगिता पोखरा महानगरपालिका २९ भण्डारढिकमा माघ १४ गते सम्पन्न भयो । सो प्रतियोगितामा स्याङजाबाट होराइजन क्लब, तनहुँबाट भिमाद युथ क्लब, लमजुङबाट त्रिवेणी यूवा क्लब, गोरखाबाट बौद्ध हिमाल क्लब, कास्कीबाट आर्दश क्लब, नवलपुरबाट गैंडाकोट खेलकुद, मनाङबाट डाँफे युवा क्लब, बाग्लुङ फुटबल संघ र म्याग्दी जिल्ला खेलुकद विकास समितिको टिम गरी कुल ९ जिल्लाको टोली प्रतिस्पर्धामा उत्रिए ।
अन्ततः उपाधिका लागि लमजुङको त्रिवेणी यूवा क्लब र कास्कीको आर्दश क्लब भिडे र फाईनल खेलमा २–० गोलले कास्कीलाई पराजित गर्दै लम्जुङ च्याम्पियन बन्यो र ७ लाखको उपाधि रक्षा गर्याे भने उपविजेता बनेको कास्की ३ लाखको हकदार बन्यो । तर दुई महिना भैसक्दा समेत पुरस्कार नपाउदा पहिलो संस्करणको ‘गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप’ आलोचित हुन पुगेको छ ।
पुरस्कार नपाएपछि विजेता र उपविजेता टिम रुष्ट
विजेता क्लबका अध्यक्ष सिजन श्रेष्ठले मेहनत गरेर जितेको स्मरण गर्दै च्याम्पिनशिपको कदर नभएको ताण्डव न्यूजलाई बताए ।
श्रेष्ठले एक दुई दिनको म्याद दिएको बताउदै भने, ‘एकदुई दिनमा हुन्छ भन्नुहुन्छ ।’ उनले एन्फा कास्कीका महासचिव रमेश कार्कीलाई बारम्बार सम्पर्क गरेको बताउदै आश्वासन मात्रै दिने गरेको गुनासो गरे । उनले उक्त नगद पुरस्कार सोही दिनमै पाउनुपर्ने बताउदै भने, ‘पाउनपर्ने त्यै दिनमा हो क्यार खै पाईएन ।’ अध्यक्ष श्रेष्ठले सम्पर्क र फलो निरन्तर गरिरहेको जानकारी दिए ।
उनले प्रतियोगिता संयोजक तथा एन्फा केन्द्रिय समितिका उपाध्यक्ष कृष्ण थापालाई सम्पर्क गर्न प्रयास गरेको बताए । ‘संयोजक ज्यूलाई फोन गर्न खोज्या हो खै बाहिर जानुभाछ भनेर भेट हुन सकेन, उनले भने, ‘त्यसपछि रमेश कार्कीलाई सम्पर्क गरेको हो । चैत १ गते क्याबिनेटमा तोक लाएसी हुन्छ भन्नुभथ्यो ।’
श्रेष्ठले मन्त्रालयबाटै पैसा नआएको भन्दै आलटाल गरिरहेको बताए । ‘खै हामी त केई बुझ्नै सकेछैनौ ।’ उनले कुनै हालतमा पुरस्कार पाउनुपर्ने धारणा राख्दै भने, ‘पाउन त पर्याे नि अब जितेको हो, मुख्यमन्त्री कप जस्तो गरेर खेलाडीहरुलाई दुख दिएर त अर्थै भएननी ।’
उनले आफ्नो क्लबको २ लाख बढि खर्च भएको बताउदै पुरस्कार अहिले सम्म हात नपर्दा जितेको अर्थ नरहेको बताए ।
त्यस्तै उपविजेता बनेको घरेलु टोली (आदर्श क्लब) का अध्यक्ष लक्ष्मण भण्डारीको तर्क पनि उस्तै छ । ‘हामीलाई पनि एकदुई दिन कुर भनेर भन्नु भएको छ क्यारे । अब के गर्ने पैसा त पाछैन नपाको कुरा ।’
उनले प्रतियोगिता संयोजक कृष्ण थापालाई सम्पर्क गरेको बताए । ‘हिजो मात्रै सहाराको गेम सक्कियो भनेका छन्, उनले भने ‘भोलीपर्सी जान्छम अनि गर्छाै भनका छन् मलाई ।’
उनले ३ लाख पाउनपर्ने बताउदै व्यवस्थापनमा लागेका खर्च समेत बक्यौता रहेको जानकारी दिए । ‘हाम्ले एक रुपैयाँ पाछैनौ त्यँहा वरिपरी तिरेकै छैनन्, उनले भने, ‘खाजा खाको फ्लेक्स बनाकोहरु बाँकी छ, अरु त त्यस्तै हो मेन त पुरस्कारै पाईएन ।’
उनले अरु टिमलाई दिईएको वन डे आफ्टर बिफोरका सुविधा जस्तै कास्कीले नपाएको गुनासो गरे । ‘हामी यहीकै भएर होला तर खेलाडीहरुलाई हेर्छु भनेको हो त्यो पनि पाछैनौ ’ भण्डारीले भने ।
उक्त प्रतियोगिताबाट उत्कृष्ट खेलाडी बनेका आदर्श क्लब कास्कीका खेलाडी सुमित श्रेष्ठले दुई विद्याको ५/५ हजार गरी कुल १० हजार प्राप्त गरेको बताए । उनले उत्कृष्ट खेलाडी र उत्कृष्ट मिडफिल्डरबाट पुरस्कृत भएको बताए । ‘सेकेण्ड भएको गेमको पनि पाउनपर्ने हो तर पैसै नआएकोले रोकिएको छ ’ उनले भने ।
प्रदेश सरकारले ४० लाख सहयोग गर्ने भनेपनि २० लाख मात्रै विनियोजन भएको रानीवन आर्केटमा पुष २५ गते आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । त्यस्तै प्रतियोगिता सम्पन्न गर्न एन्फा केन्द्रले समेत ५ लाख सहयोग गरेको थियो ।
यही हप्ता क्लियर हुन्छ : संयोजक थापा
मुख्यमन्त्री कपका प्रतियोगिता संयोजक तथा अखिल नेपाल फुटबल सँघका केन्द्रिय उपाध्यक्ष कृष्ण थापाले यही हप्ता सम्पूर्ण बक्यौता रकम चुत्ता गरिने बताए । उनले पुरस्कार रकमसँगै अन्य खर्चहरुको विवरण क्लियर गर्न नेपाल आएको बताए । ‘मेरो परिवार अष्ट्रेलिया छ, आफ्नै खर्च गरेर नेपाल आएको हो, उनले भने, ‘सबै मिलााएर आयव्यय सार्वजनिक गरेर मात्रै जान्छु ।’
उनले हिजो मात्रै मुख्यमन्त्रीले तोक लागाएको बताउदै केही ३/४ दिनमै क्याबिनेटलले पारित गरेपछि रकम भुक्तानी गरिने बताए । ‘४० लाख पाउने कुरा पहिलेनै निर्णय भएको हो मुख्यमन्त्री ज्यूले तोक लाईसक्नु भो, थापाले भने, ‘भोली अथवा पर्सी क्याबिनेट बस्छ त्यसपछि पास गरिसकेपछि ३÷४ दिन भित्रमै बोलाएर पठाईदिन्छौ ।’
उनले सामाजिक विकास मन्त्रालयबाट विनियोजित रकम तयारी खर्च, यातायात, रेफ्री खर्च तथा आवासमा अर्च भएको बताए । ‘मुख्यमन्त्रीबाट आउरे पैसाबाट ५ लाख बिजेतालाई ३ लाख सेकेण्डलाई होडिङबोर्ड तथा तयारी खर्चहरु गरेर १७ लाख जति दिन छ, उनले भने, ‘क्याबिनेटबाट पास भएपछि पैसा आँउछ । त्यसपछि जिल्लाकालाई बोलाएर दिन्छौ ।’
उनले मुख्यमन्त्री कपको आय–व्यय सार्वजनिक गरेर मात्रै विदेश जाने दोहोर्याए । ‘४५ लाख मध्ये कति खर्च भो कति बच्यो भनेर प्रेस मिट गरेर मात्रै जान्छु ।’ थापाले भने ।
एन्फा उपाध्यक्ष कृष्ण थापाले अखिल नेपाल फुटबल सँघ (एन्फा) गण्डकी प्रदेशको आयोजनामा सम्पन्न सो मुख्यमन्त्री कपको अध्यक्ष धरम बहादुर लामिछानेलाई बेवास्ता गरि स्वयम् प्रतियोगिताको संयोजक बनेपछि थापालाई ‘मै खाँउ मै लाउँ’ का संज्ञा दिईएको थियो ।
गत हप्ता सहारा क्लबको आयोजनामा सम्पन्न १८ औं आहा रारा गोल्डकपका सबै खेलमा म्याच कम्मिस्नर भै भत्ता पचाएको भन्दै थापा आलोचित बनेका थिए ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।