www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाको भयले धौलागिरी अस्पताल बागलुङमा भीड

बागलुङ ।

विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको चौतर्फी जोखिम बढेसँगै धौलागिरि अञ्चल अस्पतालमा कोरोनाको भय लिएर आउनेको संख्या बढ्दो छ । सामान्य रुघाखोकी र ज्वरो आएका बिरामी कोरोनाको आशंकामा हतास बनेर आउने क्रम बढेको अस्पतालले जनाएको छ ।

देश विदेशमा कोरोनाको चर्चा सुनेको र यही बेलामा रुघाखोकी लागेकाले कोरोना आशंकामा परीक्षणका लागि अस्पताल आएको जैमिनी नगरपालिकाका विष्णु थापाले बताए । ‘जताततै कोरोनाकै चर्चा सुनेर मनमा एक किसिमको डर हुन्छ,’थापाले भने, ‘यस बेलामै रुघा लाग्ने, घाँटी दुख्ने गरेकाले अस्पतालमा परीक्षण गर्न आएको हुँ ।’

Batas

दीर्घरोगीलाई छिटो संक्रमण हुने भन्दै अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएको लामो समयदेखि मुटु रोगबाट पीडित भइरहेएकी एैसरा रानाले जानकारी दिए। धौलागिरि अञ्चल अस्पतालमा व्यावहारिक अभ्यासका लागि प्राविधिक विद्यालयबाट आएका श्रृष्टि बराइलीले बच्चाहरुलाई सामान्य रुघखोकी लाग्दा पनि कोरोना लाग्यो भन्दै आत्तिँदै आउने गरेको बताए ।

यो मौसम परिवर्तनको समय भएकाले रुघाखोकी र भाइरल ज्वरो धेरैलाई लाग्न सक्छ,” धौलागिरी शिक्षा प्रतिष्ठान एचए तेस्रो वर्षमा अध्ययरनत बराइलीले भने, ‘कोरोना भाइरसको डरले बच्चादेखि पाका मानिसहरु पनि मलाई कोरोना त लागेको छैन भनेर आफैँ सोध्नुहुन्छ । यस्तो संख्या बढ्दो क्रममा छ ।’

बच्चाहरुलाई अहिले धुलो, धुवाँ र मौसम परिवर्तनका कारण रुघाखोकी, भाइरल ज्वरो आउने भएकाले नआत्तिन स्वास्थ्यकर्मी सुझाउँछन् । यस्ता बिरामीलाई सम्झाइबुझाइ गर्ने र रगत जाँचसहित परामर्श गरेर पठाउने गरेको बराइली बताउछन् । कोरोना सन्त्रासका कारण अहिले अस्पतालमा मास्क किन्न आउने मानिसको संख्यासमेत बढेको छ ।

कोरोनाका कारण विश्वभर त्रास सिर्जना भएकाले यहाँ पनि विशेष गरेर बच्चाहरुलाई रुघाखोकी, भाइरल ज्वरो आउँदा पनि कोरोना भयो भन्दै आउने संख्या केही देखिएको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी. पोखरेलले बताए ।

‘चौतर्फी चर्चाले होला, आत्तिँदै कोरोना त लागेन भनेर जाँच गर्न आउनेको सङ्ख्या अलि बढी छ,’ डा .पोखरेलले भने, ‘हामी उनीहरुलाई उपचार मात्र होइन कोरोनाको विषयमा परार्मशसमेत प्रदान गर्दछौँ ।’

पोखरेलका अनुसार सामान्य रुघाखोकी लाग्नासाथ कोरोना आशंकाले अस्पताल आउन थालेको भन्दै अहिले दैनिक ४०० को हाराहारीमा बिरामी अस्पताल आउन थालेका छन् । अहिलेसम्म धौलागिरि अस्पतालमा त्यस्तो उच्च जोखिमका बिरामी फेला नपरेको उनको भनाइ छ ।

कोरोनाको सम्भावित बिरामी संक्रमण भएको अवस्थामा पनि छुट्टै कक्षमा राखेर उपचार गर्ने गरी अस्पतालमा दुई शय्यासहितको आइसोलेसन वार्डको व्यवस्था गरिएको डा .पोखरेलले जानकारी दिए ।

कोरोना फैलिएको देशबाट आएका, सामान्य रुघाखोकी, ज्वरोभन्दा उच्च जोखिम भएका, श्वासप्रश्वासमा समस्या देखिएका मानिसहरु भेटिएमा उनीहरुलाई छुट्टै राखेर जाँच गर्ने, परामर्श, उपचार गर्ने व्यवस्था मिलाइएको पोखरेल बताउछन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.