www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेसमा क्रियाशील सदस्यता वितरण

काठमाडौं ।

नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको कामलाई तीव्र बनाएको छ ।

पार्टी विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्न शुरु गरेको काँग्रेसले जनाएको छ ।

Batas

पार्टीको अन्तरिम संरचना समायोजनको कार्य सम्पन्न गरेका काँग्रेसका ३५ जिल्ला कार्यसमितिले हालसम्म नयाँ सदस्यता र नवीकरणका लागि केन्द्रीय कार्यालयबाट फारम लगिसकेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

जिल्ला कार्यसमितिले विद्यमान सङ्ख्या बराबर नवीकरणका लागि र त्यसको ५० प्रतिशत नयाँका लागि क्रियाशील सदस्यता फाराम लगेको उनले बताए । क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि गत फागुन १६ गतेदेखि फारम वितरण शुरु गरी यही चैतसम्म सम्पन्न गर्नुपर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।

सङ्गठनमा महत्वपूर्ण मानिने काँग्रेसका क्रियाशील सदस्य सङ्ख्या हाल स्वदेश र विदेश (काँग्रेसका जनसम्पर्क समिति) गरी करिब पाँच लाख रहेको पार्टी कार्यालयले जनाएको छ । केन्द्रीय कार्यसमितिको गत माघ २९ गतेको बैठकले विद्यमान क्रियाशील सदस्य संख्याको बढीमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो ।

यसैगरी काँग्रेसमा समायोज भएका नेपाल लोकतान्त्रिक फोरम, अखण्ड नेपाल, नेपाल समता पार्टीलगायत दल र पार्टीको जागरण अभियानका क्रममा देशभर विभिन्न राजनीतिक दलबाट काँग्रेसमा प्रवेश गरेका नेता कार्यकर्तालाई पनि छानबिन गरी आवश्यकताअनुसार क्रियाशील सदस्यता प्रदान गरिने उनले बताए ।

काँग्रेसले मुलुकको नयाँ संघीय संरचनाअनुसार पार्टीको अन्तरिम संरचना समायोजनको काम पनि अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टी कार्यालयका अनुसार हालसम्म ५० जिल्लाले पूर्ण र बाँकी जिल्लाले ९० प्रतिशत समायोजनको काम सम्पन्न गरेका छन् ।

पार्टीको अन्तरिम संरचना समायोजनको कार्य नसकी क्रियाशीय सदस्यता वितरण गर्न नपाइने भएकाले स्थानीयस्तरमा समायोजन सम्पन्न गर्न जिल्ला कार्यसमितिलाई दबाब बढेको छ ।

काँग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा पार्टीका विभिन्न तहका सांगठनिक संरचनाको अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने प्रयोजनका लागि मात्र विधानका केही दफा निलम्बनसमेत गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पार्टी विधानको दफा ४ मा काँग्रेसमा सदस्य र क्रियाशील सदस्य रहने व्यवस्था गरिएको छ । काँग्रेसको सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि मात्र क्रियाशील सदस्यता प्राप्त हुने विधानको व्यवस्था छ । केन्द्रीय समिति बैठकले १४औँ महाधिवेशनका लागि ‘साधारण सदस्यता लिएको एक वर्ष पुगेपछि’ मात्र क्रियाशील सदस्यता प्राप्त हुने प्रावधानलाई निलम्बन गरेको छ ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन, केन्द्रमा पठाउने, छानबिन गरी केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची २०७७ साल साउनसम्म केन्द्रीय निर्वाचन समितिलाई बुझाउनुपर्ने अवधि निर्धारण गरिएको प्रवक्ता शर्माले बताए ।

काँग्रेसले १४औँ महाधिवेशनका लागि गाउँ÷नगर वडा अधिवेशन–२०७७ साल कात्तिक १६ गते, गाउँ÷नगरपालिका अधिवेशन कात्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गते गर्ने निर्णय गरेको थियो ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५ गते, प्रदेश अधिवेशन मंसिर २९ गते र केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले गत फागुन १३ गते नै सबै जिल्ला कार्यसमितिलाई क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी परिपत्रसमेत गरिसकेका छन् । परिपत्रअनुसार क्रियाशील सदस्यता नवीकरण फारम केन्द्रबाट जिल्ला सभापति वा जिल्ला सभापतिले लिखित अख्तियारी दिएको व्यक्तिले मात्र बुझ्नसक्ने व्यवस्था छ ।

काँग्रेसको नियमावलीबमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क २०० लाग्नेछ भने नयाँ क्रियाशील सदस्यता आवेदन शुल्क ३०० लाग्छ । जिल्लामा पठाइएका क्रमसंख्या अनुसारका क्रियाशील सदस्यता फारम (नवीकरण÷नयाँ) जुन जिल्ला र मातहत निकायलाई दिइएको छ, सोही जिल्ला र मातहत निकायमा मात्र प्रयोग गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

परिपत्रमार्फत अन्य राजनीतिक दलको विभिन्न पदीय जिम्मेवारीमा रहेका वा सक्रिय सदस्य रहेका र सो पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका व्यक्तिहरुको विवरण पार्टीमा दिनुपर्ने पदीय जिम्मेवारी र क्रियाशील सदस्यताको सिफारिससमेतको पार्टी केन्द्रीय कार्यालयमा पठाउनका लागि सबै जिल्लालाई अनुरोध गरिएको छ ।

जिल्लाबाट प्राप्त त्यस्तो नामावली केन्द्रबाट स्वीकृत भएपछि क्रियाशील सदस्यता (नवीकरण÷नयाँ) का लागि अतिरिक्त केन्द्रबाट थप फारम उपलव्ध गराइने परिपत्रमा उल्लेख छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.