www.tandavnews.com
Fact ~ In search of truth

समृद्धिका लागि तीनै तहको समन्वय : मुख्यमन्त्री गुरुङ

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्धिको लक्ष्य प्राप्तिका लागि तीनै तहका सरकारको समन्वयात्मक भूमिका हुनुपर्ने बताएका छन् । गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आज पोखरामा आयोजित प्रदेश विकास परिषद्को प्रथम बैठकको उद्घाटन गर्दै उनले संघीयताको सफल कार्यान्वयनका लागि पनि तीनै तहको समन्वय हुनुको विकल्प नभएको बताए ।

प्रदेशको समग्र दिगो विकासलाई लक्षित गर्दै सरकार अघि बढेको बताउँदै मुख्यमन्त्री गुरुङले प्रदेश नीति तथा योजना आयोगका माध्यमबाट अल्पकालीन एवम् दीर्घकालीन योजना तय गरिएको बताए ।

Batas

प्राकृतिक स्रोतसाधनको अधिकतम उपयोग गर्दै प्रदेशको समृद्धि र विकासतर्फ अघि बढ्ने अहिलेको आवश्यकता भएकोमा जोड दिँदै उनले दक्ष जनशक्ति तयार गर्दै उनीहरुका सीप क्षमतालाई यही उपयोग गर्नुपर्ने बताए ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, उज्यालो प्रदेशलगायत विषय प्रदेशको प्राथमिकतामा रहेको बताउँदै उनले यिनीहरुको विकास विना समृद्धि र विकासको लक्ष्य हासिल हुन नसक्ने बताए ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेलले प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको सारांश प्रस्तुत गर्दै यही योजनाका जगमा अघि बढ्ने विश्वास व्यक्त गरे । यकिन तथ्यांकको अभावमा विकासका नीति तथा योजनाले सार्थकता पाउन नसक्नेमा जोड दिँदै उनले यस अवधिमा तथ्यांकको संकलन विश्लेषण जस्ता कुरालाई प्राथमिकताका साथ अघि बढाइएको बताए ।

प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रभित्रका हरेक विषयमा यकिन तथ्यांक तयार गरेर मात्रै विकासका योजना तय गर्नुपर्नेमा उनको जोड छ । राष्ट्रिय योजना आयोगका सदस्य डा .दिलबहादुर गुरुङले नेपाल सरकारको पन्ध्रौँ योजना र गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजना बीचको सम्बन्धबारे प्रकाश पार्दै राज्यले लिएको आर्थिक वृद्धि दरको लक्ष्य प्राप्त हुने गरी अघि बढ्नुपर्ने बताए ।

दुईदिने बैठकमा गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनामा आर्थिक क्षेत्र, सुशासन र लोकतन्त्र, भौतिक पूर्वाधार, सामाजिक क्षेत्र लगायतको प्रस्तुतीकरण एवम् छलफल हुने प्रदेश नीति तथा योजना आयोगका सदस्य डा भीम ढुंगानाले जानकारी दिए ।

गण्डकी प्रदेशअन्तर्गतका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख एवम् विकास सम्बद्ध निकायका प्रतिनिधि सहभागी बैठकमा प्रथम पञ्चवर्षीय योजनाको मस्यौदा स्वीकृतिका लागि पेश गर्दै पारित गरिने जनाइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.