www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा बहत्तर घण्टाभित्र कोरोना विशेष अस्पताल सञ्चालनमा आउदैँ

चितवन ।

भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा भरतपुर कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइने भएको छ । भरतपुर महानगरको अगुवाइमा आज यहाँ सम्पन्न सरोकारवालाको बैठकले ७० श्ययाको अस्पताल तत्काल निर्माण गर्ने निर्णय गरेको हो ।

बैठकले महानगरपालिका प्रमुख रेनु दाहाल संयोजक रहेको १५ सदस्यीय कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण पूर्व तयारीका लागि कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा .अनिलविक्रम कार्की, जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्लाका ठूला अस्पताल, निजी अस्पताल, उद्योग संघ र उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघका प्रतिनिधि सदस्य रहेका छन् । कार्यदलको सदस्य सचिवमा वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी रहेका छन् ।

Batas

कार्यदलको आजै बसेको बैठकले १० श्ययाको सघन उपचार कक्ष, १० श्ययाको हाई डिपेन्डेन्ट युनिट (एचडियू) र ५० श्ययाको सामान्य श्यया ७२ घण्टाभित्र निर्माण गरिसक्ने निर्णय गरेको छ । कार्यदलका सदस्य सचिव अधिकारीका अनुसार अस्पताल सञ्चालनका लागि विभिन्न व्यक्ति र संस्थाहरुलाई कामको जिम्मेवारीसमेत दिइएको छ ।

अस्पतालको बहिरंग सेवा डा .अधिकारी र चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा .अनिलविक्रम कार्कीले समन्वय गरी सञ्चालन गर्ने जिम्मेवारी बैठकले दिएको छ । यसैगरी जनरल वार्ड बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्य, एचडियू सञ्चालन गर्न कलेज अफ मेडिकल साइन्सेस एवं निजी अस्पताल समन्वय समिति र सघन उपचार कक्षको जिम्मेवारी चितवन मेडिकल कलेजलाई दिइएको छ ।

जनशक्ति व्यवस्थापनका लागि भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा .श्रीराम तिवारी र आवश्यक पूर्वाधारको व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य संघ चितवन र उद्योग संघ चितवनलाई बैठकले जिम्मेवारी दिएको छ । बैठकले प्रयोगशाला र रेडियोलोजी विभाग सञ्चालन गर्न निजी अस्पताल समन्वय समितिलाई जिम्मेवारी दिएको छ ।

कार्यदलका प्रवक्तासमेत रहनुभएका अधिकारीका अनुसार जिल्ला र बाहिरका अस्पताल एवं विभिन्न स्वास्थ्य परीक्षण गरिएका क्षेत्रमा भेटिएका शंकास्पद बिरामीलाई यस अस्पतालमा पठाइनेछ । तत्कालका लागि सरकारी र निजी अस्पतालमा रहेका आइसोलेसन कक्ष पनि सञ्चालनमा रहने छन् ।

महानगर प्रमुख दाहालले रोग भित्रिन नदिन उच्च सतर्कता अपनाउने काम भइरहेको भन्दै रोग फैलिहालेमा पूर्व तयारीका लागि काम थालिएको बताए। सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने भन्दै उनले एकजुट भएर काम गरेमा रोग भित्रिन नपाउने र भित्रीहालेमा क्षति बेहोर्नु नपर्ने बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.