www.tandavnews.com
Fact ~ In search of truth

कोभिड–१९ :तनहुँमा प्रतिकार्य टोली गठन

तनहुँ ।

विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्न सतर्कता अपनाउने उद्देश्यका साथ तनहुँ जिल्लाका दुई स्थानीय तहमा द्रुत प्रतिकार्य टोली गठन गरिएको छ ।
कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरोकारवाला सम्मिलित प्रतिकार्य टोली गठन गरिएको हो ।

आँबुखैरेनी गाउँपालिकाका योजना अधिकृत बुद्धिप्रसाद भुषालको संयोजकत्वमा गठित गाउँपालिकास्तरीय टोलीमा वडाध्यक्ष कटकबहादुर थापा र पूर्णबहादुर आले, उद्योग वाणिज्य संघ, नेपाल रेडक्रम सोसाइटी र इलाका प्रहरी कार्यालयका प्रतिनिधि, आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि केसी, टोल विकास संस्थाका पदमराज काफ्ले तथा प्राविधिक चिजकुमार श्रेष्ठ सदस्य रहेका छन् ।

Batas

समितिको सदस्य सचिवमा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक अगमराज उपाध्याय चयन भएका छन् ।उक्त समितिले कोरोना भाइरस लागेका शंकास्पद व्यक्तिको निगरानी र पहिचान गरी शंका लागेमा प्रदेश सरकारले व्यवस्थापन गरेको आइसोलेसन श्ययासहितको स्वास्थ्य संस्थामा उपचारका लागि पठाउन समन्वय गर्ने गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिए ।

गाउँपालिकाले आइतबारमात्र आँबुखैरेनी गाउँपालिका–४ स्थित पुलजीपमा दुई स्वास्थ्यकर्मीसहित सहायता कक्ष सञ्चालनमा ल्याएको थियो । यसैगरी शुक्लागण्डकी नगरपालिकामा स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवको संयोजकत्वमा १३ सदस्यीय नगरस्तरीय टोली गठन गरिएको छ ।

टोलीमा स्वास्थ्य शाखाका चिकित्सक, ल्याब एसिस्टेन्टलगायत सदस्य रहेका छन् । यो टोलीले नगरमा रहेका सरकारी तथा निजी स्वास्थ्य संस्थामा कोरोना संक्रमणको शंकास्पद बिरामी फेला परेमा स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला पठाउन सहयोग गर्ने टोली संयोजक श्रीवास्तवले जानकारी दिए ।

व्यास नगरपालिकामा सहायता कक्ष

तनहुँको व्यास नगरपालिकाले कोरोना भाइरसविरुद्ध सचेतना फैलाउने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरससम्बन्धी चेतनामूलक जानकारी दिने उद्देश्यका साथ नगरपालिकाको हाताभित्र सोमबारदेखि सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

सहायता कक्षबाट नगरपालिकामा आउने सेवाग्राहीलाई कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चेतनामूलक पोष्टर, पम्प्लेट वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए । ‘कोरोना भाइरसका कारण नगरवासीमा त्रास पनि छ, यसबाट आत्तिनुपर्दैन’, उनले भने, ‘यसबाट बच्ने उपायबारे जानकारी प्रदान गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याएका छौँ ।’

कोरोना भाइरस श्वासप्रश्वासबाट फैलने मात्र नभई हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाका माध्यमबाट सर्ने हुँदा यस्ता क्रियाकलापमा सजग रहन नगरवासीलाई अनुरोध गरिएको छ । नगरपालिकाले भाइरसको सङ्क्रमणबाट बच्न ‘नमस्कार गरौँ’ अभियान पनि सञ्चालन गरेको छ ।

हात मिलाउँदा भाइरसको सङ्क्रमण हुने सम्भावना भएकाले हात नमिलाई नमस्कार गर्ने परम्परा शुरुआत गर्न सचेतना जगाउने खालका कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । नगरपालिकाले भीडभाडयुक्त स्थानमा नजान, रुघाखोकी लागेमा माक्सको प्रयोग गर्न, साबुनपानीले हात धुनसमेत नगरवासीमा आग्रह गरेको छ ।

सचेतना जगाउन सार्वजनिक स्थानमा पम्लेट

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सचेतना जगाउन टिम नेपो तनहुँले सार्वजनिक स्थानमा पम्लेट टाँसेको छ । उक्त संस्थाले सर्वसाधारणको बढी चहलपहल हुने विभिन्न ३२ स्थानमा कोरानो भाइरसविरुद्ध सचेतनामूलक सामग्री भएको पम्लेट टाँस गरेको हो ।

कोरोना भाइरसबारे सर्वसाधारणलाई जानकारी दिने र उक्त भाइरसको संक्रमणबाट बच्न आह्वान गर्दै चेतनामूलक सामग्री टाँस गरिएको संस्थाका अध्यक्ष सुजन लौडारीले जानकारी दिए । उनका अनुसार नगरपालिका, विभिन्न विद्यालय, क्याम्पस, चलचित्र हल, उद्यान, पञ्चायन मन्दिर, वडा कार्यालयलगायतका स्थानमा सामग्री टाँसिएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.