www.tandavnews.com
Fact ~ In search of truth

कोरोना उपचार अस्पतालका चिकित्सक कर्मचारीलाई शतप्रतिशत भत्ता

चितवन ।

भरतपुर महानगरपालिकाको अगुवाइमा चितवन प्रदर्शनी केन्द्रमा शुक्रबार बिहानदेखि सञ्चालन गर्न लागिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारीलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिइने भएको छ ।

संघीय सरकारले यसअघिनै कोरोनाको उपचारमा संलग्नलाई ७५ प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरिसकेको छ । सो रकममा महानगरपालिकाले थप २५ प्रतिशत गरी शतप्रतिशत पुर्याउने भएको हो ।

Batas

महानगर प्रमुख रेनु दाहालले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई संघीय सरकारबाट दिइने रकममा थप गरी शतप्रतिशत पुर्याउन लागिएको बताए । उनले भने, ‘संघबाट रकम नआएमा पनि महानगरले ७५ प्रतिशत प्रोत्साहन भत्ता दिन्छ, आएमा शतप्रतिशत पुर्याउँछौँ ।’

अस्पतालमा महानगरका स्वास्थ्यकर्मीका अतिरिक्त जिल्लाका सरकारी र नीजि अस्पताल एवं मेडिकल कलेजमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी परिचालन गरिने उनले जानकारी दिए । अस्पताल सञ्चालन गर्न गठित कार्यदलका प्रवक्ता डा .भोजराज अधिकारीका अनुसार हाल कार्यरत चिकित्सक, कर्मचारीले नपुगेमा बाहिरबाट पनि जनशक्ति भर्ना गरिने छ ।

अध्ययन गर्दै गरेका नर्स र चिकित्सकलाई पनि अस्पताल सञ्चालनका क्रममा नियुक्त गर्नुपर्ने हुनसक्ने भन्दै तयारी थालिएको छ । बहिरङ्ग सेवा र ५० श्ययाको जनरल वार्ड आज साँझसम्ममा तयार गरिँदै छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसबाट श्यया संकलन गरी साँझसम्ममा तयार गरिने अधिकारीले जानकारी दिए ।

यससँगै ती श्ययामा आवश्यक सामाग्री उद्योग वाणिज्य संघको अगुवाइमा व्यवस्थापन गरिँदै छ । बिहीबार दिनभरमा १० श्ययाका सघन उपचार कक्ष र १० श्ययाको हाई डिपेन्डेन्ट यूनिट (एचडियू) तयार गरी शुक्रबारदेखि अस्पताल सञ्चालन गर्ने तयारी गरिएको छ ।

सोका लागि आवश्यक प्रयोगशाला, एक्सरे, औषधि, शौचालय, बारबेर, विद्युत्, खानेपानीलगायतका काम भइरहेका छन् । आज बिहान नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले अस्पताल बनाउन लागिएको क्षेत्र सरसफाइ गरिसकेका छन् ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जुट्न नसकेका खरिद गर्नुपर्ने सामग्री महानगरले खरिद गरेर अस्पताल सञ्चालनमा ल्याउने बताए । महानगर प्रमुख दाहालको संयोजकत्वमा गठित १५ सदस्यीय कार्यदलले मंगलबार बिहान ७२ घण्टाभित्र अस्पताल सञ्चालन गर्ने गरी काम अघि बढाएको थियो ।

जिल्लामा हालसम्म चार शंकास्पद कोरोनाका बिरामी भरतपुर अस्पतालमा भर्ना भएकामा उनीहरु सबैको नतिजा नेगेटिभ आएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.