www.tandavnews.com
Fact ~ In search of truth

एसइईका लागि ८ घण्टा हिउँको यात्रा गर्न बाध्य म्याग्दीका विद्यार्थी

म्याग्दी ।

भोली (बिहीबार)देखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन यहाँको दुर्गम बस्तीका बालबालिकाले आठ घण्टा लामो हिउँको यात्रा गरेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जास्थित जनकल्याण माविका परीक्षार्थीले आफ्नो परीक्षा केन्द्रमा पुग्न हिउँको यात्रा छिचोलेका हुन् ।

हेम मावि सिवाङको परीक्षा केन्द्रमा सहभागी हुनका लागि विद्यालयका २३ विद्यार्थी र शिक्षकसहितको टोली हिउँले ढाकिएको बाटो छिचोलेर आएको विद्यालयका प्रध्यानाध्यापक रुपेश सुवेदीले जानकारी दिए ।

Batas

तीन दिनअघि परेको बेमौसमी हिमपातले गुर्जादेखि लुलाङमाथिको जङ्गलसम्म अझै बाक्लो हिउँ रहेको छ । बाक्लो हिउँले बाटो पुरिएको र हिमपातसँगै जङ्गलमा गएको पहिरोका कारण कष्टकर तवरले यात्रा गरी परीक्षा केन्द्रमा आइपुगेको प्रअ सुवेदीले बताए ।

परीक्षा केन्द्र रहेको सिवाङ आइपुग्न गुर्जाबाट करीब १० घण्टा बढीको पैदल यात्रा गर्नुपर्छ । गुर्जा जिल्लाको सबैभन्दा विकट गाउँका रूपमा चिनिन्छ । म्याग्दीमा यस वर्ष एसइई परीक्षामा दुई हजार १९७ जनाले सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

परीक्षामा एक हजार ११० छात्रा र एक हजार ८७ छात्र सहभागी हुने एकाइका प्रमुख दलबहादुर थापाले जानकारी दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.