www.tandavnews.com
Fact ~ In search of truth

जिम्मेवार बनौँ,आंतकित बनाउने काम नगरौँ :सञ्चारमन्त्री खतिवडा

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि सार्वजनिक सञ्चारमाध्यम र सञ्चार सेवा प्रदायक संस्थालाई थप प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन दिएका छन् ।

सञ्चार मन्त्रालयमा ती निकायका प्रमुखसँगको आजको छलफलमा मन्त्री डा .खतिवडाले कोभिड–१९संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र सरकारका निर्णयसम्बन्धी समाचार व्यवस्थित र प्रभावकारीरुपमा सम्प्रेषित भएमा जनताले सही सूचना पाउने र कुनै त्रासको वातावरण नहुने बताए ।

Batas

विशेष परिस्थितिमा छिनछिनमा निर्णय र ताजा सूचना सम्प्रेषण गर्नुपर्ने भएकाले आफ्ना उपकरण र साधनलाई तन्दुरुस्त राखी जनशक्तिलाई सक्रियताका साथ परिचालन गरी जनतालाई सूचना प्रवाहमा कुनै कमी हुन नदिन उनले निर्देशन दिए। उनले ती निकायको कामसँग सम्बन्धित कुनै निर्णय गर्नुपर्ने भएमा आफूले उच्चस्तरीय समन्वय समितिमा प्रस्ताव लाने अवगत गराए।

सरकारका प्रवक्ता डा. खतिवडाले भने, ‘सामाजिक सञ्जालको दुरुपयोग गरी नभएको समस्यालाई देखाएर वातावरण त्रसित तुल्याउन खोज्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउने काम भइरहेको छ । हाम्रा सार्वजनिक सञ्चारमाध्यम र सबै सञ्चारमाध्यमले समयमा सही सूचना दिएमा अफवाह फैलाउने निरुत्साहित हुनेछन् ।’

उनले शिक्षालय बिदा नभएकाले बालबालिका र विद्यार्थीलाई घरमा बसेर इन्टरनेटबाट पढ्नुपर्ने भएकाले त्यसको सहज प्रबन्धका लागि पनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए । अर्थमन्त्री डा .खतिवडाले विषयविज्ञको छनोट सही ज्ञान र सूचना दिने सामाजिक जिम्मेवारी बोकेकालाई गर्नुपर्छ भन्दै भएको विषयवस्तुलाई बढाइचढाई वा अनावश्यक अनुमान गरेर आतंकित पार्ने काम विज्ञको हुन नहुनेमा जोड दिए ।

छलफलमा सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यमका प्रमुख, सञ्चार सेवा प्रदायक संस्था र सञ्चार क्षेत्रको नियमनकारी निकायका प्रमुखले हाल कोभिड–१९ रोकथाम र नियन्त्रणका सन्दर्भमा सरकारी निर्णय र त्यसको कार्यान्वयनमा आफ्ना संस्थाबाट भइरहेका पहलबारे जानकारी दिएका थिए।रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.