www.tandavnews.com
Fact ~ In search of truth

हवाई कम्पनीले लामा गन्तव्यको भाडा झण्डै दोब्बर घटाए

काठमाडौं ।

आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले हवाई यात्रुको सहजता र राहतका लागि अधिकतम भाडादार घटाएको घोषणा गरेका छन् । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, श्री एयरलाइन्स, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायतले छुट्टाछुट्टै विज्ञप्ति निकालेर नयाँ भाडादर सार्वजनिक गरेका हुन् ।

कोभिड–१९ को सम्भावित जोखिमलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारले लामो दूरीका सार्वजनिक यातायात बन्द भएपछि गन्तव्यमा जाने यात्रुको चापलाई ध्यान दिएर भाडादर केही समयका लागि घटाइएको कम्पनीले उल्लेख गरेका छन् ।

Batas

कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गरी वायुसेवा कम्पनीले मनोमानीरुपमा भाडा घटाउने तथा नयाँ भाडादर कायम गर्न थालेपछि शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वायुसेवा सञ्चालकसँग छलफल गरी भाडादरमा पुनःविचार गरिदिन आग्रह गरेका थिए ।

पर्यटनमन्त्रीको आग्रहबमोजिम वायुसेवा कम्पनीले आज नयाँ भाडादर कायम गरेका हुन् । यात्रुको अवस्थालाई ध्यान दिएर हवाई कम्पनीले लामा गन्तव्यको भाडा झण्डै दोब्बर घटाएका छन् । बुद्ध एयरले अहिले काठमाडौँबाट छोटो समयमा धेरै यात्रु उपत्यका बाहिरका गन्तव्यमा जानुपर्ने भएकाले सार्वजनिक यातायात पनि नचलुञ्जेल अधिकतम भाडा घटाइएको जनाएको छ ।

कम्पनीले आज विज्ञप्ति जारी गर्दै कायम गरेको भाडादरअनुसार काठमाडौँदेखि विराटनगरको पाँच हजार ५०० कायम गरिएको छ । यो गन्तव्यका साविक अधिकतम भाडादर सात हजार ८७८ थियो । भद्रपुरको साविक नौ हजार ८०० रहेकामा अहिले छ हजार २०० निर्धारण गरिएको छ ।

त्यस्तै नेपालगञ्जका लागि छ हजार ३०० कायम भएको छ भने पहिला १० हजार ६२० थियो । धनगढीको १४ हजार १२४ रहेकामा अहिले रु सात हजार ९०० बनाइएको छ । पोखराको पाँच हजार २७२ रहेकामा नयाँ भाडादर तीन हजार ७०० कायम गरिएको छ ।

भैरहवाको पहिला छ हजार ७८१ रहेकामा अहिले चार हजार ९०० कायम गरिएको छ । साविक छ हजार ५४० भाडादर रहेको राजविराजको चार हजार २०० निर्धारण गरिएको बुद्धएयरले जनाएको छ । यो भाडादर लामोदूरीको बस सञ्चालनरुपले सञ्चालन नहुँदासम्म लागू गरिने कम्पनीले उल्लेख गरेको छ ।

कोरोनाको संक्रमणबाट बच्ने उपाय अपनाउँदै बुद्धले काठमाडौँलगायत सबै स्टेशनबाट यात्रुको तापक्रम मापन, १०० भन्दाबढी तापक्रमका यात्रुलाई सुरक्षित साथ अफलोड तथा भाडा फिर्ता गरिँदै आएको जनाएको छ ।

यस्तै प्रतिस्पर्धी श्री एयरलाइन्सले पनि यात्रुको सहजताका लागि सहुलियत दरमा हवाइजहाज यात्राको व्यवस्था मिलाइएको जनाएको छ । लामो गन्तव्यको महङ्गो भाडामा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।

उनले तीन गन्तव्य भरतपुर, जनकपुर र सिमराबाहेकका सबै गन्तव्यमा यस्तो छुटको व्यवस्था गरिएको बताए । श्रीले भद्रपुर सात हजार ४००, विराटनगर छ हजार १००, जनकपुर तीन हजार ३००, सिमरा तीन हजार, पोखरा तीन हजार ७००, भैरहवा चार हजार ९००, नेपालगञ्ज छ हजार २०० र धनगढीमा सात हजार ९०० कायम गरेको छ ।

यस्तै निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्सले पनि हालको हवाई भाडादर हेरफेर गर्ने तयारी गरिएको कम्पनीले उल्लेख गरेको छ । हवाई भाडादर घटाउनेबारे गृहकार्य गरिएको र छिट्टै नयाँ भाडादर सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

आन्तरिक उडानका सौर्य, सीता, सिम्रक, समिटलगायत कम्पनीले पनि यात्रुको सहुलियतका लागि आफ्नो भाडादरमा केही हेरफेर गर्ने तयारी गरेका छन् ।आजदेखि अन्तर्राष्ट्रिय उडान बन्द हुने र सोमबारदेखि लामो दूरीका सार्वजनिक यातायात पनि बन्द हुने भएपछि हवाई यात्रुको चाप बढेको छ ।

आन्तरिक उडानमा यात्रु बढे पनि व्यवसाय भने सन्तोषजनक नरहेको कम्पनीले जनाएका छन् । विदेशी हवाई यात्रु (डलरयात्री) नभएकाले आन्तरिक उडानमा झण्डै ४० प्रतिशत गिरावट आएको व्यवसायीको भनाइ छ । यता हेलिकप्टर कम्पनीको पनि व्यवसाय चौपट भएको छ । अधिकांश कम्पनीको उडान बन्द हुने स्थितिमा रहेको जनाएका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.