www.tandavnews.com
Fact ~ In search of truth

स्थानीय तहमा ज्वरोमापन यन्त्रसमेत छैन !

तारानाथ आचार्य
बलेवा, रासस ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बागलुङका स्थानीय तह व्यवस्थापनमा जुटेका छन् ।

कतिपय स्थानीय तहले पूर्वाधार निर्माण थालेका छन् भने कतिपयले सामान्य ज्वरो जाँच गर्ने यन्त्रको समेत व्यवस्थापन गर्न सकेका छैनन् । नेपाली सेना र प्रहरीले तयार पारेका पूर्वाधारको भरोसामा बागलुङ नगरपालिका धवलागिरि अञ्चल अस्पताल सञ्चालनमा छन् । स्वास्थ्यकर्मीका लागि आवश्यक पिपीइको व्यवस्थापनमा सक्रियता बढाइएको छ भने प्राथमिक स्वास्थ्य चौकी र केन्द्रलाई तयारी अवस्थामा राखिएको नगर कार्यपालिकाले जनाएको छ ।

Batas

कोरोना सङ्क्रमणको जोखिम बढ्दै गइरहेका बेला जैमिनी नगरपालिकाले कुनै पनि तयारी गरेको छैन । सङ्क्रमित देखापरेमा राख्नुपर्ने क्वारेन्टाइन, बिरामी पुष्टि भएमा चिकित्सकको निगरानीमा राख्नुपर्ने आइसोलेसनलगायतका कुनै पनि पूर्वाधारको तयारी नरहेको नगर कार्यपालिकाले जनाएको छ । जैमिनी नगरका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले भने , “शान्ति माविलाई क्वारेटाइन बनाउने भन्ने छ । आवश्यक परे नजिकका विद्यालय प्रयोग हुन्छन् ।” जानकारीको अभावले तयारी गर्न नसकिएको उनले बताए । सम्बन्धित बिषयका विज्ञ नगरमा नरहेको र हल्लाका भरमा तयार भएका पूर्वाधारले काम नदिने उनको तर्क छ । “हामीसँग ज्वरो नाप्ने सेन्सर थर्ममिटरसमेत छैन, खरिदका लागि खोजेको धेरै भयो तर बजारमै पाइँदैन”, उनले भने , “जो कोहीले उपलब्ध गराए भुक्तानी गर्न तयार छौँ ।”

लकडाउनको समयमा बाहिर ननिस्कन, कोरोनाका कारण हुनसक्ने क्षति, लक्षण र सावधानीका उपायको विषयमा भने प्रचारप्रसार गरेर चेतना फैलाउने काममा लागिएको उनले बताए । जैमिनीमा अत्यावश्यक औषधिको भने अभाव नरहेको र मास्क तथा सुरक्षा सामग्रीको प्रबन्ध भइरहेको उनको दाबी छ ।

बरेङ गाउँपालिकाले आवश्यक औषधिको तयारी थालेको छ । विपद् व्यवस्थापनका लागि भन्दै रु १० लाख बजेटको व्यवस्था गरेको गाउँपालिकाले सोही रकमले औषधि, मास्क, स्यानिटाइजर तथा सुरक्षा सामग्रीको प्रबन्ध गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए। गाउँपालिकाले बाटाकाचौरमा रहेको जनता प्राविमा २५ जना अट्न सक्ने क्वारेन्टाइन बनाएको छ ।

कृषि कर्मबाट नै बरेङका सर्वसाधारणको दैनिकी चल्ने भएकाले पाँच जनाभन्दा धेरै जम्मा भएर खेतबारीको कामसमेत नगर्न आग्रह गरिएको थापाले बताए । “गाउँमा मल (गाईभैँसीको गोबर) बोक्ने बेला भएको छ”, थापाले भने , “हुद्धा (समूहमा गरिने काम) लगाउँदा समेत पाँच जनाभन्दा धेरै नहुन भनेका छौँ । शहरबजारमा फैलिएको कोरोना त्रासका कारण गाउँ फर्किएका युवालाई लकडाउनमा सम्हाल्न बरेङलाई धौधौ भएको छ । “२०/२५ जना जम्मा भएर पिकनिक खान खसी डो¥याएर हिँडेको देखेपछि रोक्यौँ”, उनले भने , “सुरक्षाकर्मी नै परिचालन गरेर वनभोज खाने, धेरै जम्मा भएर तास खेल्नेजस्ता क्रियाकलाप बन्द गर्न लगाएका छौँ ।”

यस्तै बडिगाड गाउँपालिकाले जिल्ला समन्वय समितिको भवनमा क्वारेन्टाइन निर्माणको तयारी थालेको छ भने ताराखोलाले हिल स्वास्थ्य चौकीलाई क्वारेन्टाइन बनाएको छ । ताराखोलाका पाँच वडाका स्वास्थ्य संस्थामा कम्तीमा चार श्ययाको आइसोलेसन बनाउने तयारी पनि गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । निसीखोलाले गाउँकार्यपालिका नजिकै रहेको एक विद्यालयमा क्वारेन्टाइन बनाउने तयारी थालेको प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले बताए। तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाले पनि आवश्यक तयारीका लागि छलफल चलाइरहेको जनाएका छन् ।

लकडाउनपूर्व नाकामा हेल्थ डेक्स र १० जनाभन्दा धेरै जम्मा नहुन आग्रह गर्दै आएको गल्कोट नगरपालिकाले आइसोलेसन र क्वारेन्टाइनको तयारी गरिरहेको जनाएको छ । काठेखोला गाउँपालिकाले आठ वटै वडालाई आइसोलेसनसहित क्वारेन्टाइन व्यवस्थापन गर्न भनेको छ । वडा नं ४ तङ्ग्राम र ८ लेखानीले स्थानीय विद्यालयमा क्वारेन्टाइन बनाएको जनाएका छन् भने बाँकी वडाले खाली रहेका र बस्तीदेखि टाढा रहेका विद्यालयलाई प्रयोगमा ल्याउने जनाएका छन् । “ज्वरो नाप्ने मेसिन त छैन के क्वारेन्टाइन बनाउनु खै” वडा नं ७ का अध्यक्ष प्रेमबहादुर जिसीले भने  “वडाले सक्नेजति सबै तयारी भइरहेकै छन् ।” गाउँपालिकाले कार्यपालिका नजिकै रहेको भीमसेन माविमा क्वारेन्टाइन निर्माण गर्न सकिने जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.