www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा छैन आवश्यक ‘पिपिई’

पोखरा ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमणसँग जोगिनका लागि देशैभर आवश्यक तयारी भइरहेको अवस्थामा गण्डकी प्रदेशमा स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण (पिपिई) २०० को सङ्ख्यामा मात्र छ ।

शङ्कास्पद वा सङ्क्रमित बिरामीलाई सेवा दिँदा एवं हेरचाह गर्दा व्यक्तिगत सुरक्षाका लागि स्वास्थ्यकर्मीले प्रयोग गर्ने विशेष प्रकारको पोशाक हो । प्रदेशमा हाल उपलब्ध पिपिईले तत्कालीन नमूना सङ्कलनको कार्य नरोकिए पनि सङ्क्रमित व्यक्ति आएका अवस्थामा उपचारका लागि भने त्यसबाट सम्भव नरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

Batas

“हालसम्म कोरोना भाइरसका सङ्क्रमित आएको अवस्था छैन”, उनले भने, “सङ्क्रमित आएका अवस्थामा भने दैनिक ४०÷५० वटासम्म पिपिई आवश्यक हुन्छ ।” पिपिईलगायत आवश्यक उपकरणको माग गरिएको जानकारी दिँदै उनले चाँडै नै त्यसको आपूर्ति हुने विश्वास व्यक्त गरे । प्रदेशमा कोरोना सङ्क्रमण भित्रन नदिन आवश्यक सम्पूर्ण तयारी भइरहेको उनले बताए ।

स्वास्थ्यकर्मीको सुरक्षाका लागि पिपिईलगायत अत्यावश्यक मास्क, सेनिटाइजरजस्ता वस्तुको सहज उपलब्धता हुनुपर्ने स्वास्थ्यकर्मी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष नारायण बरालले बताए । “प्रदेशमा स्वास्थ्यकर्मीका लागि अत्यावश्यकीय सामग्री उपलब्ध गराउने प्रयास भइरहे पनि अझै पर्याप्त हुन सकेको छैन”, उनले भने, “राष्ट्रव्यापी सङ्कटको यस घडीमा सरकारी स्वास्थ्य संस्थाले मात्र नभई निजी स्वास्थ्य संस्थाले पनि आवश्यकतानुसार स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ ।”

कोरोनाको आशङ्का गरिएका मात्र नभई दीर्घरोगीलाई क्वारेन्टाइनमा राख्दा समस्या आउन थालेको बताउँदै उनले क्वारेन्टाइनमा कसलाई राख्ने वा कसलाई नराख्ने भन्ने सम्बन्धमा ध्यान दिनु आवश्यक भएको उल्लेख गरे । दीर्घ स्वास्थ्य समस्या भएकालाई सम्बन्धित अस्पतालमा नै पु¥याउनु आवश्यक हुने बताउँदै उनले क्वारेन्टाइनमा राख्दा उनीहरूको ज्यानको जोखिम हुनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

प्रदेशमा तत्काल कोरोना विशेष उपचार अस्पताल सञ्चालनमा ल्याउनु अपरिहार्य भएको बताउँदै बरालले अन्य स्वास्थ्य सेवा दिइरहेका अस्पतालमा कोरोनाको उपचार सम्भव नहुने बताए । स्वास्थ्य संस्थामा नै सुरक्षा उपकरणको अभाव भइरहेका अवस्थामा यतिखेर सुरक्षाकर्मीका लागि पनि आवश्यकअनुसार मास्क, सेनिटाइजरजस्ता वस्तु उपलब्ध हुन सकेका छैनन् ।

सुरक्षाकर्मीलाई आवश्यक हुने पिपिई, मास्क, सेनिटाइजर जस्ता वस्तु १० दिनअगावै प्रदेश स्वास्थ्य निर्देशनालयमा माग गरिए पनि हालसम्म उपलब्ध हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रउ दानबहादुर कार्कीले बताए । “लकडाउनको अनुगमनलगायतका हरेक क्षणमा सङ्क्रमितको पहिचान नहुँदासम्म पहिलो सम्पर्कमा आउने व्यक्ति सुरक्षाकर्मी नै हो”, उनले भने, “सम्भाव्य सङ्क्रमणको जोखिमीबाट सुरक्षाकर्मीलाई जोगाउन अत्यावश्यकीय स्वास्थ्य सुरक्षा उपकरण उपलब्ध हुनु आवश्यक छ ।”

कोरोना सङ्क्रमण रोकथामकै सन्दर्भमा कास्कीमा ८८६ प्रहरी परिचालन भइरहेको जानकारी दिँदै उनले सङ्क्रमणबाट जोगिनेभन्दा कपडाका मास्क उपलब्ध गराइएको बताए । अहोरात्र खटिनुपर्ने सुरक्षाकर्मीलाई पानी, खाजालगायतका आधारभूत कुरा पनि उपलब्ध गराउन नसकिएको बताउँदै कार्कीले स्वास्थ्य सुरक्षा उपकरण एवं अत्यावश्यकीय वस्तुको व्यवस्था हुनुपर्नेमा जोड दिए । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.