www.tandavnews.com
Fact ~ In search of truth

कोरोना अपडेट : देश तथा विदेशमा ३२ नेपाली कोरोना संक्रमित, तीनको मृत्यु

काठमाडौं ।

काेराेना भाइरस (कोभिड- १९)बाट हालसम्म देश तथा विदेशमा गरी ३२ जना नेपाली संक्रमित भएका छन्। संक्रमितमध्ये ३ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ। युएईमा २ र नेपालमा उपचार गराएका १ जना निको भएका हुन्।

वैदेशिक रोजगारी, अध्ययन वा विभिन्न सिलसिलामा विदेश पुगेका र स्वदेश फर्किएको अवस्थाका २९ नेपाली कोरोनाबाट संक्रमित भएका हुन्। अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका ८ जना नेपाली कोरोना संक्रमित भएको पुष्टि भएको छ। पहिलो चरणमा एक जना र पछिल्लो पटक ७ जना गरेर अस्ट्रेलियामा ८ नेपालीमा कोरोना भाइरस पुष्टि भएको हो।

Batas

रोजगारीका लागि युएई पुगेका ४ नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। दुई जना उपचारपछि निको भएका छन् भने दुई जनाको अवस्था स्थिर रहेको युएईका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकालले बताए।

त्यस्तै कतारमा २ नेपाली कोरोनाबाट संक्रमित भएका छन्। उनीहरु कतारस्थित अस्पतालमा उपचाररत छन्।

पोर्चुगलमा ६ जना नेपालीमा कोरोना संक्रमण भएको त्यहाँका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका थिए। हाल उनीहरुको अवस्थाबारेमा थप जानकारी आएको छैन।

बहराइनमा ३ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ।

त्यस्तै बेलायतमा कोरोनाबाट ३ नेपाली संक्रमित रहेको जानकारी आएकोमा दुइको मृत्यु भएको छ भने एक नेपाली उपचारत छिन्। उनको अवस्था सुधारोन्मुख छ।

विश्वका विभिन्न मुलुक पुगेर नेपाल फर्किएका ५ जना नेपालीमा कोरोना संक्रमण भेटिएको छ। पहिलो संक्रमित चीनबाट फर्किएका थिए। उपचारपछि निको भएर उनी घर फर्किसकेका छन्।

दोस्रो संक्रमित फ्रान्सबाट कतार हुँदै आएकी युवतीको अवस्था सुधारोन्मुख रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाइएको छ। नेपालमा भेटिएको कोरोना संक्रमित तेस्रो व्यक्ति पनि रोजगारीको सिलसिलामा युएईबाट फर्किएका युवा रहेका छन्। धादिङ घर भएका उनी उपचाररत छन्। चौथो संक्रमित व्यक्ति उपत्यका बाहिर धनगढीमा भेटिएका छन्। रोजगारीका सिलसिलामा युएई रहेका उनी केही दिन अगाडी मात्रै फर्किएका थिए।

शनिबार थप एकमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ। संक्रमित पाँचौ व्यक्ति बेल्जियमबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवती रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

कोरोना भाइरस संक्रमणका कारण बेलायतमा दुई र अमेरिकामा एक गरी तीन नेपालीको मृत्यू भएको छ।

बेलायतमा मृत्यू हुनेमा बेलायती सेनाका पूर्व कर्मचारीसमेत रहेका संखुवासभा जिल्लाका ६६ वर्षीय लीलबहादुर राई छन्। त्यस्तै मृत्यू हुनेमा अर्का चितवन घर भई बेलायतको साउथ इस्ट लण्डनमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्याल छन्।

त्यस्तै अमेरिकामा पनि एक नेपालीको कोरोनाका कारण मृत्यू भएको छ। पाँचथर रानीगाउँ घर भई १५ वर्षदेखि अमेरिका बस्दै आएका ५० वर्षीय पुरुषको एल्महस्ट अस्पतालमा मृत्यू भएको नेपाल अमेरिका जनसम्पर्क समितिले जानकारी दिएको हो।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.