www.tandavnews.com
Fact ~ In search of truth

कोभिड – १९ : ‘खानेपानी नै छैन, के ले हात धुने ?’

पूर्णप्रसाद मिश्र
काठमाडौँ, रासस ।

कोरोना भाइरस(कोभिड —१९ ) को सम्भावित जोखिम हुनबाट जोगिन साबुन पानीले दिनमा चार पाँच पटक हात धुनुपर्छ भन्ने सन्देश सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट प्रवाह गरिरेहेको छन् । तर गोकर्णेश्वर तथा कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीयवासी खानेपानीकै समस्यामा परेका छन् ।

पटक पटक हात धुन पानी कसरी जुटाउने अहिले यस क्षेत्रका स्थानीवासीको चिन्ताको विषय बनेको छ । ती दुई नगरपालिकाले चोक चोकमा हातधुने व्यवस्था मिलाइका छन् । हाल राजधानीमा सबैभन्दा बढी खानेपानी आपूर्ति गर्ने वाग्मतीको मुहान पनि यही भेगमा पर्छ । सोलुखुम्बुबाट गोकर्णेश्वर नगरपालिका–२ मा घर बनाइ बसेका ग्याल्जेन शेर्पा धारामा खानेपानी पाइन्छ भन्ने सुनेकै कारण आफू यहाँ बस्न आएको तर पानी पाउन नसकिएको गुनासो गर्छन् ।

Batas

वाग्मतीको मुहान वाग्द्वारसमेत रहेको नगरपालिकाका अधिकांश वडामा खानेपानी लिन बिहानै पुराना धारा खोज्दै हिँड्नुपर्छ । बिहान पाँच बजे नै पुग्दा पनि पुराना धारामा लाम लागिसकेको हुन्छ । खानेपानी थाप्न कम्तीमा एकघण्टा लाममा बस्नुपर्ने बाध्यता रहेको उनले सुनाए । पानी थाप्ने भीडका कारण कोरोनाको जोखिम बढ्ला भन्ने चिन्ताले पानी थाप्न जानेलाई सताउने गरेको छ ।

पानी भरेर घरमा राख्दा लामखुट्टेका कारण डेङ्गुको खतरा बढ्न सक्ने भएकोले सताउने गरेको उपभोक्ता राधिका भण्डारीले बताइन् । गर्मी बढेसँगै डेङ्गुका बिरामी बढ्ने जनाइएको छ । गोकर्णेश्वर नगरापालिकाका प्रमुख सन्तोष चालिसे मुहान क्षेत्रमा खानेपानी उपलब्ध गराएर मात्र तल्लो भेगमा लैजान काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पटकपटक आग्रह गरेको बताउछन् ।

“दिनमा पाँचदेखि सात वटासम्म गुनासा त धारामा पानी आएन भन्ने नगरवासीका आउने गरेको छ, मैले दुईपटक लिमिटेडको महाङ्कालचौर शाखाका प्रमुखलाई पानी दिनु भनी फोन गरेर भनिसके अझै मुहान क्षेत्रमै पानीको वितरण सहज हुन सकेको छैन”, उनले भने ।

लकडाउन हुनुअघि धेरै उपभोक्ताले जारको पानी किनेर खान्थे । लकडाउनसँगै केही पसलमात्र बिहान बेलुका खुल्ने र त्यहाँ खानेपानी नहुने भएकाले पुराना ढुङ्गेधारा खोज्दै हिँड्नुको विकल्प नभएको कागेश्वरी मनोहरा नगरपालिका–३ की गृहिणी उषा खत्रीको दुःखेसो छ ।

काकाकुल राजधानीवासीले व्यग्र प्रतीक्षा गरेको राष्ट्रिय गौरवको आयोजना मेलम्चीको पानी समेत सुन्दरीजलमै खस्ने गरी पूर्वाधार निर्माण भइरहेको छ । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड ८० लाख लिटर पानी सुन्दरीजलमा खस्नेछ । यसका लागि दुई वटा प्रशोधन केन्द्र निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

मेलम्चीको पानी उपत्यकाका अधिकांश स्थानमा वितरणका लागि पाइप बिच्छ्याउने काम भइरहेको छ । तर गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका अधिकांश भागमा खानेपानीको पानी वितरणका लागि पाइप बिच्छ्याउने पहल भएको छैन । गोकर्णेश्वरका नगरप्रमुख चालिसे नगर क्षेत्रबाट जाने पानी यहीँका जनताका धारामा पानीको व्यवस्था नभई तलतिर वितरण गरिए मूल पाइपबाट वाग्मतीमा पानी बगाउन बाध्य हुनुपर्ने बताउछन् ।

सो माग लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयलाई पटकपटक दिइएको उनले सुनाए । स्थानीय सरकारको मागलाई गम्भीर रुपमा नलिएपछि समस्या आउने भएकाले बेलैमा ध्यान दिन नगरवासीको अनुरोध छ । कागेश्वरीका नगरप्रमुख कृष्णहरि थापा पनि माथिल्लो भागमा पानी वितरणको व्यवस्था गर्न निर्देशनालयलगायत सरोकार भएका निकायलाई पटकपटक अनुरोध गरिएको बताउछन् ।

दुवै नगरपालिकाको आग्रहलाई निर्देशनालयलगायत सरोकार भएका निकायका अधिकारीले सुनेका छैनन् । लिमिटेडका निमित्त महाप्रबन्धक मिलनकुमार शाक्य सुक्खा मौसम भएकाले मुहान क्षेत्रमै पानी दिन नसकिएको स्वीकार्छन् । हाल उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । तर लिमिटेडले भने दैनिक आठ करोड लिटर मात्र आपूर्ति गर्न सकेको छ । वर्षाद्मा भने लिमिटेडले दैनिक १५ करोड लिटरसम्म पानी वितरण गर्ने गरेको छ ।

“मुहान क्षेत्रमा पानी पर्याप्त मात्रामा दिनुपर्छ भन्ने हाम्रो मान्यता छ, अहिले नसकेपनि मेलम्चीको पानी त्यहाँ वितरणका लागि सञ्जाल बनाउनुपर्छ भन्ने छलफल म निर्देशनालयमा हुँदा पनि भएको हो, त्यस क्षेत्रमा पानी नदिए पुराना मूल पाइपबाट उपभोक्ताले सिधै पानी लगेजस्तो मेलम्चीका ठूला पाइपमा पनि आउनसक्छ भन्नेमा हामी सचेत छौँ, जनताले पाइप हेर्ने तर खानेपानी नपाउने हुनुहुँदैन”, उनले भने ।

तर बत्तीमुनिको अँध्यारो भनेझैँ मुहान क्षेत्रमा पानी वितरणका लागि कुनै पनि निकाय जिम्मेवार नबनेको यस क्षेत्रका उपभोक्ताको गुनासो छ । हाल उपत्यकामा प्रशोधन हुने पानीमध्ये धेरै भने सुन्दरीजलबाट वाग्मती स्रोतकै पानी आउने गरेको महाप्रबन्धक शाक्यले जानकारी गराए । सुन्दरीजलबाट वर्षाद्मा एकदेखि दुई करोड लिटर पानी उत्पादन हुन्छ । सुक्खा मौसममा भने मुस्किलले २० लाख लिटर पानीमात्र सुन्दरीजलबाट प्रशोधन हुने गरेको छ ।

धारामा पानी नआएका कारण हात धुन पाइएन भनी आफूलाई दिनमा धेरै फोन आउन थालेपछि फोन नउठाइ बस्न बाध्य हुनुपरेको उनको भनाइ छ । ट्याङ्कर शाखालाई भने त्यसको जानकारी दिई पानी पठाउन लगाउने गरेको पनि शाक्यले बताए । पानी नआने उपत्यकाका धेरै ठाउँमा पाँच हजार लिटरसम्मका ट्याङ्की राखिएको छ । सुक्खा मौसममा यी ट्याङ्कीमा पानी ट्याङ्करबाट हाली लिमिटेडले सेवा दिने गरेको छ ।

ट्याङ्करबाट ती ट्याङ्कीमा पानी हाल्दा उपभोक्ताको भीड बढेर कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले हाललाई त्यो सेवा पनि बन्द गरिएको लिमिटेडले जनाएको छ । उपभोक्ताले व्यक्तिगत रुपमा ट्याङ्करको पानी लैजान चाहे भने भ्याएसम्म सेवा दिने गरिएको जनाइएको छ ।

हाल छ दिनको फरकमा धारामा पानी दिने गरेको लिमटेडले धान्न गाह्रो भएपछि नौ दिनमा एकपटक दिने गरी तयारी गर्न लागेको छ । असारसम्म मेलम्चीको पानी आउने सरकारको प्रतिबद्धता बमोजिम निमित्त महाप्रबन्धक शाक्यको संयोजकत्वमा वितरणका लागि तयारी समिति गठन गरिएको छ ।

समितिमा खानेपानी मन्त्रालय, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयका अधिकारी सदस्य छन् । लकडाउनका कारण मेलम्चीको काम पनि बन्द भएकाले पानी आउने समय केही पछि धकेलिन सक्ने जनाइएको छ ।
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.