www.tandavnews.com
Fact ~ In search of truth

लकडाउनमा ‘लक’ हुँदा

लोकदोहोरी गायक पशुपति शर्माले ‘सुति सुति खान्छु भन्दा ढाड दुखेर मार्यो’ भन्ने गीत यसै गाएका रहेनछन् । बल्ल थाहा पाइयो । सामाजिक सञ्जालमा भेटेको यो पोस्ट पढेर एकपटक मुसुक्क हाँसे । हो, जस्तो नि लाग्यो ।

सार्वजानिक बिदा पनि नभनी अफिस, काम भनेर कुदिरहने शरिर अहिले एउटा कोठामा गुम्सिनु परेको छ । खुट्टाहरु हिँड्न खोज्छन, मन बाहिर डुलुडुलु भन्छ । तर, चाइनादेखि जुन संक्रमण फैलिएर नेपाल आइपुगेको छ । यसले थुपुक्कै घरभित्रै बस भन्छ । घरको गेटसम्म पनि नआइजा भन्छ । त्यसैपनि विश्व स्वास्थ संगठनले घर बाहिर नजानु भनेको छ । नेपाल सरकारले चैत ११ देखि लकडाउन घोषणा सुरु ग¥यो । त्यसपछि त पूरै दैनिक घरभित्रै ।

लकडाउन घोषणा गरेपछि गाउँ तिर गएर बस्न मन लाग्यो । सबै रातारात गाउँ फर्कदा रहर जाग्दो रैछ । तर, लकडाउन भनेको ‘गाउँ फर्क होइन्, जहाँ छौ त्यही सुरक्षित बस्ने हो’ भन्ने एउटा अनलाइनमा पढेपछि जहाँ छु त्यही बसिरहेँ । गाउँ गइन् । ‘त्यसो त गाउँ जाने बाटो व्लक गरिएको छ, आवतजावत गर्न दिएका छैनन’ एक गाउँले दाईले भनेपछि यतै नबसी सुखै भएन् । सोंचे, रिक्स गरी गरी किन जानु ?

Batas

दिन त काट्नु नै छ । बाहिर बन्द छ । चैतको टन्टालापुरे घाम भएपनि बैमानी मौसम फ्याट्टै पानी दर्कन्छ । त्यसैले घर बाहिर निस्कनु ठीक छैन् । चैत ११ देखि १८ गतेसम्म पहिलो चरणको लकडाउन भनेपनि कोराना संक्रमित भेटिन थालेपछि सरकारले पुन समय थपेर २६ चैतसम्म पु¥यायो ।

अब भने लकडाउन पनि ‘बोर’ पो हुन थाल्यो । हुन त आफ्नै सुरक्षाको लागि हो । तर, घरमै निस्सासिएर बस्दा ‘बोर’ को त कुरै नगरम । के गरौं, कसो गरौं, कता जाउँ । अनेक, हुँदो रहेछ । पिँजडामा थुनिए जस्तो । बाहिर जाउँ, कोरोना लाग्ला भन्ने डर । बेलाबेलामा नेपालमै कोरोनाका संक्रमित भेटिएका समाचारले मन चिस्सिन्थ्यो । अदृश्य भाइरसले डर पैदा गरेकै थियो ।

मिडियामै आवद्ध भएपनि बाहिर निस्कने आँट भने आएन । समय घरमै बिताउँथे । बिहान ढिलो उठ्यो । खाना खायो । मोबाइल चलायो । अल्छी लाग्छ, फेरी ओछ्यानमा पल्टियो ।

घरमै हुँदा कतिकतिखेर जिवनसंगीनि (सगुन) लाई अल्छी मानीमानी भएपनि काममा सघायो । त्यसैमाथि उनैले व्यंग्य सुनाउँछिन्, ‘पतिहरु अब बुझ्यो होला दिनभर घर भित्रै बस्नुको पीडा । कहिलेकाँही पत्नीहरुले बाहिर घुम्न लानुस किन भनेको रैछ ।’ नबोली बस्नु बाहेक अरु विकल्प भेटिन् ।

प्राय सबै घरमा लक भएर बस्नुको पीडा विभिन्न स्टाटसबाट पोख्ने गर्थे । अर्को कुरा, कसले के खाजा खायो, खाना कस्तो खायो पूरै थाहा हुन्थो । घरमै बसेर किचनमा गरेको प्रगतिनै ठानेर फेसबुकमा पोस्ट गर्नेहरुको उत्तिकै जमात भेटिन्थ्यो । कोही–कोही यही अवधिमा आविष्कार बन्न खोज्थे । जस्तो कि, ‘चप्पलमा ५१ वटा प्वाल रैछ, अब जालीको प्वाल गन्नी हो,– लकडाउन डे २, ३ ।’

लकडाउनको बेला सामाजिक सञ्जाल बिना समय कटाउन सकिनँ । सुत्दा, उठ्दा, खाना खाँदा होस् साथमा मोबाइल नै हुन्थ्यो । विभिन्न ट्रोल देखि स्टाटस पढेर रमाइलो मान्थे । एउटा स्टाटस पढें, ‘आराम गर्दागर्दै थाकेर हत्तु परियो, अब एकछिन सुतेर आराम गर्नुप¥यो, त्यसपछि उठेर आरामले आराम गर्नुपर्ला ।’ यस्ता स्टाटसहरुले अलिअलि भए पनि मुड फ्रेस बनाउथ्यो । यी बाहेक यस अवधिमा पुस्तक पढ्न भन्दा पनि फिल्म हेरेर समय बिताएँ । युटुवमा आएका नेपाली, साउथ इन्डियन फिल्म दिनको २ वटाको दरले हेरेपछि दिन कट्दो रैछ । तर, अझै कति दिनसम्म…?

नेपालमा बन्द, हड्ताल हुँदा बाहिर ननिस्की घरमै बसेको अनुभव भएपनि कोरोना रोगले जनजीवन अस्तव्यस्त बनाएको छ । साँझपख तरकारी किन्न बाहिर निस्के पनि रोग सरिहाल्छ कि भन्ने डर मनमा भइरहने । अदृश्य रोग हावाबाट पो आउँछ कि ! घरबाहिर जाँदा डरको कुरै नगरम ।

अलिअलि टाउको दुख्न थाल्यो भनेपनि, ओहो कोरोना लायो कि भन्ने त्रास हुँदो रहेछ । बाहिर निस्किहालेपनि मास्क, सेनिटाइजर प्रयोग बिना जानै सकिदैन । लकडाउन भएदेखि डर नै डरमा बस्नु पर्ने अवस्था छ । यो आर्टिकल लेखिरहँदा मलाई लकडाउनको दोस्रो चरणको भोक लागि सकेको थियो ।

लकडाउनमा घर बस्दा भने निरन्तर भोक लाग्दो रहेछ । आखिर अरु काम नै पो के छ र । खायो, बस्यो यस्तै यस्तै । घण्टैं पिच्छे खाइरहौं जस्तो लाग्ने । जति खाएपनि घरमै बसौं ठूलो भीडभाडमा नजाऔं । खाना खानु अघि साबुन पानीले मिचीमिची हात धोउँ, स्वस्थ जीवन विताउँ । कोरोनालाई भगाऔं ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.