www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशः सुरक्षा परिचालनका लागि एक करोड ४५ लाख विनियोजन

पोखरा ।

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनको काममा सुरक्षा संयन्त्र परिचालनका लागि एक करोड ४५ लाख बजेट निकासा गर्ने भएको छ ।

प्रदेश सरकारको सोमबारको मन्त्रिपरिषद् बैठकले प्रदेशका सबै सुरक्षा संयन्त्र परिचालन, अनुगमन, मसलन्द र गाडी मर्मतका लागि ११ वटै जिल्ला प्रशासनलाई बजेट निकासाको निर्णय गरेको सो सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए ।

Batas

बैठकले गण्डकीका मनाङ र मुस्ताङलाई पाँच लाखका दरले र अन्य नौ जिल्लाका जिल्ला प्रशासनलाई १५ लाखका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रशासकीय अधिकृत नहुँदा समस्या

विपद्को समयमा प्रमुख प्रशासकीय नहुँदा म्याग्दीको रघुगङ्गा गाउपालिकामा समस्या भएको छ । प्रशासनिक नेतृत्व गर्ने कर्मचारी नहुँदा महामारीको समयमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न समस्या भएको हो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मी चैत पहिलो हप्ता तनहुँको आँबुखैरेनी गाउँपालिकामा सरुवा भएर गएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्को व्यक्तिलाई पठाएको छैन । प्रशासकीय अधिकृत नभएकाले कोरोना रोकथाम, नियन्त्रण र राहत व्यवस्थापनको सबै काम उधारोमा गर्नुपरेको अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

कोरोना रोकथामका लागि विपद् व्यवस्थापन समितिअन्तर्गत तीस लाख विनियोजन भएको छ । निमित्तलाई नीतिगत निर्णय गर्ने र बजेट खर्च गर्ने अधिकार हुँदैन । रेग्मी मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट सरुवा भएर गत असोजमा रघुगङ्गामा आएका थिए ।

पोखरामा २०० मुस्ताङ्गे अलपत्र

चिसो छल्न र व्यापार गर्न हिउँदमा पोखरा, काठमाडौँ र तराई झरेका २०० मुस्ताङेहरु हाल पोखरामा अलपत्र परेका छन् । उपल्लो मुस्ताङका स्थानीवासी छ महिना घरमै बस्छन् । बाँकी छ महिना चिसो छल्न बेँसी झर्छन् ।

अलपत्र परेकामध्ये उपल्लो मुस्ताङ लोमानथाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको स्थानीयवासी रहेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताए । उनीहरु कोही आफ्नै घरमा त कोही आफन्तको घरमा रहेको अर्यालले बताए ।

गाउँमा खेती रोप्ने समय आइसकेको हुनाले पोखरामा अलपत्र रूपमा बस्दा यस वर्षको बाली बाँझो रहने चिन्ता गर्नुहुन्छ थासाङ गाउँपालिका–२ नाउरीकोटका ७२ वर्षकी भीमकुमारी गौचन । उनका अनुसार यो बेला बीउ छर्न बेला हो, बाली लगाउन नपाए वर्षभरि खेत बाँझो रहने बताए। मुस्ताङको धेरै भेगमा वर्षमा एक बाली र केही क्षेत्रमा दुई बाली मात्र हुने गर्छन् ।

नेपालमा कोरोना भाइरसको उच्च जोखिम देखाउँदै सरकारले पटक–पटक लकडाउन बढाउनाले उनीहरु बेलैमा गाउँ फर्काउन नसकेको मुस्ताङका संघीय सांसद् प्रेमप्रसाद तुलाचनले जनाकारी दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.