www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरद्धारा १८ हजार बढि परिवारलाई राहात वितरण सुरु

कुन वडाबाट कति परिवारको नाम स्वीकृत भए ? कुन वडाबासीले कुन सप्लायर्सबाट राहात लिने ?

सुशान्त गाहा मगर
ताण्डव न्यूज, पोखरा ।

‘कोभिड–१९’ कोरोना भाईरस रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण मुलुक ठप्प छ । यसको प्रत्यक्ष प्रभाव उच्च, मध्यम र निम्न वर्गीय परिवार सबैलाई परेको छ । तर एक साताबाट लकडाउन बढाउदै तिन साता पुर्याउदा भने तुलनात्मक रुपमा निम्न वर्गीय परिवारलाई ज्यादै प्रभाव पर्दै गैरहेको छ । हुनेखानेलाई अन्न पानीको जोहो गर्न जति सहज छ त्यति नै सकस हुदाखाने परिवारलाई छ ।

प्राय सुकुम्बासी बस्ती तथा डेरामा बस्दै आएका विपन्न परिवारहरुलाई लक्षित गरी सरकारी तथा निजी संस्थाहरुले राहातको व्यवस्था गर्दै आएका छन् । पछिल्लो समय हाफ र फुल प्याकेज गरी पोखरा महानगरपालिकाले ३३ वडाबाट १८ हजार ६ सय २० परिवारको नाम स्वीकृत गरी राहात वितरण थालिसकेको छ । पोखरा महानगरपालिकाले २ करोड बढि लागतमा राहात वितरण थालेको हो ।

Batas

‘गत हप्ता देखी विपन्न परिवारलाई राहात वितरण सुरु गरेका हौ ।’ पोखराको ३३ सै वडाका १८ हजार बढि विपन्न परिवारलाई बाड्दै छौं ।’ पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले ताण्डव न्यूजसँग भने ।

उनले हरेक वडामा स्थानीय टोल विकास समितिको समन्वयमा धमाधम राहात वितरण भैरहेको बताए । जिसीका अनुसार राहात स्वरुप चामल, नून, तेल, चना तथा दाल प्रदान गरिएको छ । ‘यहाँकै स्थानीय हुनैपर्छ भन्ने होईन, उनले भने, ‘लकडाउन बढेपछि दैनिकी गुजार्न गाह्रो हुने मजदुरी गरेर परिवार धान्ने परिवारलाई यो राहात हो ।’

त्यस्तै महानगरको निर्देशन अनुसार नै राहात वितरणको लागि नाम सिफारिस गरेको वडा २० का अध्यक्ष सिम गुरुङले बताए । ‘हाम्रो वडाबाट २ सय २४ परिवारको स्वीकृत भएको छ, उनले भने, ‘भाडामा बस्ने र सुकुम्बासी बस्तीकालाई भन्दा दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई राहात प्रदान गर्ने हो । हाम्रो राहात आज आईपुग्छ, सकेसम्म आजैबाट बाँड्न सुरु गर्छाै ।’

उनका अनुसार २ सय २४ मध्ये १ सय १७ हाफ प्याकेज र १ सय ७ परिवारको फुल प्याकेजमा नाम स्वीकृत भएको जानकारी दिए । ‘हामीले सिफारिस गरेको परिवारहरु मध्ये ७० प्रतिशत बाटो निर्माण र पुल बनाउन आउने म्याग्दी र धादिङ तिरका मजदुरहरु छन्, उनले भने, ‘उनीहरुको चुल्हो बल्न गाह्रो छ । त्यसैले महानगरको निर्देशन अनुसार नै उनीहरुलाई प्राथमिकतामा राखेका हौं ।’

त्यस्तै वडा १३ मा ६ सय ५० परिवारको नाम स्वीकृत भएको अध्यक्ष दर्शन लामाले बताए । उनले १ सय ५० हाफ प्याकेज र ५ सय फुल प्याकेजमा महानगरबाट सिफारिस भएको बताउदै भने, ‘हामीले अहिले सम्म ९ सय घरपरिवारलाई राहात बाडिसकेका छौ, छोटो समय भएर वास्तविकता विपन्न परिवार भन्दा यहीकै स्थानियको नाम आएको थियो । त्यस्ता नाम फिल्टर गरेर बाडिरहेका छौ ।’

स्थानिय टोल विकास समितिले नाम सिफारिस गरिरहेको बताउदै वास्तविक विपन्न परिवारको नाम आउन नसकेको गुनासो गरे । ‘दोस्रो चरणमा त्यस्तो परिवारलाई वितरण हुन्छ, जो अहिले छुटेका छन् । अहिले राहात मागको सँख्या १५ सय बढि नै छ । खान नपाउने सबैलाई प्रदान गर्ने हाम्रो दायित्व हो र दिनैपर्छ । हामी जसरी नि व्यवस्था गर्छाै ।’ अध्यक्ष लामाले भने ।

उनले महानगरबाट ६ सय ५० परिवारको नाम सिफारिस भएपनि राहात मागको सख्या १ हजार ११ रहेकोले फुल प्याकेजकोलाई हाफ बनाएर वितरण गरेको बताए । उनका अनुसार एक घरपरिवारलाई १० किलो चामल, १ किलो दाल, २ सय ५० ग्राम मस्यौरा, आधा लिटर तेल, १ किलो नून राहात स्वरुप वितरण भैरहेको छ ।

महानगरले ३३ वडाबाट १८ हजार ६ सय २० विपन्न परिवारलाई राहात दिने निधो त गर्याे तर कैंयौं विपन्न परिवार भने अट्न भने सकेन ।
दिनभर मजदुरी गरी चुल्हो बाल्ने परिवारलाई राहात बाड्ने भनिएतापनि महानगरको राहात वितरण नामावलीमा सरिता विश्वकर्माको नामले स्थान पाएन । ‘ल हेर्नुस अहिले हामी ग्यास खोज्न हिडेको हो, हामी सबैले ज्यामी काम गर्छाै । हाम्लाई पुलिसले देख्यो भने थर्काउछ, उनले भनिन्, ‘त्यही भएर भित्री गल्ली गल्ली हिडेको ।’

मुस्ताङ स्थायी घर भई बगर बस्दै आएकी उनले लकडाउनको समय थपिएपछि दैनिकी झन कष्टकर बन्दै गैरहेको बताईन् । ‘कोठामा ग्यास सकियो राशनपानी सकियो । खानलाई काम गर्न पर्याे हजुर आज तिन दिन भो कोठामा चामल सकिएको ।’ उनले भनिन् ।

उनले पहुँच हुनेले मात्र राहात पाउने बताउदै आफुहरुले कुनै टोल विकासको मान्छेलाई नचिनेका कारण फारम भर्न समेत नपाएको गुनासो पोखे ।

‘राहातको लागि नाम टिपाउन जादा हाम्रो त यति जनाको गु्रप हो पुरा भैसक्यो भन्छ, हाम्रो तिर कति अलपत्र छन् । आक्रोश पौख्दै थपिन, ‘कित हामीलाई नि राहात दिनपर्याे होईन भने काम गर्न पाउन पर्याे ।’

कुन वडाबाट कति परिवारको नाम स्वीकृत भए ?


कुन वडाबासीले कुन सप्लायर्सबाट राहात लिने ?


यस्तो छ खाद्यान्न सामाग्रीको सम्झौता रकम

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.