www.tandavnews.com
Fact ~ In search of truth

कोरोना सङ्क्रमितको अवस्था बुझ्न मुख्यमन्त्री गुरुङ बागलुङमा

गलकोट ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले धौलागिरी अञ्चल अस्पताल बागलुङको आज स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् ।

सो अवसरमा उनले कोरोना भाइरस सङ्क्रमितको उपचारको अवस्था, प्रदान गर्ने सेवा सुविधा, व्यवस्थापकीय क्षमता र अस्पतालका समस्याका बारेमा जानकारी लिए । सो अस्पतालमा दुई जना सङ्क्रमितले उपचार गराइरहेको अस्पतालले जनाएको छ ।

Batas

मुख्यमन्त्री गुरुङले कोरोना भाइरसविरुद्ध एकजुट भएर सबै लाग्नुपर्ने आवश्यकता औल्याउँदै कोरोना भाइरसबाट सङ्क्रमितको उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई प्रशासनलाई निर्देशन दिए । “प्रदेश सरकारले आवश्यक स्रोत र साधनको व्यवस्था गरेको छ” उनले भने , “अस्पतालले बिरामीको उपचार र कोरोना रोकथामका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुपर्छ ।”

मुख्यमन्त्री गुरुङले उपचारका क्रममा भएका जटिलता तथा आवश्यक उपकरणका विषयमा प्रदेश सरकार जानकार रहेको उल्लेख गर्दै आवश्यक उपकरण तथा दरबन्दी मिलानका लागि गृहकार्य भइरहेको बताए । प्रदेश सरकारले धौलागिरी अस्पताललाई अत्यन्त महत्व दिएर सहयोग गरिरहेको उल्लेख गर्दै उनले सङ्क्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह पनि गरे ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना, मेडिकल सुपरिटेन्डेण्ट डा. शैलेन्द्र बि. पोख्रेल, फिजिसियन डा. प्रदिप श्रेष्ठले सङ्क्रमित बिरामीका बारेमा जानकारी गराउँदै अस्पतालले भोगिरहेको समस्या र चुनौतीका बारेमा मुख्यमन्त्री गुरुङको ध्यानार्कषण गराए ।

मुख्यमन्त्री गुरुङले चार शय्याको आइसोलेसन कक्ष विस्तार गर्न अस्पताललाई आग्रह गरे । अहिले अस्पतालको आइसोलेसन वार्डमा एक युवती र एक वृद्धा सङ्क्रमितको उपचार भइरहेको छ । हाल दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले कोरोना उपचारका लागि सो अस्पताललाई एक भेन्टिलेटर प्रदान गरिसकेको छ भने सघन उपचार कक्ष निर्माणका लागि वजेट विनियोजन गर्ने जनाएको छ । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.