www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा विदेशबाट आएका चार हजारमा ‘ र्‍यापिड परीक्षण’

कास्की । 

गण्डकी प्रदेशमा चैत महिनामा छिमेकी मुलुक भारत लगायतका देशबाट आएका चार हजार १४६ जनाको कोरोना परीक्षण गरिने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमण फैलावट रोक्न विदेशबाट प्रदेश भित्रिएका सबैको ¥यापिड डाइगोनिष्टक टेष्ट(आरडिटी) गर्न लागिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमित फेला परेका नौ जनामध्ये आठ जना विदेशबाट आएका रहेकाले चैत महिनायता विदेशबाट फर्किएकाको कोभिड–१९ को सङ्क्रमण अवस्था जान्नका लागि सबैको परीक्षण गर्न लागिएको हो । गण्डकीमा हालसम्म दुई जनामा कोरोना देखिएको छ ।

Batas

विदेशबाट आएका बाग्लुङकी १९ वर्षीया युवती र अर्की एक ६५ वर्षीया महिलामा कोरोना सङ्क्रमण देखिएपछि उनीहरुको आइसोलेशनमा राखेर उपचार भइरहेको छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले सङ्घीय सरकारबाट प्रदेश सरकारलाई कोरोना परीक्षणका लागि पाँच हजार थान आरडिटी किट प्राप्त भएको र त्यसबाट विदेशबाट आएका सबैको परीक्षण गर्न लागिएको बताए।

“गण्डकी प्रदेशभित्र रहेका स्वास्थ्य कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार चैत ४ गते यता भारतलगायत विदेशबाट आएका नागरिकको सङ्ख्या चार हजार १४६ रहेको छ । यी सबैको आरडीटी किट्सद्वारा परीक्षण गरिने छ”, निर्देशक शर्माले भने । बाग्लुङबाट परीक्षण शुरुआत भएको र सबै जिल्लामा परीक्षण गरिने बताइन्छ । दु्रत परीक्षणका लागि निर्देशनालयबाट प्रदेशमा दुई टोली बनाएर आजदेखि तोकिएको क्षेत्रमा परिचालन गरिएको बताइन्छ ।

गोर्खा, नवलपुर, तनहुँ र लमजुङमा एक टोली र म्याग्दी, बाग्लुङ, पर्वत, स्याङ्जाका लागि अर्को टोली परिचालन भएको र जिल्लामा प्राविधिकलाई आवश्यक तालीम दिएर प्रत्येक जिल्लामा परीक्षणको काम हुने निर्देशनालयले जनाएको छ । कास्कीमा भने आवश्यक तालीमपछि टोलीले काम शुरु गरेको बताइन्छ ।

दुई मेसिनबाट कोरोना परीक्षण

गण्डकी प्रदेशको राजधानी पोखरामा अहिले दुईवटा मेसिनबाट कोरोना परीक्षण भइरहेको छ । गत चैत १८ गते कोरोना जाँचका लागि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पोर्टेवल पिसिआर मेसिनसँगै चैत २२ देखि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको रियल टाइम (आरटी पिसिआर) मेसिनबाट प्रदेशका विभिन्न जिल्लाबाट सङ्कलित नमूनाको दैनिक परीक्षण गरिएको प्रादेशिक आपतकालीन स्वास्थ्य कार्यसञ्चालन केन्द्रका प्रमुख नवराज शर्माले जानकारी दिनुभयो ।

दुई महिनाअघि ‘भाइरललोड सर्भिस’ का लागि पश्चिमाञ्चल क्षेत्री अस्पतालको प्रयोगशालामा सञ्चालनमा ल्याइएको सो मेसिनमा यसअघि आवश्यक किट नभएको भन्दै कोरोना परीक्षणमा प्रयोग गरिएको थिएन । अत्याधुनिक क्षमताको आरटिपिसिआर मेसिन सञ्चालनमा आएसँगै परीक्षणको सङ्ख्यामा वृद्धि भएको र दुईवटा मेसिन भएकाले प्राप्त नतिजा ‘भेरिफिकेशन’ का लागि काठमाडौँ पठाउने बाध्यता हटेको बताइन्छ ।

गण्डकी प्रदेशका हालसम्म २८३ जनाको नमूना सङ्कलन गरिएकामा २१४ जनाको नतिजा नेगेटिभ आएको छ । दुई जनामा भने कोरोना सङ्क्रमण देखिएकामा ६७ जनाको परीक्षण नतिजा आउन बाँकी रहेको बताइन्छ । त्यसैगरि हेलो डाक्टर १०९२ मा सम्पर्क गरी हालसम्म ५१३ जनाले चिकित्सकीय परामर्श सेवा लिएको बताइन्छ । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.