www.tandavnews.com
Fact ~ In search of truth

अमेरिकाले डब्लुएचओलाई दिँदै आएको आर्थिक सहयोग रोक्यो

बीबीसी ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका छन्।

कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा “न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको” उनको आरोप छ।

Batas

चीनमा कोरोनाभाइरस देखिएपछि सङ्क्रमणसम्बन्धी विषयलाई सही ढङ्गले व्यवस्था गर्न नसकेको र घटनालाई ढाकछोप गरेको पनि राष्ट्रपति ट्रम्पले आरोप लगाए।

डब्ल्यूएचओलाई जवाफदेही बनाउनैपर्ने उनको भनाइ छ। यसअघि ट्रम्पले डब्ल्यूएचओले चीनप्रति आग्रह राखेको आरोप लगाएका थिए। उनले डब्ल्यूएचओ चीनकेन्द्रित भइरहेको आरोप प्रायः लगाउने गरेका छन्।

अमेरिकामा कोरोनाभाइरस महामारीसँग जुझ्न लिएका नीतिलाई लिएर ट्रम्प आफैँले आलोचना खेपिइरहेका छन्।

तर मङ्गलवार उनले कोरोनाभाइरस महामारीलाई लिएर आफ्नो प्रशासनले चालेका कदमहरूको आक्रोशपूर्ण ढङ्गले बचाउ गरेका थिए।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “कोरोनाभाइरसको सङ्क्रमण फैलने विषयलाई एकदमै नराम्रो ढङ्गले व्यपस्थापन गरेको र त्यसलाई ढाकछोप गरेको विषयमा समीक्षा भइरहँदा आर्थिक सहयोग रोक्न म आफ्नो प्रशासनलाई निर्देशन दिँदैछु।”

“आफ्नो न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको छ र उसलाई जवाफदेही बनाउनैपर्छ,” ट्रम्पले थपे।

अमेरिका डब्ल्यूएचओलाई सबैभन्दा धेरै आर्थिक सहयोग गर्छ जसले गत वर्ष ४० करोड डलर उपलब्ध गराएको थिए। यो रकम डब्ल्यूएचओको कुल बजेटको १५ प्रतिशतभित्र पर्छ।

“कोभिड-१९ को महामारी विश्वव्यापी फैलिएपछि हामीले अमेरिकी उदारताको उत्कृष्ट सदुपयोग भए वा नभएकोबारे हाम्रो गहिरो चासो छ,” ट्रम्पले भने।

चीनको वुहान शहरमा पहिलो पटक कोरोनाभाइरस देखिएपछि त्यसबारे पर्याप्त लेखाजोखा गर्न डब्ल्यूएचओ विफल भएको ट्रम्पले आरोप लगाए।

उनले भने, “के अवस्थाको वस्तुगत लेखाजोखा गर्नका निम्ति डब्ल्यूएचओले चीनमा चिकित्सा विज्ञहरूको टोली पठायो र चीन पारदर्शी नभएकोबारे कुरा उठायो?”

“उसको स्रोतसाधनबाट कम मानवीय क्षतिमा कोरोनाभाइरसलाई नियन्त्रण गर्न सकिन्थ्यो,” ट्रम्पले पत्रकारहरूलाई भने।

“त्यसो गरिएको भए विश्वव्यापी आर्थिक क्षतिलाई रोक्न सकिन्थ्यो। तर त्यसो नगरेर डब्ल्यूएचओले चीन सरकारका कदमहरूको प्रतिरक्षा गर्‍यो।”

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.