www.tandavnews.com
Fact ~ In search of truth

चिउराको भरमा पोखराबाट बागलुङ हुँदै रोल्पासम्म

खेमराज गौतम
गलकोट, रासस ।

लकडाउन थपिँदै जान थालेपछि पोखरामा रोकिएर बसेका रोल्पाका सात मजदुर बागलुङ हुँदै गृहजिल्ला हिँडेका छन् । सोमबार बिहान चार बजे पोखराबाट हिँडेका मजदुरको समूह मङ्गलबार दिउँसो जिल्ला सदरमुकाम बागलुङमा भेटिएका थिए ।

रोल्पाको लुङ्ग्री गाउँपालिका–६ मचालका सात मजदुर विगत लामो समयदेखि गण्डकी प्रदेशको राजधानी पोखरा आसपासको सडक निर्माणमा कार्यरत थिए । उनीहरू रोल्पाका दुर्गम गाउँका समुदाय देशभर सडक निर्माणमा मजदुरी गरी घरपरिवार पाल्दै आएका छन् । विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणकाट बच्नका लागि नेपालमा चैत ११ गतेदेखि लकडाउन जारी रहेका कारण सबैभन्दा बढी मर्कामा ज्यालादारीमा काम गर्ने मजदुर पर्दै आएका छन् ।

Batas

दुई दिनमा पोखराबाट बागलुङ आएका मजदुर अबको चार दिनमा रोल्पा पुग्ने लक्ष्य राखेका छन् । उनीहरूलाई बागलुङदेखि रुकुम पुग्नै दुई दिन लाग्नेछ । ज्यालादारीमा कमाएको पैसाले यतिका दिन खान पुगेपनि लकडाउन नखुल्ने भएपछि हिँडेरै घर पुग्न थालेको लुङ्ग्री गाउँपालिका–६ मचालका भविरोका क्षेत्रीले बताए । “कमाइको पैसा पनि खानामै सकियो, राहतका नाममा पाएको पाँच किलो चामल पनि खाइयो”, मजदुर क्षेत्रीले भने , “लकडाउन खुल्ने अवस्था नआएपछि बाँच्नकै लागि भए पनि हिँडेर घरतर्फ लागेका हौँ ।” मजदुर क्षेत्रीसँगै सात जनाको समूहले पाँच किलो चिउराको भरमा पोखराबाट रोल्पाका लागि यात्रा तय गरेको दुखेसो पोखे ।

सडक निर्माण ठप्प भएपछि खाना बस्दा कमाएको पैसा सकिएर रित्तो हात घर फर्किएको मजदुरले बताएका छन् । “अघिपछि घर फर्किँदा गोजीमा दुई/चार पैसा हुन्थ्यो”, क्षेत्रीले भने , “कमाएको पैसा खाएर सकियो, बाँचे फेरि कमाउँला अहिले घर पुग्न पाए हुन्थ्यो ।”

लकडाउन खुल्ला र काम गरौँला भन्दाभन्दै महिना बित्न थालेपछि बाँच्नै गाह्रो भएर घर हिँडेको मजदुरले बताएका छन् । रातको समयमा सडकपेटीमा सुतेर चिउरा र पानी खाँदै घरतर्फ हिँडेको उनीहरूको भनाइ छ । “पेट पाल्नै गाह्रो भयो, घर गएर आटोपिठो खाउँला”, मजदुर क्षेत्रीले भने , “बाँचे फेरि काम गरौँला ।” मजदुरहरूका अनुसार एक ठाउँमा मात्रै स्वास्थ्य परीक्षण गराउन पाएको बताए । मजदुरलाई बागलुङ प्रवेशद्वारमा बागलुङ नगरपालिकाले स्थापना गरेको हेल्थ डेक्समा ज्वरो तथा स्वास्थ्य परीक्षण गराई घरतर्फ पठाइएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.